विषय प्रवेशः
पछिल्लो समय भाइरल शब्दावली लोकप्रिय भइरहेको छ । यसले क्षणभरमै स्थापित र क्षणभरमै विस्थापित बनाइरहेको छ । यसमा राजनैतिक मुद्दाभन्दा पनि चोटिलो, घोचिलो, स्वादिलो र रमाइलो भनाइ र दृश्यहरू भाइरल बन्न सफल भइरहेको छ । अर्थात् समाचार ट्रेन्डिङ विषयवस्तुको गहनतासँग भन्दा पनि तीखो गाली, अराजक बोली र उट्पट्याङ शैलीको आधारमा निर्धारित भइरहेको छ । भाइरल भनिएको समाचार हेर्न र पढ्न भ्याई नभ्याई छ हामीलाई । यसले हाम्रो उत्पादनमूलक समयलाई बर्बाद गरिरहेको छ । यसमा घटना घटाउने प्रणाली वा पद्दति, घटना घटाउने व्यक्ति, घटना बाहिर ल्याउने माध्यम र स्वाद मानेर हेर्ने दर्शकमध्ये को दोषी होला ? सबैले गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ ।
वस्तुतः राजनैतिक चरित्र वा जीवन व्यवहार अनुरूप नै समाचारहरू पनि बन्ने गर्दछ । अधिकांश भाइरल समाचारहरू उत्पादनमूलक छैन । यसले हामी औसत राजनीति गरिरहेका छौँ साथै नेपाली समाज सही दिशातर्पm गइरहेको छैन भन्ने प्रष्ट हुन्छ । यो हामी सबैको चिन्ता र चासोको संवेदनशील विषय हो । हाम्रो दिलदिमाग भुट्ने र समय बर्बाद गर्ने भाइरल समाचारहरू ।
भ्रष्टाचार काण्डः
पछिल्लो समय नेपाली राजनीति मात्र होइन, सिङ्गो समाज नै काण्डैकाण्डहरूमा रुमल्लिइरहेको छ । यो जताबाट नापे तौले पनि पटक्कै जायज होइन । यसमा पनि भ्रष्टाचार काण्ड सर्वाधिक चर्चाको चुचुरोमा पुगेको देखिन्छ । सबै काण्डहरूबारे यस आलेखमा सविस्तार उल्लेख गर्न असमर्थ भएको छु किनभने त्यो दस्तावेजभन्दा पनि लामो हुन्छ । त्यसैले यहाँ सन्दर्भ कोट्याउने मात्र प्रयास गरिएको छ । अर्थात् अधिकांश नेताहरू कुनै न कुनै भ्रष्टाचारहरूमा परोक्ष वा पत्यक्षरूपमा संलग्न भएको देखिन्छ । अब त यस्तो अनुभूति भइरहेको छ कि ढिलो–चाँडो सबै नेताहरू छानबिनमा तानिने सम्भावना रहेको छ । यही ट्रेन्ड कायम रहे काण्ड विनाको नेता र राजनीति पाउन कठिन हुनेछ ।
आजकलको भाइरल समाचारहरू त्यतिमात्र होइन र छैन । बलात्कार काण्ड, चोरी काण्ड, ठगी काण्ड, कीर्ते काण्ड, हत्याकाण्ड, आत्महत्या काण्ड, कुटपिट काण्ड, गालीबेइज्जत काण्ड, सम्बन्ध विच्छेद काण्ड, परस्त्री(पुरुष गमन काण्ड, बहुविवाह काण्ड, लिभिङ टुगेदर काण्ड, स्वार्थ मिलेसम्म सहवास नमिले पछि बलात्कार काण्ड, दहेज काण्ड, मेला÷महोत्सव काण्ड, कुम्भमेला काण्ड, हल्लाखल्ला काण्ड अनि जातीय तथा धार्मिक सद्भाव बिथोल्ने काण्डहरू पनि भाइरल समाचार बनिरहेको छ । यस्ता भाइरल काण्डहरू पनि भ्रष्टाचारकै अभिन्न अंशहरू हुन् ।
वस्तुतः निजी उत्पादन पद्दतिमा यस्ता काण्डहरू भई नै रहन्छन् । यसमा मुख्य दोषी भनेको निजित्वमा आधारित उत्पादन पद्दति हो । नियमतः उत्पादन पद्दति सापेक्ष घटनाहरू घट्ने गर्दछ । यता पाठक र दर्शकहरू पनि सोही उत्पादन पद्दति अनुरूपको स्कुलिङबाट सुशिक्षित र प्रशिक्षित हुन्छन् । यसकारण राजनैतिक सवालहरूभन्दा पनि यस्तै स्वादिला घटनाहरू भाइरल समाचार बन्ने गर्दछ । यसको लागि पछिल्लो समय टिकटकको दर्शक ट्रेन्ड अध्ययन गर्दा प्रष्ट हुन्छ ।
