इटहरी । उमेरले ८० पुगेका दृष्टिविहीन अमर बहादुर गुरुङ लाठी टेक्दै सधैँ बास बस्ने छहारी भएका ठाउँमा पुगे तर, केही फरक भएको महसुस गरे र एक्लै बोल्न थाले । वर्षाैंदेखि त्यही रुखको फेदमा शीतल ताप्ने बानी भएर होला उनलाई मङ्गलबार अलि अनौठो लागेको । उनी कसैलाई प्रश्न गर्दैथिए– ‘यहाँको रुख कसले काट्यो कि हावाले लडायो ?’ भौतिक आँखा गुमाए पनि मनको दृष्टिबाट उनले चाल पाइसकेका थिए कि सधैँ बास बस्ने ठाउँ अब बिरानो भयो भनेर ।
रुखको फेदैमा राखेको उनको झोला टिपे र एक्लै बर्बराउँदै उनी त्यहाँबाट निस्के । निस्कने बेलामा उनी भन्दै थिए । हामीजस्ता दृष्टिविहीनको शीतल ताप्ने यही भएको एउटा छहारी पनि रहेनछ, अब कहाँ गएर बस्ने ? उनी तिनै दृष्टिविहीन हुन् जसले इटहरी क्षेत्रमा मागेर जम्मा भएको रकमले विराटनगरस्थित राधाकृष्ण मन्दिरमा ४० हजार रुपैयाँको घण्टा किनेर दान गरे । आफू सधैँ बस्ने पीपलको रुख सडक आयोजनाले काटिदिएपछि हाल उनी त्यही मन्दिरको एक छेउमा बस्दै आएका छन् ।
त्यस्तै इटहरी ज्येष्ठ नागरिक समाजका सदस्य नारायण घिमिरे आफ्नो पालामा हुर्काएर बढाएर जवान बनाएका रुखहरू अहिले आँखै अगाडि लडाउँदा मन कटक्क खाने बताउँछन् । उमेरले ८३ काटेको बताउने उनी इटहरी–६ का स्थायी बासिन्दा पनि हुन् । झण्डै ८ सय मिटर परबाट हिँड्दै आउनु पर्दा ६ पटक बस्दै उपमहानगरमा अवस्थित ज्येष्ठ नागरिक समाजको कार्यालयमा भजन गाउन उपस्थित हुने गरेको उनले बताए । घरदेखि हिँड्दा रुखकै छहारीमा बिसाउँदै आउने उनी अब सहरमा कुनै रुख नै नरहेपछि शीतल ताप्ने छहारी हराएको गुनासो पोख्छन् ।
त्यस्तै वर्षैपिच्छे सामाजिक सञ्जालमा भाइरल हुने इटहरी उपमहानगरअगाडिको शिरिषको फूल पनि आयोजनाले काटिदिएपछि व्यवसायीहरू रुष्ट देखिएका छन् । ‘अरू काटे पनि यो रुखलाई स्थानान्तरण गर्न सकिन्थ्यो तर, उनीहरूले केही नसुनी धमाधम काट्न थाले’ इटहरी उपमहानगर गल्लीभित्र कफी हाउस सञ्चालन गर्ने भोजराज प्याकुरेल भन्छन्, ‘हामी २–४ जना व्यवसायीले आयोजनाका कर्मचारीहरूसँग अरू रुख काटे पनि वर्षैपिच्छे भाइरल बनेको शिरिषको रुख नकाट्न अनुरोध गरेको तर, कसैको केही नसुनी सबै काटे ।’ सडक फराकिलो बनाउने नाममा सहरकै वातावरण बिगार्ने गरी काम गरिनु उचित नभएको इटहरीका व्यवसायीहरू बताउँछन् । विकास हुनुपर्छ तर, सहरकै स्वरूप बिगारेर गरिने विकास आफैमा घातक रहेको व्यवसायीहरूको भनाइ छ ।
अहिले रुखहरू काटेपछि इटहरीको वातावरण झनै बिग्रँदै गएको व्यवसायी जीवन न्यौपाने बताउँछन् । एक महिना होल्ड गरेर यहाँका रुखहरू स्थानान्तरण गरिनुपथ्र्यो तर, रुख काट्नैको हतारोले सहरको स्वरूपसँगै वातावरणमा नकारात्मक असर परिरहेको उनले बताए । यता इटहरी क्षेत्रका रुखहरू सबै मासिएपछि बिहान बिहानै गुञ्जिने विभिन्न प्रजातिका चराचुरुङ्गीहरू पलायन भएको इटहरीका समाजसेवी बाबुराम प्रधानले बताए । रुख कटानसँगै वृक्ष रोपण कार्यक्रम अघि बढाइएन भने यसले भविष्यमा मानव जीवनसँगै चराचुरुङ्गीहरू पनि सङ्कटमा पर्ने उनको भनाइ छ । यता इटहरी टेङ्ग्रा खोला आसपासका स्थानीयहरू भने सडकक्षेत्रका रुखहरू मासिएपछि बासस्थान खोज्दै चराचुरुङगीहरू घर–घर छिर्न थालेको बताएका छन् । इटहरी स्वागत टोलका थमन अधिकारी सडकमा बासस्थान मासिएपछि चराहरूले स्थानीयको परेवा खोर तथा मठमन्दिर र केही घरहरूमा गुँड बनाउन थालेको बताए ।
यता झापादेखि सुरु भएको रुख कटानको काम बिहीबारसम्म आइपुग्दा रामधुनी नगरपालिका कटेको सडक आयोजनाको कार्यालय इटहरीले जनाएको छ । अबको एक महिनाभित्र लौकहीसम्मको रुख कटानसँगै रोड क्लियरिङको काम सक्ने एसियन हाई–वे सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । उनले राजमार्ग विस्तारका क्रममा १२ हजार बढी रुखहरू काट्नुपर्ने भए पनि अहिलेसम्म ८ हजार ६ सय ४ वटा ठूला रुखहरू काटिसकेको बताए ।
राजमार्ग विस्तारसँगै पूर्व–पश्चिम सडक–खण्डमा ७१ वटा नयाँ पुलहरू निर्माण हुने आयोजनाले जनाएको छ । एसियन हाई–वे थाइल्यान्डको बैङ्ककबाट सुरु भई म्यानमार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको नयाँदिल्लीबाट पाकिस्तानको कराँची पुग्नेछ । ‘एसियन हाई–वे’ सडक सञ्जालमा जोडिएसँगै नेपालको ग्रामीणस्तरको व्यवसायले पनि अन्तर्राष्ट्रिय बजारको सम्भावना बोक्ने आशा जगाउने विश्वास गरिएको छ ।