इतिहासः
आज वैशाख शुक्ल पूर्णिमा, महामानव गौतम बुद्घको जन्म भएको दिन । ईशापूर्व ५६३ मा कपिलवस्तुको लुम्बिनीमा वैशाख शुक्ल पूर्णिमाको दिन सिद्घार्थ गौतमको जन्म भएको थियो । उनका पिता राजा शुद्घोधन थिए भने माता रानी मायादेवी थिइन् । कुल रीति परम्परा अनुसार पाँचौं दिनमा राजा शुद्घोधनले नामकरण संस्कारका लागि निकै ठूलो भव्य समारोह आयोजना गरेका थिए । सो समारोहमा गन्यमान्य व्यक्तिहरूका साथै विद्वान ऋषिमुनिहरूलाई पनि आमन्त्रण गरेका थिए ।  सबैले निकै आकर्षक देखिएका गौतम बुद्धलाई नियालेर हेर्थे, उनको अनुहार हेरेर मन्त्रमुग्ध हुन्थे । धेरैले यिनी सम्राट बन्ने भविष्यवाणी र कामना गरे । राजा शुद्घोधन मख्ख थिए । त्रिवेदले पूर्ण विद्वान ब्राह्मणहरूले सबै मनोकामनाले पूर्ण हुने अर्थमा यिनलाई ‘सर्वार्थसिद्घ’ नाम दिए तर, पछि यही नामबाट छोटकरीमा उनलाई ‘सिद्घार्थ’ भन्न थालियो ।

सिद्धार्थ गौतम सानै हुँदा उनकी माता मायादेवीको मृत्यु भयो । त्यसपछि उनको लालनपालन उनकी कान्छी आमा प्रजावतीबाट हुन थाल्यो । उनी सानैदेखि दयालु थिए । सबै प्राणीलाई माया गर्थे । उनी राजकुमार भएकाले घोडामा सवार हुन र वाण हान्न पनि यिनी सिपालु भए । शिक्षादीक्षामा पोख्त उनको १६ वर्षको उमेरमा राजकुमारी यशोधरासँग विवाह भयो । यशोधराबाट उनको छोरोको जन्म भयो, जसको नाम राहुल राखियो । यिनले केही समयसम्म राजसी जीवन बिताए तापनि मौका पाउनासाथ यिनी एकान्तप्रिय पनि बन्ने गर्दथे । यिनले दरबारबाट बाहिर निस्कने क्रममा रोगी, बूढो, मान्छेको लास देखेको र त्यसबाट धेरैले पीडा पाएको अनि त्यस्तो अवस्था सबैले भोग्नुपर्ने उनले बोध गरेका थिए । कुनै पीडा विना बसेका सन्यासीलाई पनि उनले देखेका थिए ।

बुद्घत्व
दरबारको अति सुखसयलमा हुर्केका यिनलाई दुःख के हो भन्ने कुरा थाहै थिएन । मानिस किन बूढो हुन्छ, रोगी हुन्छ, मर्छ भन्ने कारण र सत्य कुरा थाहा पाउन उनी निकै विचलित भए । यही कुरा थाहा पाउन यिनी २९ वर्षको उमेरमा दरबार छोडेर हिँडे । सत्यको खोजी गर्न उनले दरबारको सुखसयल, पारिवारिक सुखसुविधा सबै त्यागेर छ वर्षसम्म कठोर परिश्रमका साथ तपश्या गर्न थाले । यसबाट पनि उनले सत्य कुरा पत्ता लगाउन सकेनन् । यसपछि ३५ वर्षको उमेरमा उनले मध्यम्मार्ग अपनाएर तपश्या गर्न थाले । यसै क्रममा भारतको गयामा पीपलको रुखमुनि बसेर तपश्या गर्दा वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्घत्व (ज्ञान) प्राप्त गरे । मान्छेको असीम इच्छा र तृष्णा नै दुःखको कारण हो भन्ने कुरा बुझे । यसदिन पछि भने उनलाई गौतम बुद्घ भनिन थालियो । यसै नामबाट उनी विश्व प्रख्यात भए । उनले सुरुमा पाँचजना शिष्यहरूलाई वैशाख शुक्ल पूर्णिमाकै दिन सारनाथमा आफ्ना उपदेशहरू दिए । त्यसपछि विभिन्न देश घुम्दै आफ्नो उपदेश दिन थाले । विस्तारै विस्तारै उनका शिष्यहरू बढ्न थाले र उनको उपदेश पनि संसार भर फैलिन थाल्यो ।

महापरिनिर्वाण
यसरी बुद्घले आफ्नो उपदेश सुनाउँदै संसारलाई दुःखबाट मुक्त हुने उपाय सुझाउँदै ईशापूर्व ४८३ मा ८० वर्षको उमेरमा वैशाख शुक्ल पूर्णिमाकै दिन भारतको कुशीनगरमा उनको मृत्यु भयो । उनको मृत्युलाई महापरिनिर्वाण प्राप्त भएको भनिन्छ । बौद्घ धर्मका संस्थापक गौतम बुद्घलाई नेपालका राष्ट्रिय विभूति, एशियाका तारा, दश अवतारहरूमध्ये एक अवतार, अहिंसावादी, मानव धर्म र सेवामा समर्पित तथा महामानवको रूपमा चिनिन्छ ।

