भद्रपुर । झापाका दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरिएको छ । यसअघि कनकाई नदीमा मात्र बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो ।

जल तथा मौसम विज्ञान विभागद्वारा पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनुभन्दा पहिले नै जानकारी दिने जनाइएको छ । बिरिङका लागि बुधबारेमा र निन्दाका लागि बाहुनडाँगीमा वर्षामापन उपकरण राखिएको छ । ती उपकरणको सहायताले नदीको मुहानमा कति वर्षा भइरहेको छ भन्ने जानकारी सङ्कलन हुनेछ । नदीको पानीको बहाव र वर्षाको मात्रा जिल्ला प्रशासन कार्यालय झापामा राखिएको सूचना केन्द्रबाट हेर्न सकिने नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले जानकारी दिए । बाढीमापन तथा वर्षामापन प्रणालीले बाढीका कारण उत्पन्न हुने विपत् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याउने उनले बताए ।  विगत लामो समयदेखि कनकाई नदीमा यो प्रणालीमार्फत् बाढीको क्षति न्यूनीकरण भइरहेको उनले जानकारी दिए ।

नदी जोखिम न्यूनीकरण आयोजनामार्फत् पूर्व–पश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण जडान धमाधम भइरहेको उनले बताए । झापामा कनकाई, बिरिङ, निन्दा, मेची, रतुवा र मावा नदीको बाढीले बर्सेनि ठूलो क्षति पुर्याउँदै आएको छ । कनकाईमा जडान गरिएको उपकरणले दिने जानकारीका आधारमा नदी आसपासका बासिन्दालाई सतर्कताका लागि मोबाइल एसएमएस सन्देश पठाउने गरिएको छ ।

बिरिङ र निन्दा नदीको आसपासका तटीय क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई नदीको जलसतह बढेको जानकारी एसएमएसबाट बेलैमा दिने व्यवस्था हुने विभागले जनाएको ढकालको भनाइ छ । यसो भएमा बाढीबाट हुने जनधनको क्षति न्यूनीकरणमा ठूलो सघाउ पुग्छ । विभागले राजमार्गका मावा, रतुवा नदीमा समेत सो प्रणाली जडान गरिरहेको उनले जानकारी दिए ।

प्रणालीमा जडित स्वचालित उपकरणले वर्षा सुरु भएपछि १० मिनेटको अन्तरमा नदीमा बगिरहेको जलस्तरको बारेमा काठमाडौँ र झापास्थित सूचना केन्द्रमा जानकारी पठाउने गर्छ । त्यही जानकारीको विश्लेषण गरेर बाढी आउने सम्भावना बारे नदीको तटीय क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारणलाई सतर्कताको सन्देश प्रेषण गरिने उनले जानकारी दिए ।