विजयपुर । धरानका खोलाजन्य सामग्रीमा धरान उपमहानगरपालिकाले रोक लगाए पनि ठेकेदारसँगको मिलेमतोमा रातारात मिक्सगिट्टी चोरीतस्करी अझै रोकिएको छैन ।

धरान–१५ महादेवचोकदेखि पश्चिमतर्फ निर्माण भइरहेको बहुवर्षे आयोजनाअन्तर्गतको ‘सहिद रोड एन्ड ड्रेन’ निर्माणका लागि सेउती खोलाबाट मिक्सगिट्टी चोरीतस्करी हुने गरेको हो । स्थानीयले व्यापक गुनासो गरेको आधारमा ब्लाष्टकर्मीले अनुगमन गर्दा पनि चोरीतस्करी भएको भेटेको छ । ब्लाष्टमा समाचार प्रकाशित भएपश्चात् एक रात चोरी बन्द भएको स्थानीयले बताए ।

स्थानीयका अनुसार एक रात चोरी भएन, त्यसपश्चात् निरन्तर चोरी भइरहेको छ । चोरी तस्कारी भइरहे पनि नियामक निकाय धरान उपमहानगरपालिका, वन कार्यालय र प्रहरी प्रशासनले नियमन गरिरहेका छैनन् । पछिल्लो समय सो क्षेत्रमा बिहान खाना खाने समय र बेलुका चोरी भइरहेको स्थानीयले बताएका छन् । ‘ट्याक्टरबाट रातारात चोरी हुँदै आएको छ । रातभर ट्याक्टर कुदेर हल्ला हुन्छ’ नाम नछाप्ने शर्तमा स्थानीयवासीहरूले भने, ‘तपाईंहरू आफै पनि आएर हेर्नुहोला । अहिले पनि राति ७–८ बजेपछि र बिहान खोलाबाट खालाजन्य सामग्री ल्याउँछन् ।’

धरान नगर प्रमुख हर्कराज राईले नियन्त्रण गर्ने बताए पनि खोलाजन्य सामग्री रातारात चोरी गरिरहेका छन् । उक्त सडक निर्माणको लागि ठेक्का भने ब्राइट बुल निर्माण सेवाले प्राप्त गरेको छ । उक्त कम्पनीले आठ करोड ९२ लाख ६२ हजार सात सय ९५ रुपैयाँमा ठेक्का पाएको हो । अहिले कम्पनीले ड्रेनको काम सकेर सडकमा ‘मिक्सगिट्टी’ बिछ्याउने काम गरिरहेको छ । उक्त क्षेत्रका स्थानीयका अनुसार बेलुका करिब ८ बजेदेखि ट्याक्टर सल्बलाउने गरेको छ ।

विगत एक सातादेखि करिब ८–९ वटा ट्याक्टरहरू परिचालित छन् । स्थानीयका अनुसार बिहान करिब ४ बजेसम्म उत्खनन् गरिन्छ । ट्याक्टर हेडलाइटसम्म पनि नबाली खोला प्रवेश गर्ने गरेको स्थलगत रिपोर्टिङका क्रममा पाइएको छ । यता ठेकेदार कम्पनीका सञ्चालक राहुल भण्डारीले निर्माण कार्यको ठेक्का आफ्नो भए पनि मिक्सगिट्टी ल्याउनका लागि अर्कै सप्लायर्सलाई आफूले जिम्मा दिएको बताएका थिए । उनले सुरुमा केराबारीबाट ल्याउने गरेको भनी दाबी गरेका थिए । तर, पछि सप्लायर्सलाई दिएकाले उसले कहाँबाट ल्याउँछ, आफूलाई थाहा नहुने बताएका थिए ।