धरान उपमहानगरपालिकाले विगत दुई वर्षदेखि धरानभरिका खोला ठेक्कामा रोक लगाएको छ । २०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनपश्चात् नगर प्रमुख निर्वाचित बनेका हर्क साम्पाङले धरानका खोलामा ढुङ्गागिट्टी उत्खनन्मा रोक लगाएका छन् । पर्यावरणीय हिसाबले ढुङ्गागिट्टी उत्खनन्मा रोक लगाउनु राम्रै हो तर, लामो समय उत्खनन्मा रोक लगाएमा अनेक खालका समस्याहरु निम्तिन्छन् । त्यतातिर चाहिँ नगरले सोचेको देखिएको छैन । अर्कोतिर ढुङ्गागिट्टी चोरीतस्करी मौलाउन थालेको छ । यसतर्फ भने नगरको चासो देखिएको छैन । पछिल्लो समय धरान–१५ को सेउती खोलामा चोरीतस्करी व्यापक भइरहेको छ । तर, नगरका साथै सेक्टर वन कार्यालय पाँचकन्याले पनि ध्यान दिएको पाइँदैन । यसले चोरीतस्करीलाई मलजल गरिरहेको प्रतीत हुन्छ । ढुङ्गागिट्टी रोकेर मात्रै हुँदैन । त्यसलाई संरक्षण गर्ने दायित्व पनि बहन गर्नुपर्छ ।
ढुङ्गागिट्टी आयस्रोतको गतिलो माध्यम हो । यसलाई सही तरिकाले व्यवस्थापन गर्ने हो भने नगरको राजस्वको प्रमुख स्रोत बन्न सक्छ । तर, यसका लागि प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन राम्रोसँग गरेर मात्रै उत्खनन् गरिनुपर्छ । त्यसो नहुँदा नै विगतमा समस्याहरु सिर्जना भएका थिए । यसैलाई कारण देखाएर पूर्णरुपमा निषेध गर्ने कार्य राम्रो होइन । नगरप्रमुखले यसबारे चाहिँ ध्यान दिनुपर्ने थियो तर, उनको बालहठका कारण अहिले बन्द त छ तर, चोरीतस्करीलाई भने रोक्न सकेको छैन । यसले एकातिर राजस्व गुमिरहेको छ भने अर्कोतिर बर्सेनि आउने बाढीका कारण सतह बढ्दै गएको छ । अन्ततः यसले पर्यावरणलाई नै क्षति पु¥याउनेछ । एउटा निश्चित समयसम्म रोकिनु चाहिँ न्यायोचित होला तर, दीर्घकालीन अवधिसम्म यसैगरी रोकिरहनु चाहिँ हितकर हुँदैन । यसबारे चाहिँ नगरले सोच्नुपर्छ । अहिले तत्काल गर्नुपर्ने कार्य चाहिँ चोरीतस्करीलाई नियन्त्रण गर्नु हो । यो नियन्त्रण नगरेमा यसले ठूलो क्षति हुनेछ । चोरीतस्करी बढ्दै गएमा अपराधले प्रश्रय पाउनेछ । त्यसलाई नियन्त्रण गर्नु सबैको दायित्व हो । यसलाई बढावा नदिनका लागि पनि नदीजन्य पदार्थलाई खुलाउन आवश्यक छ ।
अहिले जुन हिसाबले दोहन बढिरहेको छ, यसले कालान्तरमा नगरलाई नै घाटा पु¥याउनेछ । एकातिर रोकिएजस्तो देखिए पनि यथार्थमा त्यस्तो भएको छैन । यसले गर्दा पनि नगरको पहिलो दायित्व भनेको चोरीतस्करीलाई पूर्ण नियन्त्रणमा राख्नका लागि सोहीअनुसारको नगर प्रहरी परिचालन गर्नुपर्छ । चोरीतस्करी गर्नेले आँखा छलेर काम गरिरहेका छन् । उनीहरुले अनेकसँग मिलिभगत गरेका हुन्छन् । यसले अपराधलाई बढावा दिइरहेको हुन्छ । यो राम्रो कुरा होइन । नदीजन्य पदार्थलाई सुरक्षित गर्ने जिम्मेवारी पाएको सेक्टर वन कार्यालयले पनि यसमा गम्भीर भएर ध्यान दिनुपर्छ । नियमनकारी निकायको सुस्तताको फाइदा उठाइरहेका छन् । यसमा गम्भीर भएर लाग्नुपर्छ । अहिले जे भइरहेको छ, त्यसलाई नियन्त्रण गर्नका लागि नदीजन्य पदार्थलाई खुल्ला गर्नु नै एकमात्र विकल्प हो । कि त नगरले पूर्णरुपमा ठप्प पार्न सक्नुपर्छ । यसका लागि नगरले आफ्नो योजना सार्वजनिक गर्नुपर्छ । नदीजन्य पदार्थलाई सही सदुपयोग गर्ने वातावरण मिलाउनुपर्छ ।