शनिबार सम्पन्न इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । दिवङ्गत एमाले नेता सुवासचन्द्र नेम्वाङका कान्छा सुपुत्र सुहाङले बाबुको बिँडो थामेका छन् । चुनावी रस्साकस्सीमा फेरि पनि एमालेले आफूलाई स्थापित गरेको छ । प्रदेश नामकरणका विषयमा एमालेप्रतिको धारणा परिवर्तन भएको अनुमान गरिएको थियो । सुहाङमाथि त दबाव थियो नै एमालेमाथि पनि व्यापक दबाव थियो । सुहाङलाई उम्मेदवार उठाएपछि पार्टीभित्रै पनि एक प्रकारको अमिलोपन थियो । तर, त्यसलाई नीलकण्ठ झैं एमालेजनले पचाए । अर्कोतिर पहिचानवादी शक्तिको रापतापमा एमाले परेको थियो । आदिवासी, जनजातिको बाहुल्य क्षेत्र भएकाले पनि एमालेलाई केही सकस भएको अनुमान गर्नेहरु थिए । त्यस्ता आम समस्यालाई चिर्दै सुहाङले बाजी मारेपछि भने इलाम २ को चुनावी सन्देश फरक देखिएको छ । मूलधारकै पार्टीहरुप्रतिको विश्वास तथा जनाधार देखियो । यसले पार्टीहरुलाई केही सन्देश चाहिँ दिएर गएको छ ।
पहिचानको राजनीतिको चौघेरामा परेको कोशी प्रदेशमा यो उपनिर्वाचन २०८४ को पूर्व सङ्केतको रुपमा हेर्न सकिन्थ्यो । जसले गर्दा इलाम २ को चुनावप्रति आमचासो थियो । यो चासो सामान्य रुपमा थिएन । यसले राष्ट्रिय राजनीतिको आयाम नै परिवर्तन गर्न सक्ने आँकलन गरिएको थियो । तर, त्यसको ठीक विपरीत सुहाङले चुनावमा बाजी मार्दा भने केही सङ्केतहरु जीवित रहेको देखिएको छ । तर, दिवङ्गत नेता सुवासचन्द्रभन्दा तीन हजारको हाराहारीमा कम मत पाएको अवस्थाले चाहिँ पार्टीहरुमा सुधारको खाँचो रहेको सङ्केत देखाएको छ । तर, पहिचानवादी शक्तिको तर्फबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले पाएको मत पनि सम्मानजनक मत हो । यस मतलाई पनि नजरअन्दाज गर्न सकिँदैन । अब दलहरुले सच्चिनुपर्छ भन्ने पूर्वसङ्केत देखाएको छ । चुनावी मैदानमा हारजितहरु सामान्य हुन् तर, पाएको जनाधार चाहिँ महŒवपूर्ण हो । यसलाई गम्भीर मनन् गर्ने बेला चाहिँ भएको छ । चुनावी विश्लेषणका अनेकन आधारहरु हुन्छन् । विधिशास्त्रीय ढङ्गले यसलाई विश्लेषण गर्दा अनेकन आधारमा गर्न सकिन्छ । तर, पहिचानवादी शक्तिबाट उम्मेदवारी दिएका थेगिमले जुन नम्बर प्राप्त गरेका छन् । यसले पार्टीहरुले सामान्य नआँक्दा राम्रो हुनेछ । भलै मूलधारहरु दरिलो छन् । मूलधारहरु दरिलो हुनका पनि निश्चित कारणहरु छन् । उनीहरुको गाउँ–गाउँमा, टोल–टोलमा सङ्गठन छ । यसले जनाधारलाई बलियो बनाउन मद्दत गर्दछ । अर्कोतिर आम मतदाता ४० भन्दामाथि उमेर समूहका छन् । त्यसले पनि निर्वाचनमा धेरै फरक पार्दछ । यस्ता अनेकन आयामहरुलाई केलाउँदै नजाने हो भने भोलिका दिनमा पल्टी नखालान् भन्न सकिन्न ।
चुनावी मैदानमा हुने हार र जितलाई खुसीयालीका रुपमा लिनु हुँदैन । यो एउटा प्रक्रिया हो । प्रक्रियामा कोही जित्ने र हार्ने हुन्छ नै । यसका लागि सबै दलहरु सचेत भएर लाग्न जरूरी छ । इलाम २ को चुनावी सन्देशलाई मनन् गरेर सबै दलहरु सक्रिय हुनुपर्छ । चुनावी माहौलमा केही समस्याहरु अवश्य छन् । ती समस्याहरु एकैपटक समाधान हुँदैनन् । समाधानका लागि लामो समय पर्खिनुपर्छ । मूलधारका राजनीतिक दलहरुप्रति आम मानिसको धारणा जसरी नकारात्मक बनिरहेको छ । त्यसलाई चिर्नका लागि उनीहरुको भूमिका महत्वपूर्ण हुनुपर्छ । अहिले राजनीतिक दलहरुले जुन खालका हर्कतहरु देखाइरहेका छन् । त्यो जनताका लागि पाच्य छैनन् । कुनै न कुनै बेला त्यो विष्फोट हुनसक्छ । त्यसका लागि इलामले दिएको सन्देशलाई मनन् गरी अगाडि बढ्नुपर्छ । २०८४ को विकल्प के हो भन्ने ख्याल गर्नुपर्छ । कुनै कुरालाई हल्का रुपमा लिने प्रवृत्तिको अन्त्य गरिनुपर्छ ।