विषय प्रवेशः
नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको छ । यो वि.सं. २००६ साल वैशाख १० गते स्थापना भएको हो । कमरेड पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव थिए भने सदस्यहरूमा निरञ्जन गोविन्द वैद्य, नारायण विलाश जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ थिए । यो आन्तरिकरूपमा राणाहरूको निरङ्कुश पारिवारिक शासन लादिएको समयमा स्थापना गरिएको थियो । वाह्यरूपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना त्यस्तो बेला भएको थियो, जुन बेला संसारैभरि कम्युनिष्ट आन्दोलन उत्कर्षमा पुगेको थियो । तात्कालीन शोभियत सङ्घ, पूर्वी युरोप र चीनलगायतका मुलुकहरूमा समाजवादी क्रान्तिको लहर व्यापक भइरहेको थियो । ठीक यही पृष्ठभूमिमा नेपालमा नेकपाको स्थापना भएको थियो ।

सङ्घर्षः
नेकपा स्थापना भएको ७५ वर्ष पुगेको छ । यो खुसी र गर्वको विषय हो किनभने त्यतिखेर जनवादी र समाजवादी समाजको परिकल्पना गरेर कम्युनिष्ट पार्टी खोल्नु पनि ठूलो कुरा हुन्थ्यो । अर्थात् कम्युनिष्ट पार्टी स्थापनाको समयावधिलाई मूल्याङ्कन गर्दा हामी निकै जेठो हुन्छौं । तर, समग्र कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने सन्दर्भमा भने निकै पछाडि रहेका छौं । यस मानेमा हामीलाई दुःख पनि लागेको छ ।

नेपालको कम्युनिष्ट पार्टीको इतिहासलाई मिहिनढङ्गले विश्लेषण गर्दा ठोस राजनैतिक कार्यदिशा विन्यास गरेर आन्दोलनको प्रक्रियालाई अघि बढाउने काम भएको देखिँदैन । यो स्थापनाकालदेखि नै कार्यदिशागत विवादमा फस्दै आएको छ । अर्थात् कम्युनिष्ट आन्दोलन अघि बढाउनको लागि कार्यदिशा र कार्यक्रम निर्माण गर्ने विन्दु वरिपरि नै यो अल्मलिँदै आएको छ । उनीहरूबीच तात्कालीन वस्तुगत तथा आत्मगत अवस्था, भूराजनीति र विश्व परिस्थितिभन्दा पनि व्यक्तिगत र समूहगत ‘ईगो’ र पूर्वाग्रहको कारण कम्युनिष्ट आन्दोलनले माग सापेक्ष गति लिन सकेन । यही भावभूमिमा उनीहरू कोही सोभियत सङ्घ पक्षधर र कोही चीन पक्षधरको बिल्ला झुण्ड्याएर कम्युनिष्ट आन्दोलनलाई भाँचकुँच र अपव्याख्या गर्न थाले । कोही दरबारपरस्त भए भने कोही भारतपरस्त भए । यता कसैले तात्कालीन कार्यनीति संविधानसभा भने भने कसैले संसदीय चुनावलाई  उपयोग गर्नुपर्छ भन्ने मत जाहेर गरे । कुनै समूहले सिधै जनवादी क्रान्तिमा जानुपर्ने कार्यदिशा अघि सारे । समग्रमा नेकपा अनिर्णय र अन्यौलताको दुष्चक्रमा फस्न पुग्यो, जसले वास्तविक कम्युनिष्ट आन्दोलनलाई दशकौं पछि धकेल्यो ।

आरम्भतिरको आन्दोलनमा नेकपाको भूमिका उल्लेखनीय रहेन । झापा आन्दोलन पनि निश्चित उद्देश्यमा आधारित भएर सङ्गठित र योजनाबद्ध आन्दोलन थिएन । ठोस कार्यदिशा, कार्ययोजना, कार्यक्रम, कार्यनीति र रणनीति र आक्रमण र रक्षालाई मिलाएर गरिएको आन्दोलन थिएन झापा विद्रोह । २०४६ सालको जनआन्दोलनमा नेकपाको निर्णायक भूमिका रह्यो । यता २०५२ सालमा शङ्खघोष गरिएको महान् जनयुद्ध भने निश्चित विचार र दृष्टिकोणसहितको सङ्गठित, योजनाबद्ध, कार्यनीति र रणनीति अनि अफेन्स र डिफेन्स मिलाएर गरिएको आन्दोलनको प्रक्रिया थियो । तर, जनयुद्धले पनि राजनैतिक उद्देश्य अनुरूप  बिट मार्न सकेन । सम्झौताको नाममा यसलाई बीचैमा तुहाउने काम गरियो । यद्यपि यसले गणतन्त्र, सङ्घीयता, समावेशी, समानुपातिक र धर्मनिरपेक्षता जस्ता राजनैतिक एजेण्डाहरूलाई भने संस्थागत गर्न सफल भयो । यस अर्थमा यसको दूरगामी महŒव रहेको छ ।