उनका उपदेशका उपयोगिता
आजभन्दा करिब २५ सय वर्षअघि जन्मेका गौतम बुद्धका उपदेश आजको युगमा समेत समयसापेक्ष भएको छ । उनका उपदेश अन्तर्गत चार आर्य सत्य छन्ः १.संसारमा दुःख छ । २.दुःखका कारणहरू छन् । ३.दुःखका कारणलाई हटाउन सकिन्छ । ४. दुःखका कारण हटाउने उपाय छन् ।

मानवका दुःख भनेको कहिल्यै पूरा हुन नसक्ने मृगतृष्णा, आशा र आकाङ्क्षाहरू हुन् । एकपछि अर्को इच्छा, आकाङ्क्षा र तृष्णा बढ्दै जान्छ । मन परेको मान्छेसँग बस्न नपाउनु, मन नपरेका मान्छेसँग बस्नु, आफ्ना सबै इच्छाहरू पूरा गर्न नसक्नु, अन्तहीन इच्छा र तृष्णा हुनु, आफ्नो इच्छा र तृष्णा पूरा गर्न लागिपरिरहनु, परिवारको साथ सहयोग नपाउनु, मन परेकासँग बिछोेड हुनु, आफ्नो काम इमान्दारिताका साथ पूरा नगर्नु, अत्यधिक धन सम्पत्तिको पछि लाग्नु, हिंसामा लाग्नु, रोगव्याधी लाग्नु आदि ।

उनले यी सबै दुःखलाई हटाउन अष्टाङ्ग मार्ग प्रतिपादन गरेका छन्ः १.सम्यक दृष्टि २. सम्यक सङ्कल्प ३. सम्यक वचन ४. सम्यक कर्म ५. सम्यक जीविका ६. सम्यक व्यायाम ७. सम्यक स्मृति र ८. सम्यक समाधि । उनले दिएको पञ्चशीलको उपदेश पनि विश्व विख्यात छ । ती पञ्चशील हुन्ः १.चोरी नगर्नु २. झुठो नबोल्नु ३. यौन व्यभिचार नगर्नु ४. मद्यपान नगर्नु र ५. हिंसा नगर्नु ।

आजको विश्वमा विभिन्न देशहरूमा एक–अर्काको अस्तित्व नस्वीकारेर, मनमुटाव भएर लडाइँ भइरहेको छ । यसले विश्वलाई नै असर पारेको छ । त्यस्तै नेपालमा पनि अकुत सम्पत्ति कमाउन जनताको पैसा ठगी गर्ने आदि जस्ता कारणले जनताहरूमा निकै समस्या उब्जेको छ । नेपालमा समेत घटेका बलात्कार, हत्या आदि जस्ता कुकृत्य चरम् अनैतिक यौन व्यभिचार तथा हिंसाका कारण हुन्, जसले पारिवारिक शान्ति र नियमित जीवन यापनमा निकै ठूलो समस्या सिर्जना भएको छ ।  विभिन्न कारणले पति पत्नीका बीचमा सम्बन्ध विच्छेदका घटनाहरू बढ्दै गएका छन् । यसले छोराछोरीहरूको सहज जीवनयापनमा असर पार्न  सक्छ भने तिनीहरूमा मनोवैज्ञानिक असर पर्दछ । तिनीहरूको शिक्षादीक्षा र प्रगतिमा बाधा पार्न सक्छ । यी सबैकुरा निर्मूल पार्न शान्त भएर बुद्धका सम्पूर्ण उपदेशहरू सबैले मनन् गरेर मात्र पुग्दैन, यसलाई आत्मसात गरेर सबैले आफ्नो जीवनमा अनिवार्यरूपले कार्यान्वयनसमेत गर्नु पर्छ । आजको संसारमा आज पनि उनले दिएका उपदेशहरूको धेरै महŒव र उपयोगिता रहेको छ ।

प्रचार–प्रसार
भारतका चक्रवर्ती सम्राट अशोकले बुद्घ धर्मलाई आत्मसात गरे र आफ्नो परिवारलाई पनि गर्न लगाए । उनीलगायत उनका परिवारले पनि बुद्घको ज्ञान उपदेशलाई चारैतिर फैलाए । लुम्बिनीमा भएको अशोक स्तम्भ यसैको एक ज्वलन्त नमुना हो । बौद्घ धर्म मान्ने र बुद्घ जयन्ती मनाउने नेपालमा मात्र होइन, आजका दिन श्रीलङ्का, चीन, भारत, थाइल्याण्ड, जापान, अमेरिकाको कोलोराडोलगायत बौद्घ धर्मका अनुयायी तथा नेपालीहरूको बसोबास भएका विभिन्न देशमा बुद्घ जयन्ती तथा बुद्ध पूर्णिमा धुमधामका साथ मनाइन्छ ।

उपसंहार
बुद्घ जयन्तीको अवसरमा आफूमा भएको घमण्ड त्यागेर बुद्घको उपदेश, उद्गारहरू सबैले मनन् गरुन् । एकैचोटी सबै परिवर्तन हुन सम्भव नहोला तथापि सबैले आजैबाट अनिवार्यरूपमा आफ्नो जीवनमा यस पटक कम्तीमा पनि बुद्धका पञ्चशीललाई अपनाऔं र कार्यान्वयन गरेर हेरौं । यहाँहरूले सुख–शान्ती र अलौकिक आनन्दको अनुभूति अवश्य नै गर्न सक्नुहुनेछ ।२५६८ औं बुद्ध पूर्णिमाको अवसरमा यो स्तम्भकारको कामना यही छ ।