नेपाली साहित्यजगत्मा लोकप्रिय कवि एवम् गीतकारसमेत रहेका श्रवण मुकारुङको बिसे नगर्चीको बयान कविता निकै चर्चित छ । भोजपुरमा जन्मिएका कवि विभिन्न पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभागका प्रमुखसमेत रहिसकेका उनका विभिन्न कृतिहरू प्रकाशित छन् । उनको देश खोज्दै जाँदा, जीवनको लय कविता सङ्ग्रह प्रकाशित छ भने हिउँको दरबार नामक गीत सङ्ग्रह, यलम्बर नाटक जस्ता कृतिहरू प्रकाशित गरिसकेका छन् । प्राज्ञ मुकारुङसँग ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंशः
कवितालाई कसरी बुझ्दा सबैभन्दा राम्रो होला ?
–कविता भनेको आराधनाको कुरा हो । यो निरन्तर चलिरहने प्रक्रिया हो । कविहरु फेरिँदै जान्छन् तर, कविता त रहिरहन्छ धर्तीमा । कवि चाहिँ मिडिएटरको रुपमा आउँछन् । एउटा प्रतिनिधि पात्रको रुपमा आउँछ । कवि भनेको चेतनालाई, ज्ञानलाई, समाजलाई अग्रगतिमा लैजाने चेतनाको संवाहक हो । चेतना त सधैँ आइरहेको हुन्छ । एउटा मेसेन्जरजस्तो भएर, हुलाकी भएर कविहरु आउने क्रम चलिरहन्छ । कविता त्यसरी नै कहिले कुन कविको माध्यमबाट आउँछ, कहिले को कविबाट आउँछ कविता । यो निरन्तर चलिरहने प्रक्रिया नै भयो । यो एउटा ठूलो क्षेत्र हो । नेपालको सन्दर्भमा पनि त्यस्तै हो । अनि कविताहरु अलिकति खँदिलो गरी आइपुग्ने समयहरु हुन्छन् । राजनीतिक, सामाजिक, सांस्कृतिक समय हुन्छ । सिङ्गै देशको, समाजको, युगको, विश्वको, विश्व चेतनाको एउटा कालखण्डहरु आउँछन् । त्यसको सापेक्षसँग जोडिएर कविताहरु, साहित्यहरु पनि सट्ट, झलक्क माथि आउँछन् । हाम्रोमा पनि कविताहरु राम्ररी आइरहेका छन् ।
पछिल्लो समय पहिचानसँग जोडिएर कवितादेखि अन्य विधामा पनि कृतिहरू आइरहेका छन् ? यसले समग्र वैश्विक परिवेशलाई कतिको प्रतिनिधित्व गरेको छ ?
–यो चैने हाम्रो मात्रै कुरा होइन । यो विश्व चेतना नै हो । पहिचानको लेखन, सवाल्टर्न राइटिङ भनेको अहिलेको विश्वचेतना नै हो । अहिलेको समसामयिक चेतना नै हो, हाम्रोमा मात्रै हैन, संसारभरि । अहिलेको राजनीति पनि त्यही हो । खासगरी यो हामीले अभ्यास गरिरहेको लोकतन्त्र छ । त्यो लोकतन्त्रले पनि सुखशान्ति दिएन विश्वलाई । त्यसपछि आएको चेतना भनेको इन्क्लुसिभ डेमोक्रेसी हो । हामी पनि अभ्यासमा छौँ । समावेशी लोकतन्त्रको एउटा फ्याक्टर भनेको चाहिँ अहिलेको साहित्यको । जो तपाईंले भन्नुभएको पहिचान, सवाल्टर्न अथवा अल्पसङ्ख्यक, उत्पीडनमा परेकाहरुलाई कसरी माथि ल्याउने, कसरी मेनस्ट्रिममा ल्याउने ? बहुमतले शासन गर्दा अल्पमत त फेरि पनि तल, विभेदमा पर्दो र’छ नि त । एउटा ठूलो समूह छुट्दो र’छ, बहुमत र अल्पमतको कारणले । त्यसैले चाहिँ लोकतन्त्रलाई पूर्ण ठीक ठाउँमा ल्याएन । इन्क्लुसिभ हुनुप¥यो, छुटाउनु भएन । सबैलाई सँगै ल्याउनु र जोड्नु प¥यो । सह–अस्तित्ववादी चिन्तन भने पनि, जे भने पनि तर, अहिलेको आएको चाहिँ मेन कुरा नै । त्यसमा संसारभरि नै लेखिन्छ । नेपालमा पनि नलेखिने कुरा भएन । नेपालमा पनि सान्दर्भिक भएर नै नेपाली साहित्यमा चर्चा पायो । नेपाली सामाज, नेपालको राजनीतिक, नेपालको ऐतिहासिक पृष्ठभूमि, आजको जीवनसँग त्यसको सम्बन्ध भएकै कारण नै त्यो साहित्य अगाडि आएको हो ।
कतिपयले आदिवासी जनजाति कविहरूले पहिचानको कुरा लेखेनन् भने चाहिँ पहिचानविरोधी कवि हो भनी आरोप पनि लगाउँछन् नि यसबारे के भन्नुहुन्छ ?