बारम्बारको सरकार फेरबदलः
नेपाली समाजमा भाइरल समाचार बन्ने शीर्षकहरूमध्ये सरकार परिवर्तन पनि एक हो । आजकल मुलुकभरि जम्मा आठवटा सरकार क्रियाशील रहेका छन् । यी आठवटै सरकार अघिपछि परिवर्तन गरिरहनु पर्दा भाइरल समाचारको अभाव भएको देखिँदैन । यसमा सङ्घीय सरकारले एक–दुई हप्ता कभर गर्नेछ किनकि सङ्घ भनेको सङ्घ नै हो । यता एकडेढ हप्ता सुदूर पश्चिम, एकडेढ हप्ता कर्णाली, एकडेढ हप्ता लुम्बिनी, एकडेढ हप्ता गण्डकी, एकडेढ हप्ता बागमती, एकडेढ हप्ता मधेस अनि एकडेढ हप्ता कोशीले भाइरल समाचारको जिम्मा लिने हैसियत राख्दछ । किनकि प्रदेशले पनि सरकारकै हैसियत राख्दछ । योसँग भाइरल समाचार बनाउने पूर्ण इजाजत रहेको छ ।
पछिल्लो समय महत्वपूर्ण भाइरल समाचारहरूमध्ये आठवटै सरकार परिवर्तन निकै महŒवपूर्ण रहेको छ । यसमा केन्द्रीय सरकारबाट आरम्भ गरिएको यो प्रक्रियाले अझैसम्म पनि राम्रोसँग बिट मारेको छैन । यसले सरोकारवालाहरूलाई गम्भीर तनाव भइरहेको अनुमान गर्न सकिन्छ । सङ्घबाट सुरु गरिएको यस्तो भाइरल समाचार ट्रेन्डिङ कोशीमा पुगेर अवतरण हुने प्रबल सम्भावना देखिन्छ । अस्ति मङ्गलबार मात्रै यस प्रदेशका मुख्य अभिनयकर्ताहरूले भाइरल समाचार बनाउनेबारे छलफल गरेर अन्तिम निष्कर्षमा पुगेको समाचार ट्रेन्डिङमा आइसकेको छ । अर्थात् केन्द्रमा नभए पश्चिममा अनि पश्चिममा नभए पूर्वमा सरकार फेरबदलको भाइरल समाचार आई नै रहनेछ । यसकारण सरकार गठन र विघटन पनि हाम्रो भाइरल समाचार बन्ने मुख्य साधन भइरहेको छ ।
उपनिर्वाचनः
नेपाली समाजमा अनुत्पादनशील र उट्पट्याङ् भाइरल समाचारको कुनै अभाव छैन । भविष्यमा अभाव हुने सम्भावना पनि देखिँदैन । यो कुनै पनि उपभोगवादी समाजको कटु वास्तविकता हो । यसरी भाइरल समाचारको अभाव नभइरहेको अवस्थामा यही वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । यो उपनिर्वाचनलाई आवश्यकताभन्दा बढी महत्व दिएको महसुस भइरहेको छ । यसलाई सिङ्गो प्रतिनिधि सभाको चुनावजस्तो अधिमूल्याङ्कन गर्दै समाचार भाइरल बनाउने काम भइरहेको छ । यसरी सिङ्गो उपनिर्वाचन नै भाइरल भएपछि त्यसमा उम्मेदवार उठाउने पार्टी र उम्मेदवार भाइरल नहुने कुरै आउँदैन । मतदाताहरू पनि भाइरलको पछि नलागी हुँदैन । यही सच्चाइ अन्तर्गत प्रायः चुनाव प्रचार–प्रसारदेखि उम्मेदवारहरू सबै भाइरल समाचार बनिरहेको देखिन्छ ।