विग्रहः
टुटफुट र विग्रह नेकपाको पर्याय नै भइसकेको छ । वस्तुतः कम्युुनिष्ट पार्टीहरू तीनवटा आयामहरूमा फुट्ने गर्दछ । पहिलो कम्युनिष्ट आन्दोलन अघि बढाउने सन्दर्भमा कुन चाहिँ बाटो सही छ भनेर वा कस्तो कार्यदिशा विन्यास गरियो भने आन्दोलन अघि बढाउन सकिन्छ भन्ने सैद्धान्तिक वैचारिक दृष्टिकोणमा बेमेल हुँदा कम्युनिष्ट पार्टी फुट्ने गर्दछ । यस्तो बेलामा क्रान्तिकारीहरूले पार्टी फुटाएर भए पनि क्रान्ति अघि बढाउने भन्ने महान् लक्ष्य राखिन्छ । यसलाई फुट होइन, क्रान्ति निर्माणको लागि आत्मसात गरिएको सही र वस्तुवादी बाटो भनेर विश्लेषण गर्न सकिन्छ । दोस्रो भनेको आन्तरिक तथा वाह्य परिवेश थोरै मात्र प्रतिकूल हुनु बित्तिकै आकाशै खसे जसरी आतङ्कित भएर आप्mनो क्रान्तिकारी आदर्श र आधारभूत सिद्धान्तहरूलाई तिलाञ्जली दिँदै फुटको वकालत गरिन्छ । यसमा क्रान्तिबाट भाग्ने कुरा गरिन्छ । यस्तो फुटले क्रान्ति निर्माण गर्दैन । यसले मौजुदा क्रान्तिकारी विचार, स्पिरिट, सङ्गठन र योजनाहरूलाई पनि विघटन गर्दछ ।
तेस्रो भनेको पार्टी, समूह र नेताहरूबीच व्यक्तिगत आग्रह पूर्वाग्रह राखेर गरिने फुट पर्दछ । यसमा नितान्त निजी, निकृष्ट आत्मकेन्द्रित व्यक्तिवादी सोच र चिन्तनले घर गर्दछ । यस्तो फुटमा पनि कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्दैन । यसले कम्युनिष्ट आन्दोलनलाई झनै विघटन र विचलनको दिशातिर धकेल्ने काम गर्दछ । नेपालमा कम्युनिष्ट पार्टीहरूबीच इतिहासको विशिष्ट कुइनेटाहरूमा क्रान्तिको लागि पनि फुट र विग्रह भएको छ । तर, अधिकांश फुटहरू क्रान्तिकारी विचार, स्पिरिट र कार्यदिशा लक्षित देखिँदैन । प्रायः सबै फुटहरू कम्युनिष्ट आन्दोलनबाट विचलित र विमुख हुने क्रममा देखिन्छ । पार्टी, समूह र नेताहरूबीचको शत्रुतापूर्ण आग्रह र पूर्वाग्रहले फुटमा उल्लेख्य भूमिका खेलेको छ । यसरी पार्टीपिच्छे, समूहपिच्छे अनि नेतापिच्छे कम्युनिष्ट पार्टीहरू जन्माउने क्रम अत्यधिक बढिरहेको छ । नेपालको कम्युनिष्ट पार्टी स्थापनालाई सप्तरीस्थित वरमझियाको पेडा पसलसँग तुलना गर्न थालेका छन्, जुन सही र उपर्युक्त बिम्ब हो भन्ने लाग्छ ।

संशोधनवादी लाइनः
बिसौं शताब्दीमा नवमाक्र्सवादी अवधारणा विकास भयो । यसले कथित प्रविधिको विकास र जटिल विश्व परिस्थितिको नाममा माक्र्सवादको आधारभूत प्रस्थापनाहरूलाई म्याद सकिएको औषधिको संज्ञा दिए । उनीहरूले यही विन्दुबाट माक्र्सवादको अपव्याख्या र भाँचकुँच गर्न थाले । आप्mनै अनुकूलतामा यसको परिभाषा र व्याख्या गर्न थाले । परिणामतः प्रजातान्त्रिक समाजवाद, लोककल्याणकारी समाजवाद, स्क्याण्डेनिभियाली समाजवाद अनि प्रगतिशील लोकतन्त्र आदि भेषहरूमा यसलाई अपव्याख्या गर्न थालियो । यही प्रक्रियाको उत्कर्षमा आइपुग्दा आज संसदीय लोकतन्त्र र प्रजातान्त्रिक समाजवाद लगभग एउटै सेरोफेरोमा आइपुगेको छ । संसद्वाद र समाजवाद उस्तै जस्तो हुन पुगेको छ,  जुन असम्भव कुरा हो । समाजवादीहरूले पनि संसद्वादीहरूले जस्तै चुनावी कार्यदिशा अङ्गीकार गरिरहेका छन् । कार्यदिशा एउटै भएपछि पार्टीको कार्यक्रम, कार्ययोजना, कार्यशैली र समग्र राजनैतिक संस्कृति उस्तै हुन्छ । समाजवादी र संसद्वादी उस्तै देखिनु भनेको राजनैतिक कार्यदिशा एउटै हुनुको दुष्परिणाम हो ।

