धरान । लामो समय बस चलाएका धरान उपमहानगरपालिका–१५ अमृत टोलका ५३ वर्षीय कृष्ण विष्ट उमेर ढल्किँदै गएपछि टेम्पो चलाउन थाले । पाँच वर्षअघिबाट पेट्रोलबाट चल्ने टेम्पो चलाउन थालेका विष्टले धरानको फोहोरमैलाबाट उत्पादन हुने ग्याँसबाट पनि टेम्पो चलाउन सकिने थाहा पाए ।
दुई वर्षअघि पेट्रोलबाट चल्ने टेम्पोलाई करिब ४० हजार खर्च गरेर ग्याँसबाट चल्ने बनाउँदा उनी निक्कै उत्साहित थिए । किनभने ग्याँसबाट चलाउन पेट्रोलको तुलनामा निक्कै सस्तो पथ्र्यो । तर, उनको उत्साह धेरै दिन टिक्न पाएन । उनी भन्छन्, ‘ग्याँसबाट चलाउन ३५ देखि ४० हजार रुपैयाँ खर्च भयो । अहिले निल्नु न ओकल्नु भएको छ ।’
धरान–८ बरगाछीका प्रदीप चौधरी टेम्पो चालक बनेको ८ वर्ष भयो । उनी पनि ग्याँसबाट टेम्पो चलाउन पाइने, त्यहाँमाथि खर्च कटौती हुने कुराले सुरुमा निक्कै खुसी भए । उनी भन्छन्, ‘तर, ग्याँसबाट टेम्पो चलाउन थालेपछि मेरो खुसी हरायो । ग्याँसले टेम्पोमा समस्यै समस्या भएको छ ।’
धरान–१५ का बाबुराम पौडेलले टेम्पोमा ग्याँस जडान गरेको एक वर्ष भयो । ६ महिनादेखि ग्याँस नपाएको उनले दुःखेसो गरे । उनी भन्छन्, ‘ग्याँसबाट टेम्पो चल्छ भन्दा खुसी भइयो । कम्पनीकै च्यानलबाट ग्याँस सिलिण्डर जडान गरेँ तर, कम्पनीमा कहिल्यै पर्याप्त ग्याँस पाइएन ।’ त्यसपछि टेम्पो कहिले ग्याँसबाट त कहिले पेट्रोलबाट चलाउनु पर्ने भयो । त्यसो गर्दा टेम्पोमा समस्या आएको उनी बताउँछन् । उनी भन्छन्, ‘वर्षदिनमा ३ पटक इन्जिन खोल्नुपर्यो ।’
प्रत्येक पटक इन्जिन खोल्दा न्यूनतम् २५ हजार रुपैयाँ खर्च हुन्छ । साथै अन्य खर्च पनि हुने गरेको चालकहरूको भनाइ छ । चालक पौडेल भन्छन्, ‘मुख्य समस्या ग्याँस नपाउनु हो ।’ ६ महिनादेखि ग्याँस नपाएको उनको भनाइ छ । फोहोरबाट उत्पादित ग्याँसबाट टेम्पो चलाउन थालेका अन्य चालकहरूको समस्या पनि उस्तै छ । ग्याँस आपूर्ति नभएपछि धेरै टेम्पो चालकले ग्याँस सिलिण्डर झिकिसकेका छन् । टेम्पो चालकहरू वेष्ट भेन्चरले भनेअनुरूप ग्याँस आपूर्ति नगरेको र ग्याँसका कारणले आर्थिक क्षति व्यहोर्नु परेकाले कानूनी उपचारमा जाने बताउँछन् । चालक कृष्ण विष्ट भन्छन्, ‘कि ग्याँस दिनुप¥यो । कि पैसा फिर्ता दिनुपर्यो ।’ उनी दुई माग पूरा नगरे कानूनी उपचारमा जाने बताउँछन् । टेम्पो चालक बाबुराम पौडेल पैसा लिएको अनि सेवा नदिएको बताउँदै भन्छन्, ‘हामी क्षतिपूर्तिका लागि कानूनी उपचारमा जानुको विकल्प छैन ।’ फोहोरबाट ग्याँस उत्पादन गर्ने गरेको भेन्चर वेस्ट एन्ड इनर्जी प्रा.लि.ले भने ४ महिनायता ग्याँस दिन नसकेको जानकारी दिएको छ । वेष्ट भेन्चरका संस्थापक विपुलराज पाण्डे भन्छन्, ‘दुई हप्तादेखि ३ सयवटा टेम्पोलाई ग्याँस पुग्ने गरी सञ्चालन गर्छौं ।’
