धरान–१४ स्थित दुई धारेदेखि दक्षिणतर्फ रहेको नरसिंह भगवान् मन्दिरको जग्गा प्रकरणबारे छानबिन गर्न समिति गठन भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयालका अनुसार इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोज घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।

नापी कार्यालय धरानका प्रमुख पूर्णकुमार मुखिया र धरान उपमहानगरापालिकाको प्रतिनिधि सदस्य रहेका छन् । मालपोत कार्यालय नै संलग्न रहेको आशङ्कामा मालपोत कार्यालय प्रतिनिधि तथा प्रमुख राजेशप्रसाद पोखरेललाई छानबिन समितिमा राखिएको छैन ।

मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल भएको समाचार प्रकाशित भएपश्चात् प्रक्रिया रोक्न धरान–६ को वडा कार्यालयले मोलपोत कार्यालयलाई पत्राचार गरेको छ । नगर प्रमुख हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयलाई छानबिनका लागि पत्राचार गरेका छन् ।

धरानका आचार्य परिवारले मन्दिरलाई दान दिएको धरान–६ पानबारीमा ७ कठ्ठा १० धुर जग्गा छ । उक्त जग्गा व्यक्तिको नाममा ल्याउन वडा कार्यालयले मालपोत कार्यालयलाई सिफारिस गरेको थियो । फिल्डबुकमा कित्ता नं. १२५ को जग्गाधनी कैफियतको महलमा जग्गाधनी ‘लालबहादुर’ मात्रै लेखिएको छ । तर, धरान वडा नं. ६ ले ‘लालबहादुर थापा मगर’ र ‘लालबहादुर’ एकै व्यक्ति भएको भनी प्रमाणितसमेत गरेको थियो ।

फिल्डबुकमा लालबहादुर मात्र उल्लेख भए पनि हाल जग्गा उपभोग गरिरहेका लालबहादुरले सञ्चारकर्मीसँग जग्गा मन्दिरको नै भएको बताएका थिए । उनले जग्गा आफ्नो नाममा आए पनि मन्दिरलाई नै दिनेसमेत बताएका थिए । समाचार प्रकाशित भएपछि भने उनले भूमाफियाबाट प्रभावित भई हाल बोली फेरेका छन् ।