उपनिर्वाचन यसरी भाइरल बन्नु स्वभाविक छ । किनभने विकृत संसदीय चुनावी पद्दतिभित्र विचार राजनीति र मुद्दाबारे चिन्तन मनन् हुँदैन । यसमा पैसा खर्च र हल्लाखल्लाकै भरमा चुनाव जितिन्छ भने मुद्दामा बहस किन गर्नुप¥यो ? यस्तो राजनैतिक प्रणालीले नेतृत्व गरिरहेको समाजमा पार्टी र उम्मेदवारहरूले मादलको तालमा नाच्नै प¥यो । यता अधिकांश मतदाताहरू पनि राजनैतिक मुद्दाभन्दा खर्च, हल्लाखल्ला र रूपवादी माहौल हेरेर मतदान गर्ने मानसिकता बनाएर बसेका हुन्छन् । यसकारण पछिल्लो केही हप्तायता उपनिर्वाचनको विधि, प्रक्रिया र प्रचार पद्दति भाइरल समाचार बनिरहेको देखिन्छ ।
संसद् अवरोधः
यसैगरी अर्को भाइरल समाचारमध्ये संसद् अवरोध पनि एक हो । गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको सन्दर्भलाई कोट्याउँदै नेपाली काङ्ग्रेसले संसद् अवरोध गरिरहेको छ । उसले संसदीय छानबिन समिति बनाउनु पर्ने बटमलाइन पेस गरेको छ । तर, सरकार पक्षबाट पर्याप्त तथ्य प्रमाण नभएको भन्दै टार्ने काम गरिरहेको छ । यसले संसद्ले गर्ने दैनिक काम अघि बढ्न सकेको छैन । यो विषय पनि आजकाल भाइरल समाचार बनिरहेको छ, जसलाई तपाईं हामीले आफ्नो उत्पादनमूलक काम छोडेर भए पनि हेर्न र पढ्न बाध्य भइरहेका छौँ । यसले हाम्रो समय बर्बाद गरिरहेको छ ।
राजालाई पुनस्र्थापित गर्नेः
लोकतन्त्रमा सबैलाई लेख्ने, बोल्ने र सभासम्मेलन गर्ने छुट हुन्छ । त्यसको अन्तर्यमा जे पायो त्यही गर्न अनि जता पायो त्यतै जान छुट भनेको होइन । यो कुरा सरोकारवाला साथीहरूले बुझेर पनि बुझ पचाएजस्तो देखिन्छ । यसरी बुझ पचाउने क्रममा राप्रपालगायतका केही हिन्दुत्वमा आधारित राजावादीहरूले राजाको टाउकोमा श्रीपेच पहि¥याउन आत्तुर हुँदै केही कार्यक्रमहरू पनि गरिरहेका छन् । राजाले पनि ‘लौ मलाई छिट्टै दरबारको सिंहासनमा राखिहाल’ भन्ने आशय व्यक्त गरिरहेका छन् । ढिलो ग¥यौ भने सारा नेपाल र नेपालीको सुनौलो भाग्य र भविष्य अन्धकार हुनेछ भनेर दिव्यवाणी फालेछन् । यो विषयवस्तु पनि भाइरल समाचार बनिरहेको छ ।
निष्कर्षः
वस्तुतः कुनै पनि समाजमा भाइरल समाचार कसरी निर्धारण हुन्छ भन्ने कुरा यसको राजनैतिक प्रणालीमा आधारित हुन्छ । उपभोगवादी समाजमा विचार, राजनीति र मुद्दा प्रधान कहिल्यै हुँदैन । अरू औसत कर्मकाण्डहरूलाई मिडियाबाजी गरेर चुनाव जिते हुन्छ । यस्तो अर्थराजनीतिक धरातलमा राजनैतिक उठबसहरू पनि औसत कर्मकाण्डी मात्रै हुन्छ । सरकार बनाउने, भत्काउने अनि लडाउने गोलचक्करमा सिङ्गो राष्ट्रिय राजनीति फसिरहेको हुन्छ । समाचारहरू पनि मुद्दा र दृष्टिकोणमा आधारित हुँदैन । यसमा केवल हल्लाखल्ला, प्रचार र मिडिया स्टन्टबाजी वरिपरि पाठक र दर्शक रमाइरहेको हुन्छ । त्यसैले पछिल्लो समय भ्रष्टाचार, सरकार फेरबदल, उपनिर्वाचन, संसद् अवरोध र राजा ल्याउने जस्ता नितान्त प्राविधिक तथा व्यावहारिक औसत कर्मकाण्डहरूमा सिङ्गो राष्ट्रिय राजनीति रुमल्लिइरहेको छ । यसैको दुष्परिणाम स्वरूप भाइरल समाचार ट्रेन्डिङ पनि यसैको गुरुत्वकेन्द्र वरिपरि घुमिरहेको छ ।