कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बलियो भएमा सङ्घीयता बलियो हुने बताएका छन्।

कोशी प्रदेशसभा सचिवालयको सभाहलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले सङ्घीयतामा कुनै प्रश्न उठ्न नदिन र यसको औचित्य सावित गर्न पनि प्रदेशसभा सुदृढ हुनुपर्छ भने।

उनले पत्रकारसँग सुझाव र सल्लाह लिन यो भेटघाटको कार्यक्रम राखेको जनाउँदै आगामी केही दिनमै विषयगत समितिले पूर्णता पाउने र यसका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिएका छन्।

संसद्सँग आबद्ध संसदीय पत्रकार मञ्चले आवश्यक योजनासहितका कार्यक्रम ल्याउन आग्रह गर्दै यस वर्ष सरकारबाट प्राप्त भएको आठ लाख के–कसरी खर्च गर्ने त्यसको विवरणसहितको योजना पेस गर्न आग्रह गरेका छन्।

कुनै पनि दलले बहुमत प्राप्त नगरेको कोशी प्रदेशमा सरकार बन्ने र परिवर्तन कार्य बढी भएको भन्दै सभामुख विष्टले विषयगत समितिका सभापति सबै दलको सहमति र सहकार्यबाट टुङ्गो लगाउने प्रतिबद्धता जनाएका छन्।उनले जनताका आवश्यकता र चाहना सम्बोधन हुने प्रदेशसभालाई अझ प्रभावकारी बनाउन दलहरुसँग पनि गृहकार्य गर्ने बताएका छन्।

कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले प्रदेश सभालाई क्रियाशील र खुलापन बनाउन बनाउन सञ्चारकर्मीको सुझाव र सल्लाह महत्वपूर्ण रहेको चर्चा गरेका छन्।

सो अवसरका नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सभापति लीलाबल्लभ घिमिरे, पूर्वअध्यक्ष विक्रम लुइँटेल, महासचिव विवेक गौतम, रासस कोशी प्रदेशका प्रमुख मोहम्मद सदरुल, संसदीय पत्रकार मञ्चका संयोजक कुमार लुइँटेल, पत्रकार अर्जुन आचार्य, सुमन सुस्केरालगायतले सुझाव दिएका छन्।