उनीहरूले टेम्पो चलाउन प्रयोग गर्ने ग्याँस धरानकै फोहोरबाट उत्पादन गरिएको ‘कम्प्रेस्ड नेचुरल ग्याँस’ (सिएनजी) हो । हाल धरानमा २४ वटा टेम्पो सिएनजीबाटै चलिरहेका छन् । उनीहरूको अनुभवमा १ किलो ग्याँस हाल्दा धरानमा ३० किलोमिटर र तराई क्षेत्रमा ४० किलोमिटरसम्म टेम्पो चलाउन सकिन्छ । ७ वर्षअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धरान उपमहानगरपालिका र निजी क्षेत्रको ‘भेन्चर वेस्ट एण्ड इनर्जी प्रा.लि.’ बीच फोहोरबाट ग्याँस र जैविक मल उत्पादन गर्ने सम्झौता भएको थियो ।
२०७४ जेठ २५ को सम्झौताअनुसार धरान–६ को पानबारीमा १ बिघा २ कठ्ठा जग्गामा भेन्चर वेष्टले २४ करोडको लागतमा फोहोर प्रशोधन केन्द्रको स्थापना गरेको थियो । २०७८ पुस २० गते ‘धरान डे’ को अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याँस र मल उत्पादन प्लान्टको उद्घाटन गरेका थिए । तर, धरानको फोहोर व्यवस्थापनका लागि महत्वाकाङ्क्षी योजनाको त्रिपक्षीय सम्झौता भएको ७ वर्षसम्म पनि समस्या ज्यूँका त्युँ छन् ।
कानूनी समस्याका कारण भेन्चर वेष्टले लामो समय ग्याँस उत्पादन बढाउन सकेको थिएन । टेम्पो चालकहरू पर्याप्त मात्रामा ग्याँस नपाउनेदेखि बिमा नहुनेसम्मका समस्या झेल्दै आएका छन् । भेन्चरका सह–संस्थापक पाण्डे कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट स्वीकृत पाएको बताउँछन् । यातायात व्यवस्था कार्यालय सुनसरीका प्रमुख राजकुमार गुप्ता मन्त्रालयबाट स्वीकृति ल्याएपछि यातायातमा पनि दर्ता गर्न बाटो खुलेको बताउँछन् । उनी भन्छन्, ‘प्रक्रिया पूरा गरी प्रमाणका आधारमा दिने हो । हामी प्रमाण हेर्छौं । प्रक्रिया पुगेपछि दिन्छौँ ।’
हाल धरानको आधाजसो फोहोर भेन्चर वेस्टको प्लान्टमा पुर्याइन्छ । त्यसमध्ये जैविक फोहोरलाई छानेर प्रशोधन गरी सीएनजी ग्याँस निकालिन्छ । त्यही ग्याँस धरान–८ मा रहेको फिलिङ स्टेसनबाट मोडिफिकेशन गरी मल्टिफ्युल बनाइएका टेम्पोहरूले प्रयोग गर्दै आएका छन् । भेन्चर वेष्टका प्रबन्ध निर्देशक मदनकृष्ण श्रेष्ठका अनुसार ग्याँस उत्पादनपछि बचेको फोहोरलाई पुनः प्रशोधन गरी प्राङ्गारिक मल बनाएर बिक्री गरिन्छ भने नकुहिने फोहोरमध्ये पुनः प्रयोग गर्न सकिनेलाई कवाडीमा बिक्री गरिन्छ । कवाडीमा पनि बिक्री नहुने २० देखि २५ प्रतिशत फोहोर भने धरान–इटहरी सडकनजिकै जङ्गलमा रहेको ल्याण्डफिल्ड साइडमा फाल्ने गरिएको छ ।