–त्यो चाहिँ ज्ञानगुनका कुरा, चेतना, विवेकका कुरासँग जोडिने कुरा भयो । यदि त्यसो भन्छन् भने त्यो पोलिटिकल कुरा भयो । पहिचानवादी मात्रै कवि हुन्छ भन्ने कुरा त गलत कुरा हो नि त । यस्तो होइन नि । कविताको डाइमेन्सन त साह्रै ठूलो छ । कविहरुको यति धेरै मार्गहरु छन् । स्वयम् कविले आफ्नो मार्ग बनाउँछ होला । एउटाले पहिचानको कुरा लेख्छ । अर्कोले अर्को कुरा लेख्छ होला अनि त्यो अझ रिच हुने हो । यतिधेरै स्पेसहरु छन् कविको लागि । उसले नयाँ कुरा खोजेर आउँदा न ठीक ठाउँमा आउँछ । अब सबैले कुरा लेख्नुपर्छ भनेर भन्नु चाहिँ सबैले बुद्धधर्म मान्नुपर्छ, सबैले मुन्धुम मानेर कुद्नुपर्छ, सबै हिन्दू हुनुपर्छ । अथवा सबै क्रिश्चियन हुनुपर्छ । यो चाहिँ गलत कुरा हो नि त । यसको बारेमा मैले बोलिरहनु परेन । बुद्धले सबै बुद्ध होस् भनेको हो र ! गुम्बा खोल् भनेर बुद्धले भनेको होइन नि । लामा हुँ भनेर भन्या त होइन नि । चेतनाको कुरा हो यो । इन्लाइटमेन्टको कुरा हो । तपाईंको प्रश्नको छोटो उत्तर चाहिँ सबैले एउटै कुरा लेख्न थाल्यो भने त्यो लेखन चाहिँ नारा, अन्धविश्वास, भक्तिमा परिणत हुन्छ । साँचो स्रष्टाले स्वतन्त्र ढङ्गले आफूले नयाँ–नयाँ कुरा लेख्दै आउँछ । नयाँ–नयाँ कुरामा प्रयत्न गर्छ । त्यही हैन, चन्द्रजी ।
अहिलेको मुभमेन्ट तथा आन्दोलन कस्तो भइरहेको छ भने मातृभाषाका साहित्यकारले पनि नेपाली भाषामा मात्रै लेखे, त्यसकारण नेपाली साहित्य धनी छैन भन्ने आम बुझाइ छ नि ?
–यस्तो हो, स्वार्थहरु हुन्छन्, राष्ट्रिय स्वार्थ हुन्छ, राज्यको स्वार्थ हुन्छ । अनि जस्तो एउटा भनुँ न साहित्यलाई पनि सांस्कृतिक मोर्चाको रुपमा लिने । त्यो एउटा पोलिटिकल कुरा पनि हो । एउटा वैचारिकी, दार्शनिकी बोकेर हिँड्ने कुरा पनि हो । अँ, जस्तो तपाईंले भनेको कुरा राष्ट्रिय स्वार्थसँग जोडिएको कुरा हो भाषा भन्नासाथ भाषाको लिमिटेसनहरु हुन्छन् । नेपाली मातृभाषाहरुका साहित्यहरु कुन स्ट्यान्डर्डमा छ भनेर रिसर्च हुन पनि बाँकी छ । रेनेसाको पिरियडमा छौँ हामी । पुनःजागरणको पिरियडमा छौँ । नेपालमा सबै भाषा, मातृभाषाहरुको स्ट्यान्डर्ड रुपले चाहिँ नेपाली साहित्यको रुपमा बताउने हो समग्रमा । यो सैद्धान्तिक कुरा भयो । यो ठीक कुरा हो । तर, व्यावहारिक रुपमा कस्तो अवस्थामा छ भन्दाखेरी नेवारी भाषाको कुन लेवलमा साहित्य छ ? अथवा तामाङ भाषामा कुन लेवलमा छ हाम्रो साहित्य ? नेपाली खस भाषामा कुन लेवलमा छ ? लिम्बूको कुन लेवलमा छ ? त्यसको गुणवेत्ताहरुको समष्टि चाहिँ नेपाली साहित्य हो भन्ने कुरा नै हो । म यसको विज्ञ त होइन । मातृभाषा भन्नासाथ अझ कसेर ल्याउँछ । त्यसका अध्येताहरुले त्यसलाई तुलनात्मक अध्ययन गर्न सक्ने, त्यसको वैशिष्ट्यलाई पत्ता लगाउन सक्ने चैने त्यो क्षेत्रको मान्छेले भन्न सक्ने कुरा हो ।
