सुख्खा मौसम सुरू भएसँगै देशभर आगलागीका घटना भइरहेका छन् । आगोका कारण ठूलो मात्रामा वन जङ्गल नष्ट भएको छ भने धेरै जनाको ज्यानसमेत गइसकेको छ । सोमबार मात्र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकास्थित बेतेनीमा सामुदायिक वनमा लागेको आगो खरबारीमा सल्किएपछि निभाउने क्रममा ५५ वर्षीया पुण्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको ज्यान गएको छ । यसअघि भोजपुरमा घरमा आगलागी हुँदा तीन बालबालिकाको ज्यान गएको थियो । यसरी बर्सेनि आगोमा परी ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । आगोका कारण क्षति बढिरहँदा समुदायमा सचेतना जगाउन ढिला भइसकेको बुझ्न सकिन्छ । समुदायले आफै सचेतना नअपनाएसम्म आगोको क्षति न्यूनीकरण गर्न सजिलो छैन ।
हरेक वर्ष सुख्खा मौसम लागेसँगै आगलागीका घटना भइरहेका छन् । वन जङ्गलमा लाग्ने डढेलो, घर तथा गोठहरुमा हुने आगलागीका घटना बढिरहेको प्रहरीको तथ्याङ्कबाट पनि प्रष्ट छ । आगोबाट मानिसको ज्यान गएको, घाइते भएको, पशुपंक्षी मरेको र आर्थिक क्षति भएको विवरण तथ्याङ्कमा सार्वजनिक हुने भए पनि वन जङ्गलमा लाग्ने डढेलोबाट हुने जैविक विविधताको क्षति बारे एकिन रुपमा पाउन मुस्किल छ । डढेलोका कारण वन जङ्गलभित्रका बहुमूल्य वनस्पति, जीव जनावर, कीटपतङ्गहरु नष्ट भइरहेका छन् । यसरी जैविक विविधतामा महत्वपूर्ण भूमिका हुने वनस्पति र जीवहरु मासिँदा विश्वलाई नै क्षति पुगिरहेको हुन्छ । यसतर्फ राज्यले ध्यान पुर्याउन सकेको छैन । मानवीय र आर्थिक तथा भौतिक क्षति त न्यूनीकरण गर्न नसकिएको अवस्थामा सरकारले जैविक विविधताबारे गम्भीरताका साथ काम गर्ने कुरै भएन । तर, अब यसबारे नसोच्ने र नीति नबनाउने हो भने अझै ठूलो क्षति व्यहोर्नु पर्ने निश्चित छ ।
राज्यले ध्यान पुर्याउन नसकेका आगलागी न्यूनीकरणजस्ता काममा स्थानीय समुदायलाई परिचालन गर्न सकिन्छ । तीन तहका सरकारमध्ये आम नागरिकसँग प्रत्यक्ष जोडिने स्थानीय तह र तिनका वडा तथा टोलस्तरमा पुगेर आगलागीबारे सचेतना जगाउनसके र उनीहरुलाई आगलागी भइहाले कसरी नियन्त्रण गर्ने भन्ने विषयमा प्रशिक्षण दिनसके धेरै हदसम्म आगलागी तथा डढेलोका घटना कम गर्न सकिन्छ । वनमा लाग्ने डढेलो नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ताहरुलाई सचेतना जगाउन र प्रशिक्षण दिनसके उनीहरुले नै आगो लाग्न नदिन र लागिहालेमा नियन्त्रण गर्न सक्छन् । त्यस्तै सहरहरुमा टोल विकास संस्थाहरुमार्फत् सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । घरमा आगलागी हुन नदिन अपनाउनु पर्ने पूर्व सावधानी र लागिहालेमा नियन्त्रणका लागि गर्न सकिने कार्यहरुबारे प्रशिक्षण दिन आवश्यक छ । सचेतना र प्रशिक्षणका लागि धेरै ठूलो खर्च पनि लाग्दैन । वडा कार्यालयहरुले नै सचेतनामूलक कार्यक्रमहरु गर्न सक्छन् । त्यसका लागि समुदायको पनि साथ सहयोग अवश्य हुन्छ । त्यसैले अब राज्यको मुख ताकेर बस्नुभन्दा बेलैमा सचेतना जगाउने कार्यमा अघि बढ्नु आवश्यक हुन्छ ।