धरान उपमहानगरपालिकाका अनुसार एक जना बराबर ०.३२ केजी (३ सय २० ग्राम) फोहोेर उत्पादन हुने तथ्याङ्क छ । २०७८ सालको जनगणनाअनुसार धरानको कुल जनसङ्ख्या १ लाख ६६ हजार ५ सय ३१ रहेको छ । जनसङ्ख्यालाई आधार मान्ने हो भने धरानमा दैनिक ५३ हजार २ सय ८९ केजी फोहोर निस्कने गर्छ । तर, धरान उपमहानगरपालिकाका वातावरण महाशाखा अधिकृत भेषराज घिमिरे धरानमा दैनिक उत्पादन हुने फोहोरको एकिन तथ्याङ्क नभएको बताउँछन् । उनका अनुसार धरानमा दैनिक करिब ४५ देखि ५० टन फोहोर निस्किन्छ । नेपालमा उत्सर्जन हुने फोहोरको ६० देखि ६५ प्रतिशत जैविक फोहोर हुने गरेको मानिन्छ । भेन्चर वेष्टका सह–संस्थापक विपुलराज पाण्डे धरानबाट ५० प्रतिशतभन्दा कम जैविक फोहोर, २५–३० प्रतिशत पुनः प्रयोग हुने र २० देखि २५ प्रतिशत पुनः प्रयोग गर्न नसकिने फोहोर प्लान्टमा आउने गरेको बताउँछन् ।
उनका अनुसार ५० टन फोहोर प्रशोधन गर्ने क्षमता भएको प्लान्टमा ३० टन जैविक र २० टन अजैविक फोहोर प्रशोधन हुने गर्दछ । उननका अनुसार प्लान्ट पूर्णरूपमा चल्दा २ हजार किलो ग्याँस उत्पादन गर्न सकिन्छ । त्यसका लागि भर्खर मात्र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट स्वीकृति लिएको सह–संस्थापक पाण्डे बताउँछन् । उनी भन्छन्, ‘दुई हप्तादेखि ३ सय टेम्पोलाई पुग्ने उत्पादन हुन्छ ।’ धरान उपमहानगरपालिकाको तथ्याङ्कमा धरानमा पेट्रोलबाट चल्ने ४५ सयभन्दा बढी टेम्पो छन् । संस्थापक पाण्डे भन्छन्, ‘३ सय टेम्पोलाई मात्र सीएनजी ग्याँसबाट दिन सक्यौ भने धरानमा टेम्पोबाट उत्सर्जन हुने कार्बन झण्डै ७ प्रतिशतले कमी हुन्छ ।’
पाण्डे सय केजी ग्याँसले दुई सय लिटर पेट्रोल प्रतिस्थापन गर्ने भएकाले वर्षमा ९ लाख लिटर पेट्रोलको १३ करोड विप्रेषण बचत हुने बताउँछन् । प्लान्टमा ग्यास निकालिसकेपछि जैविक फोहोरबाट निकालिने बायो मल प्रति २ केजीको प्याकेट ४५ देखि ६० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ग्याँस बनाउन नमिल्ने अजैविक धातु, सिसा, कागजलगायत २५ प्रतिशत प्लास्टिजन्य फोहोर पुनः प्रयोग हुने भएकाले कवाडी र पुनः प्रयोग गर्ने कम्पनीहरूलाई बिक्री गरिन्छ ।
प्लान्ट सञ्चालनमा आएपछि ल्याण्डफिल्ड साइडमा जाने फोहोर ८० प्रतिशतले कमी आउने भएकाले वातावरणीय क्षति कम हुने उनको भनाइ छ । उनी भन्छन्, ‘पुनः प्रयोग नहुने फोहोरलाई पनि कसरी प्रयोग गर्ने भन्ने सोचिरहेका छौँ ।’ उनी योजना सफल भएमा अधिकतम् ६ प्रतिशतभन्दा कम फोहोर मात्र डम्पिङ साइडमा जाने बताउँछन् । धरान उपमहानगरपालिकाले ४, ५, ६ र २० नं. वडाहरूको हाल फोहोर सङ्कलन गर्न थालेको छैन । २०४३ सालदेखि धरानले वडानम्बर १५ स्थित बाँझगरा सामुुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रलाई अस्थायी ल्याण्डफिल्ड साइडको रूपमा प्रयोग गरिरहेको छ ।
स्वामित्व हस्तान्तरण नगर्दा करोडौं घाटा
उपमहानगरापालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका सम्झौता गरेको वेष्ट भेन्चरलाई सम्पूर्ण स्वामत्वि हस्तान्तरण नगर्दा करोडौं घाटा भइरहेको छ । वातावरण महाशाखा प्रमुख अधिकृत घिमिरे उपमहानगरपालिकाले फोहोर सङ्कलनको सबै जिम्मा निजी क्षेत्र भेन्चर वेष्टलाई नै दिन सम्झौता गरेको बताउँछन् । उनी वेष्ट भेन्चरलाई जिम्मा दिएपछि फोहोर सङ्कलन र व्यवस्थापनको वार्षिक खर्च कटौती हुने बताउँछन् । हाल फोहोर उठाएबापत उपमहानगरपालिकाले वार्षिक ६६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने गरेको छ । तर, उपमहानगरपालिकाले फोेहोर व्यवस्थापनका लागि वार्षिक ४ करोड रुपैयाँ खर्च गर्दै आएको छ ।
फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकामा ७० जना सरसफाइकर्मी र ८ वटा गाडी छन् । सम्झौता भए उपमहानगरका सरसफाइकर्मी र गाडी भेन्चर वेष्टको जिम्मामा जानेछन् । महाशाखा प्रमुख घिमिरे भन्छन्, ‘फोहोर सङ्कलनदेखि व्यवस्थापन सबै उसैले गर्छ । कर्मचारी पनि उतै जान्छन् । सेवा पनि राम्रो हुन्छ ।’ वेष्ट भेन्चरका सह–संस्थापक पाण्डे सम्झौताअनुसार फोहोर सङ्कलन र व्यवस्थापनको सम्पुर्ण जिम्मा लिन अझै दुई वर्ष बाँकी रहेको बताउँछन् । उनी गाडी र करारका कर्मचारी भेन्चरमा आउने उनको भनाइ छ । स्थायी कर्मचारी भने उपमहानगर मातहतमा नै रहनेछन् । २० वर्षपश्चात् भने सम्पूर्ण सम्पत्तिसहित ग्याँस कम्पनी धरान उपमहानगरपालिकाको स्वामित्वमा आउने महाशाखा प्रमुख घिमिरे बताउँछन् ।
फोहोर सङ्कलनमा शुल्क वृद्धि
निजी क्षेत्रले फोहोर सङ्कलन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मा पाएपश्चात् शुल्क वृद्धि हुनेछ । उपमहानगरापालिकाका अनुसार फोहोर सङ्कलन बापत हाल वार्षिक ६ सय रुपैयाँ लिने गरेको छ । भेन्चरका सह–संस्थापक पाण्डेका अनुसार प्रतिमहिना एक सय पच्चीस रुपैयाँदेखि एक सय पचास रुपैयाँको प्रस्तावना पेश गरिएको छ । उनी भन्छन्, ‘वार्षिक एक हजार आठ सय हुन्छ । छिमेकी नगर इटहरीमा मासिक ३ सय २० रुपैयाँ छ ।’
६ करोड अनुदान
भेन्चर वेष्ट एण्ड इनर्जी प्रा.लि.’ ले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट ६ करोड रुपैयाँ अनुदान पाएको छ । भेन्चरका सह–संस्थापक पाण्डेका अनुसार कुल २४ करोड रुपैयाँ कम्पनी निर्माणमा खर्च भएको छ । उनी भन्छन्, ‘त्यसको २५ प्रतिशत सरकारले दिएको छ ।’ उनी सरकारले घरजग्गामा लगानी नगर्ने बताउँदै भन्छन्, ‘मेसिनमा मात्र लगानी गर्छ ।’ साधनमा ३० देखि ४० प्रतिशत सरकारले लगानी गरेको छ । यन्त्र उपकरणलाई ६ करोड दिएको उनी बताउँछन् ।
(यो आलेख धरान उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासङ्घ सुनसरीद्वारा आयोजित फेलोसिप कार्यक्रम अन्तर्गत तयार पारिएको हो ।)