धनकुटा । धनकुटा नगरपालिका क्षेत्रमा बसोबास गरिरहेका आठपहरिया दिदीबहिनीहरू भवनको अभावमा खुल्ला आकासमुनि घरेलु खाँडी कपडाको तान बुन्न बाध्य छन् ।
तान बुन्ने भवन नभएको कारण हरेक वर्ष सुख्खायाम सुरु भएपछि असोज, कात्तिकदेखि वैशाख, जेठसम्म मात्र घरेलु कपडा बुन्नुपर्ने बाध्यता उनीहरूको छ । वर्षायाम सुरु भएपछि कोठाभित्र थन्क्याउनु पर्ने बाध्यताले बाह्रैमास व्यावसायिकरूपमा घरेलु खाँडी कपडा आठपहरिया दिदीबहिनीहरूले बुन्न पाएका छैनन् । ‘आठपहरिया घरेलु ढाका उद्योग’ धनपा–८ का सञ्चालक डोरश्वरी आठपहरियाले भवन अभावले गर्दा वर्षौंदेखि आफूहरूले खुल्ला आकासमुनि स्थानीय कपासबाट उत्पादित खाँडी कपडाको तान बुन्नुपरेको दुःखेसो ब्लाष्टसँग पोखिन् । उनले धनकुटा नगरपालिकालाई खाँडी कपडा बुन्ने भवनको लागि पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो गरिन् ।
यसैबीच धनकुटा न.पा. वडा नं.८ को सहयोगमा परम्परागत ज्ञान सीपमा आधारित घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यले १५ दिने खाँडी कपडा बुन्ने तालिम मङ्गलबार सम्पन्न भएको छ । यो वर्षको तालिम पनि खुल्ला आकासमुनि आयोजना गरिएको सञ्चालक डोरश्वरीले बताइन् । उनले वर्षा सुरु भएको कारण बाध्य भएर तान बुन्ने तालिम बन्द गर्नुपरेको बताइन् । स्थानीय किसानले उत्पादन गरेको कपासबाट खाँडी कपडा उत्पादन गर्ने उद्देश्यले आ.व. ०८०÷८१ को स्वीकृत बजेट तथा कार्यक्रमबाट तालिम आयोजना गरिएको हो ।
परम्परागत प्रविधिलाई उपयोग गर्दै नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न तालिम आयोजना गरिएको धनपा–८ का वडाध्यक्ष रसबहादुर आठपहरियाले बताए । वडाध्यक्ष आठपहरियाले भने, ‘आठपहरिया जातिले लगाउने भेषाभूषा खाँडी कपडाबाटै निर्माण गर्नुपर्ने भएकाले हरेक वर्ष वडाले तालिम आयोजना गर्दै आएको छ ।’ उनले थोरै बजेटले भए पनि हरेक वर्ष घरेलु र परम्परागत पद्धतिबाट तान बुन्ने तालिम आयोजना गरेर हराउँदै गएको सीपलाई बचाउने प्रयास गरिरहेको बताए ।
तालिमको आयोजना ‘आठपहरिया घरेलु ढाका उद्योग’ धनपा–८ तित्रिदाङले गरेको हो । तालिम आयोजक संस्थाका सञ्चालक डोरश्वरी आठपहरियाले भनिन्, ‘वडाले ७ दिने तालिमको लागि ५० हजार रुपैयाँ सहयोग गरेको थियो, तर हामीले उक्त पैसाले १५ दिने तालिम सञ्चालन गरेका छौँ ।’ उनले तालिममा स्थानीय किसानले उत्पादन गरेको कपासबाट धागो कात्ने, पुला बनाउने, धागो निकाल्नको लागि टुकी बनाउने, रुवा फिटेर धागो कात्ने र तान लगाउने सीप प्रशिक्षार्थीलाई प्रदान गरिएको बताइन् । वडा कार्यालयको ५० हजार सहयोगले ४ जना प्रशिक्षार्थीलाई ४०–४० हात लामो २ थान तान लगाएको बताए ।
खाँडी कपडाको तान बुन्नको लागि वडाले दिएको ५० हजारमध्ये २० हजारको रेली धागो र लोकल कपास खरिद गरेको डोरश्वरीले बताइन् । डोरश्वरी आफै खाँडी कपडा (तान) बुन्ने तालिमको प्रशिक्षक हुन् । उनले खाँडी कपडा बुन्दा तनौटो रेली धागोमा तान लगाएर बुनौटो कपासबाट बनेको धागोले बुन्ने गरेको बताइन् । त्यसो गर्दा खाँडी कपडा न्यानो, दह्रो र चम्किलो हुने डोरश्वरीले बताइन् । तालिममा झर्कीमाया आठपहरिया, सङ्गीता आठपहरिया, बेलकुमारी आठपहरिया र गङ्गा आठपहरिया सहभागीका भएका छन् । १५ दिने तालिममा सहभागी बेलकुमारीले भनिन्, ‘घरमा अलिअलि सिकेको थिएँ, तालिमले हात बसाउने मौका मिल्यो, अब मजाले खाँडी कपडाको लागि आफै तान हालेर बुन्न सक्छु ।’
बेलकुमारीसँगै तालिम लिन आएकी अर्की प्रशिक्षार्थी सङ्गीता आठपहरियाले भनिन्, ‘मैले पहिलो पटक तालिम लिएकी हुँ, १५ दिने तालिममा धागो कात्ने, रुवा फिटेर धागो निकाल्ने, टुकी बनाउनेलगायतको काम सिकेर तान लगाएर बुन्नसम्म सिकेँ ।’ उनले तालिम अवधि कम्तिमा पनि तीन महिनासम्मको हुनुपर्ने बताइन् । उनले हप्ता÷पन्ध्र दिनको कपडा (तान) बुन्ने तालिम प्रभावकारी नहुने बताइन् । बजेटको राम्रो प्रबन्ध गरेर तीन महिनासम्म नयाँपुस्ताका युवायुवतीहरूलाई खाँडी कपडा (तान) बुन्ने तालिम दिनसके प्रभावकारी हुने बेलकुमारीले बताइन् । तालिम धनकुटा नगरपालिका वडा नं.८ को तित्रिदाङ र मित्र टोलको बीचमा रहेको नामिन्डा डाँडामा खुल्ला आकासमुनि सञ्चालन गरिएको थियो ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आठपहरिया दिदीबहिनीहरूलाई खाँडी कपडाको (तान) बुन्ने घर बनाउने तयारी भैरहेको बताएका छन् । उनले स्थलगतरूपमा प्राविधिक पठाएर धनपा–८ को नामिन्डा डाँडामा भवनको लागि ८ लाख बराबरको योजना स्टिमेट भैसकेको बताए । बजेटको अभावले केही समयपछि सरे पनि ढिलोचाँडो तान बुन्नको लागि भवन बन्नेमा ढुक्क रहन आठपहरिया दिदीबहिनीहरूलाई नगर प्रमुख तामाङले आग्रह गरे ।