इलाम २ बाट निर्वाचित भएका नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपश्चात् शनिबार सम्पन्न उपनिर्वाचनमा मतदातामा खासै उत्साह देखिएन । उपनिर्वाचनका लागि ७९ वटा मतदानस्थल र एक सय ४९ वटा मतदान केन्द्र तोकिएका थिए । मतदानस्थलमा उपस्थितिको सङ्ख्या विगतको जस्तो उत्साहजनक देखिएन । २०७९ को मङ्सिर १४ को निर्वाचनमा ५९ दशमलव ७८ प्रतिशत मत खसेको थियो । त्यसबेला मतदाता सङ्ख्या पनि केही कम रहेका थिए । यसपटक भने इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका थिए । जसमा ५९ हजार १८ पुरूष र ५६ हजार आठ सय ६९ जना महिला र दुईजना तेस्रोलिङ्गी छन् । तर, शनिबारको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । यो मत सङ्ख्या उल्लेख्य मत सङ्ख्या होइन । यसले राजनीतिक दलहरुप्रतिको वितृष्णालाई प्रतिनिधित्व गर्दछ । नेपाली राजनीतिप्रति आम नागरिकको बुझाइ नकारात्मक बन्दै गएको छ । यसको कारक तŒव पनि स्वयम् राजनीतिक दलहरु नै हुन् । उनीहरुकै कर्तुतका कारण अहिले मतदातामा वितृष्णा छाइरहेको छ । यसले राजनीति प्रणालीप्रति प्रश्न उठाउन थालेको छ ।
उपनिर्वाचनले दुईवटा कुरालाई मार्गदर्शन गर्ने देखिएको छ । एउटा हाल कायम रहेका मूल धारका राजनीतिक दलहरुप्रति आम मतदाताको बुझाइ कस्तो बन्दै गएको छ ? उनीहरु राजनीतिक दलहरुप्रति के सोच्छन् ? दोस्रो पहिचानवादी दलप्रतिको रूझान के हुने ? पहिचानवादी शक्तिहरु के स्थापित होलान् ? भन्ने विषय एकदमै पेचिलो बनेको छ । यी दुई कुरालाई निर्धारण यो उपनिर्वाचनले गर्नेछ । यसले गर्दा पनि इलाम २ को उपनिर्वाचन एउटा गतिलो शिक्षालय हुनेछ । यदि पहिचानवादी दलहरुको प्रतिनिधित्व हुने अवस्था आयो भने अब आउने आवधिक निर्वाचनमा यसको प्रभाव रहन्छ भन्ने मान्न सकिन्छ । यदि मूल धारकै राजनीतिक दलहरुलाई जिताएमा पहिचानको भाष्यलाई बुझ्न अझै केही समय लाग्नेछ भनेर मान्नुपर्ने हुन्छ । इलाम २ को उपनिर्वाचनले एउटा मानक स्थापित गर्नेमा सबैले विश्वास गरिरहेको अवस्था छ । तर, चुनावी नतिजाको प्रारम्भिक गणनालाई हेर्ने हो भने अहिले पनि मूल धारकै राजनीतिक दलहरुप्रतिको रूझान कायम छ भन्ने देखाइरहेको छ । यसले पहिचानवादी शक्तिहरुले पक्कै पनि गम्भीर समीक्षा गर्ने अवस्था आउला कि भन्ने अनुमान हुन थालेको छ । यो देश बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुपहिचानमय देश हो । यसकारण पनि यहाँ सबै जाति, धर्म, लिङ्ग, रङको सम्मिश्रण छ । यो सम्मिश्रणलाई कायम राख्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नतर्फ लागिरहेको प्रतीत हुन्छ ।
नेपाली मतदाताहरुमा जुन खालको उत्साह जाग्नुपर्ने थियो त्यो नदेखिँदा चाहिँ अब राजनीतिक दलहरु सुध्रिनु पर्ने देखिँदै गएको छ । करिब ६० प्रतिशतको हाराहारीमा मात्रै मत झर्नु उल्लेख्य सहभागिताको सूचक होइन । कम्तीमा पनि ७० प्रतिशतभन्दा माथि मत खसेमा त्यसलाई आंशिक सफलता मान्न सकिएला । समृद्ध मुलुकहरुमा कम मत खस्नु एउटा कुरा हो । हाम्रोजस्तो विकासोन्मुख देशमा नागरिकहरु व्यस्त हुँदैनन् । अझ अहिलेको समय व्यस्त हुने समय पनि होइन । यसकारण पनि धेरै मतदाताले भोट खसाल्नु पर्ने हो । तर, त्यस्तो देखिएन । यसले गर्दा पनि अब राजनीतिक दलहरुले आफूलाई सुधार्नु आवश्यक छ । मतदातालाई जुन आश्वासन देखाउँदै मत माग्ने गरेका छन् । त्यसलाई पूरा गर्नुपर्ने अवस्था छ । उधारोमा मत माग्ने प्रचलनलाई हटाउन जरूरी छ । अन्यथा भोलिका दिनमा राजनीतिक दलहरुलाई थप विश्वास गर्ने वातावरण हट्दै जानेछ । त्यसका लागि सुधार आजैबाट गर्न जरूरी छ ।