हामी चाहिँ क्रिएटरहरु, कविता लेख्ने हिँड्नेहरुले चाहिँ बोल्दाखेरी, लागेको कुरा भन्दाखेरी भावनात्मक पनि भइदिन्छ । मनोगत पनि भइदिन्छ । वस्तुपरक नभइदिन सक्छ । मलाई लागेको कुरा चाहिँ त्यो ठाउँबाट त्यसरी हेर्नुले अलि सङ्कुचन पनि दिन सक्छ । डेफिनेट्ली हामीले के कुरा चाहिँ स्वीकार गर्नुपर्छ भने मैथिली, नेवारीहरु छोडेर हेर्दा अरु मातृभाषाहरु भूईंमै छ । जमिनमै छ । क्रिएटिभ राइटिङ त तल्लै लेवलमा छ । हामी प्रारम्भिक रुपमै छौँ । त्यो अवस्थाका कारणले पनि भा हो । नेपाली भाषा, साहित्यमा जुन काम भएको छ । त्यसलाई कमजोर आँक्नु त भएन नि । त्यहाँ त सबै खाले स्रष्टाहरुले काम गरेका छौँ नि त । भाषा पो फरक होला । नेपालीमा लेखेका हौला त । म राईको छोराले लेखेको छु । राईको एथेटिकल कुरा लिएर आएको छु मैले । लिम्बूले पनि विशेष कुरा लिएर आएको छ । यो परम्परा त लामो छ नि । उहिले सुवानन्द दासदेखि अखण्ड दिलदासदेखि यो परम्परा त लामो छ । हेर्नुहुन्छ भने नेपाली भाषामा जनजातिहरु र क्षेत्रीबाहुनहरुको बराबरी योगदान छ नि । त्यो बराबर योगदान हुनुको अर्थ चाहिँ त्यहाँ हाम्रा कुराहरू पनि आएका छन् । वैरागी काइँलाले कविताबाट पनि हालेका छन् । त्यसलाई त्यसरी पनि हेर्नुपर्छ । नेपाली भाषामा लेख्ने जनजातिले नेपाली भाषामा लेख्नु साथ चाहिँ धनी भएन । पुअर भयो । समग्रमा आएन भन्ने कुरा सतही हेर्नु भनेको त्यो पोलिटिक्स हो । त्यो प्राज्ञिक कुरा होइन । एकेडेमिक कुरा होइन ।
नेपाली कवितामा उत्तर आधुनिकतावाद कत्तिको प्रयोगमा आएको पाउनुहुन्छ ?
–उत्तर आधुनिकतावाद भनेको एकदमै भेग विषय हो । यो सैद्धान्तिक कुरा हो । यसमाथि धेरै बोल्न सक्ने मेरो हैसियत होइन । म त्यो क्षेत्रको होइन । म कवि मात्रै हो । तर, जस्तो सवाल्टर्नको कुरा गर्नुहुन्छ । पहिचानको कुरा गर्नुहुन्छ । महिलाको राइटिङको कुरा गर्नुहुन्छ । पर्यावरण राइटिङको कुरा गर्नुहुन्छ भने यो सबै उत्तर आधुनिकवादभित्र पर्ने कम्पोनेन्ट हो । दलितको कुरा, एलजीबिटीआइक्यूको लिटरेचरहरु नेपालीमा धेरै आइसकेको छ । नेपालीमा के आएको छैन भन्नु न । सबैकुरा पोष्ट मोडार्निजमको कुरा त हो नि ।
तपार्इंको आगामी कृति पाठकले कहिले पाउँछन् होला ?
–एकदमै चाँडै नै आउँछ । दुई–चारवटा कविता हुने बित्तिकै पुग्छ । मेरा लामा–लामा कविता छन् । कविता कृति दुब्लो होला कि भन्ने चिन्ता मात्रै हो । अब धेरै छैन । दुई–चारवटा पुग्नासाथ प्रकाशकले छापिहाल्छन् ।