नेपालमा पनि प्रायः सबै कम्युनिष्ट पार्टीहरू संशोधनवादी दलदलमा फसिरहेका छन् । समाजवादी र संसद्वादी पार्टीहरूको राजनैतिक कार्यदिशा एउटै छ, जसको मूल मर्म भनेको जसरी पनि चुनाव जित्नुमा सीमित रहेको छ । उनीहरूबीच केवल झण्डा, लोगो, ब्यानर र राजनैतिक पदावलीहरू मात्रै भिन्न देखिन्छ । अरू औसत संसदीय कर्मकाण्डहरू एउटै र उस्तै छ । यसले समाजवादी र गैरसमाजवादीहरू बीच कुनै वैचारिक राजनीतिक भिन्नता छैन । यहाँसम्म कि संसद्वाद नै समाजवाद जस्तो अनि समाजवाद नै संसद्वाद जस्तो भएको छ । ज्ञानेन्द्र शाहदेखि माओवादी सबैले ओढ्न मिल्ने पहिरन जस्तो भएको छ समाजवाद । अर्थात् नेपाल कम्युनिष्ट पार्टीको साढे सात दशक लामो इतिहासलाई संश्लेषण गर्दा सिङ्गो कम्युनिष्ट आन्दोलन संशोधनवादी दिशातिर गइरहेको छ । यस्तै अमूर्त राजनैतिक कार्यदिशाको कारण विचार विनाको गैरराजनीतिक तŒवहरू पनि राजनीतिमा सल्बलाउन थालेका छन् । यस्तो रवैया हाबी भएको समाजमा राष्ट्रिय राजनीतिले सही दिशा लिने सम्भावना कम हुन्छ ।

निष्कर्षः
त्यसैले नेकपाको ७५ वर्षे इतिहासलाई निर्मम ढङ्गले समीक्षा गर्ने हो भने अपवादबाहेक यसले सङ्गठित र योजनाबद्धरूपमा कम्युनिष्ट आन्दोलनको निरन्तर प्रक्रियालाई अघि बढाएको देखिँदैन । यो कहिले दरबार परस्त, कहिले भारत परस्त, कहिले सोभिय सङ्घ परस्त, कहिले चीन परस्त, कहिले संसद्को उपयोग अनि कहिले संविधानसभा जस्ता राजनैतिक लाइनको गोलचक्करमा फस्दै आएको छ । यस्तो अनिर्णित अवस्थामा फस्नु भनेको क्रान्तिकारी आन्दोलन विचलन र विघटनको सँघारमा पुग्नु हो । परिणामतः कम्युनिष्ट आन्दोलन टुटफुट र विग्रहको अनन्त शृङ्खलामा पुगिरहेको छ । यो चुनावी कार्यदिशा अपनाउँदै जाँदा संसद्वादी र समाजवादी उस्तै जस्तो देखिन थालेको छ । अर्थात् कम्युनिष्ट आन्दोलनको संशोधनवादी यात्रा भनेको अन्ततः प्रजातान्त्रिक समाजवाद वा लोककल्याणकारी संसदीय लोकतन्त्रमा अभिव्यक्त हुन्छ । आज त्यही भइरहेको छ ।

तसर्थ नेपाल कम्युनिष्ट पार्टीको ७५ वर्षे इतिहास उपलब्धिमूलक देखिँदैन । यसलाई फलदायी बनाउने हो भने समाजवाद सापेक्ष कार्यदिशा विन्यास गरेर सङ्गठित र योजनाबद्ध आन्दोलनको कार्यदिशा अङ्गीकार गर्नुपर्दछ । संसद्वादीहरूभन्दा विचार, राजनीति, कार्यदिशा, कार्यक्रम, जीवनशैली, कार्यशैली, संस्कृति र रीतिरिवाजहरूमा समेत नितान्त भिन्न हुनुपर्दछ । आजैबाट समाजवाद सापेक्ष रूपान्तरण प्रक्रिया थाल्नै पर्दछ । अन्यथा ७५ वर्ष होइन, हजार वर्ष लामो इतिहासको पनि कुनै औचित्य हुने छैन ।