बराहक्षेत्र नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र भवानीस्थानको जीर्णोद्वारपछि चिटिक्कै देखिएको छ ।
बराहक्षेत्र नगरपालिकाको पहाडी क्षेत्र सूर्यकुण्डमा रहेको मनोरम स्थलमा अवस्थित मन्दिर चिटिक्कै परेपछि धार्मिक तीर्थालु र आन्तरिक पर्यटकको आकर्षण बढ्ने विश्वास लिइएको छ ।
बराहक्षेत्र वडा नं. १ को गौरवको योजनाअन्तर्गत २५ लाख रुपैयाँ बजेट विनियोजनपछि मन्दिर निर्माण समितिले श्रमदानसहित मन्दिरको पुनर्निर्माण गरेको वडाध्यक्ष किसन थापाले जानकारी दिए ।
मन्दिरमा रङ्गरोगन गरी टायल्सलगायतका सौन्दर्यीकरणको कामसमेत सुरु गरिएको छ । मन्दिर निर्माणसँगै सिमे, भूमे, सन्सारी देवीदेउताका थानसमेत निर्माण गरिएको मन्दिरका पुजारीसमेत रहेका वडासदस्य दीपक राईले जानकारी दिए ।
यस्तो छ भवानीस्थानको कथा
भोजपुरबाट बसाइँ सरी आउने क्रममा वान्तवा राईको सोक्तिम पाछाका एक परिवार हालको वराहक्षेत्रस्थित चौदण्डा मूल गाउँ तीनधारेमा आइपुग्यो । घना जङ्गल रहेको सो क्षेत्र फडाँनी गरे । वरिपरि जलाशय रहेको क्षेत्रमा ठूलाठूला पोखरी थिए । पोखरीमा नागहरू बस्दथे । त्यस जङ्गलमा सर्प, हात्तीलगायतका अनौठा जनावरहरू देखा परे । जङ्गल फँडानी गरेर घर बनाएका घरमूलीले अनौठो सपना देखे ।
सपनामा देवीको मन्दिर लुप्त अवस्थामा रहेको र त्यसलाई उद्धार गरी पूजा आरधना गर्नुपर्ने सपनामा वरदान पाए । सपनाकै आधारमा ती राई घरमूलीले देवीको उत्थान गरे । देवीको मन्दिरलाई भवानी स्थान भन्न थालियो । स्थानीयका अनुसार त्यहाँ रहेका ठूलाठूला पोखरीहरू केही दशकसम्म थिए । तर पछि पानी सुक्दै गयो । पोखरी पुरिँदै गए । त्यसका केही अवशेषहरू अहिले पनि देख्न सकिन्छ । तीनधारेमा अझै पनि स्थानीयले नागको पूजा गर्छन् । भवानीस्थानको मन्दिर वर्षमा एकपटक मात्र वैशाख पूर्णिमाका दिन खुला हुने गर्छ ।
वैशाखे पूर्णिमाका दिन बोका, राँगा, हाँस, परेवालगायत पशुपन्छीको बली दिई भाकल बुझाउने गरिन्छ । किम्बदन्ती र शास्त्रीय प्रमाणका आधारमा भवानी स्थानको उपस्थिति रहे पनि व्याख्या भने फरक ढङ्गले गरेको पाइन्छ ।
भवानी स्थानलाई वराह पुराणले आदि वराही भगवती भनेको छ । अर्चलेमा अवस्थित यो मन्दिरका बारेमा वराह पुराणमा लेखिएअनुसार विष्णु भगवानले वराहको रूप धारण गरेर वराह कुट पर्वतमा पुगे । त्यसबेला वराह भगवानको साथमा महालक्ष्मी वराही अवतारमा थिइन् । र, यो स्थानमा विराजमान भइन् । शास्त्रमा समेत उल्लेख र पुरातात्विक महत्व बोकेको यो क्षेत्रको पुनर्संरचना र पुर्निर्माण आवश्यक रहेको स्थानीय बताउँछन् । वराहक्षेत्रको धार्मिक र सांस्कृतिक पर्यटनमा यस्ता सम्पदाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीयको मत छ ।
इतिहासअनुसार भवानीस्थान गढीका रुपमा विकास भएको पाइन्छ । सेनवंशी राजा जसले आफूलाई 'हिन्दूपति राजा' रुपमा चिनाएका थिए उनै हरिहर सेनको दरबारसँग सम्बन्धी लालकोट गढी (भवानीस्थान गढी) को मौलोको रुपमा समेत भवानीस्थान गढीलाई लिने गरिन्छ ।
१३ औं पुस्ताका पुजारी
वि.सं. १९९२ सालमा जन्मेका पुजारी शेरबहादुर राईले ८४ वर्षको उमेरसम्म मन्दिरको सेवा गरे । उनको देहावसानपछि उनका छोरा दीपक राई हाल मन्दिरको पुजारी छन् । उनी बराहक्षेत्र १ का वडासदस्यसमेत हुन् ।
उनले १४ वर्ष २ महिना नेपाली सेनामा जागिर खाएर उपादानमा अवकाश लिए । पुस्तौंदेखि भवानी थान मन्दिरको पुजारी परम्परा पुस्तान्तरण हुँदै आएकाले दीपकले परम्परादेखि आफ्ना परिवारले गर्दै आएको मन्दिर र देवीको सेवा गर्नुपर्ने भयो । ‘हाम्रो परिवारबाटै पुजारी भएको झण्डै १३ पुस्ता भइसक्यो,’ दीपकले भने, ‘पुस्तान्तरण हुने प्रक्रिया ठ्याक्कै एउटै छैन, मैले गर्न सकिनँ भने मेरो भाइले गर्छ वा परिवारबाटै अन्यले गर्छन् ।’
पछिल्ला केही पुस्तादेखि पुजारीहरूको तथ्याङ्क राख्न समेत उनीहरूको प्रतिमा स्थापित गरेर मन्दिर निर्माण गर्ने चलन चलेको दीपक बताउँछन् ।
२० वर्षपछि पुनर्निर्माण
२० वर्ष अघिदेखि पुनर्निर्माण हुन नसकेको मन्दिर चालु आर्थिक वर्षमा जीर्णोद्वारको काम भएको छ ।
मन्दिरको आय, आर्थिक अवस्था र सहयोग राम्रो नभएका कारण मन्दिर जीर्ण अवस्थामा रहेको थियो । स्थानीय सरकार आएपछि वडा कार्यालयबाट मन्दिर जीर्णोद्वार र पुनर्निर्माणका लागि केही रकम विनियोजन भए पनि मन्दिरको कायाकल्प हुन सकेको थिएन । वडाले गौरवको योजनामा मन्दिर पुनर्निर्माण राखेपछि मन्दिर चिटिक्कै भएको छ ।
आगामी बिहीबार वैशाखे पूर्णिमाको अवसरमा जीर्णोद्वार सम्पन्न मन्दिरको समुद्घाटन बराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्कीले गर्ने योजना रहेको छ ।
दशकौंदेखि संरक्षणको अभावमा रहेको भवानीस्थान चालुआर्थिक वर्षमा वडाको गौरवको योजनामा राखेर जीर्णोद्वार गरिएको हो ।