धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरसफाइ र सुरक्षा श्रमिकहरुले प्रतिष्ठानका पदाधिकारीहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिष्ठानले कटौती गरेको हेल्थकार्ड सुविधालाई निरन्तरता गरिनुपर्ने, गत साउनदेखि वृद्धि भएको न्युनतम पारिश्रमिक तत्काल पाउनु पर्ने र बाँकी रहेको पुरानो तलब उपलब्ध गराउनु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको हो । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बध नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन र नेपाल सफाइ कर्मचारी युनियनको तर्फबाट प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार सूर्यप्रसाद संग्रौला, निर्देशक जगतनारायण प्रसाद र शिक्षाध्यक्ष डा. सञ्जीव शर्मालाई तीनबुँदे ज्ञापनपत्र बुझाएको हो । 

जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले ज्ञापनपत्र हस्तान्तरण गर्दै प्रतिष्ठान स्थापनाकालदेखि सेवा गर्दै आइरहेका श्रमिकहरुलाई प्रतिष्ठानले सेवासुविधाहरु कटौती गरेर विभेद गरेको बताए । 

श्रमिकहरूको अधिकारका लागि जिफन्टले पटक पटकको आन्दोलन र सबैको सहयोगमा प्राप्त भएको हेल्थ कार्ड लगायतका उपलब्धिहरू क्रमशः खोसिँदै गइरहेकाले श्रमिकहरूको समस्याको सम्बोधन नभए पुनः आन्दोलन गरिने चेतावनी प्रतिष्ठानका पदाधिकारीहरू समक्ष राखेका थिए । 

वर्षौँदेखि श्रमिकहरुले उपयोग गर्दै आइरहेको हेल्थ कार्ड २०८० साउन १ गतेदेखि बन्द गरिँदा श्रमिकहरू र तिनको आश्रित परिवारमा गम्भीर असर परेकाले तत्काल निरन्तरता दिन ज्ञापनपत्रका उल्लेख गरिएको छ ।

त्यस्तै २०८० साल साउन १ गतेदेखि लागुहुने गरि न्युनतम पारिश्रमिकमा सरकारले वृद्धि गरेको २ हजार तीन सय तलब अहिलेसम्म श्रमिकहरूलाई नदिएर श्रमिकहरूको श्रमको शोषण गरिरहेकाले तत्काल बढेको रकम उपलब्ध गराउनु पर्ने उल्लेख छ । 

प्रतिष्ठानमा केटिएम सेक्युरिटी कम्पनीले ठेक्का सम्झौतामा काम गरेको समयमा मजदुरहरूले पाउनुपर्ने १ करोड ५६ लाख ३४ हजार ३ सय १३ रुपैया ३६ पैसा तलब लगायतका शीर्षकको पैसा श्रमिकहरूलाई उपलब्ध गराउन श्रम अदालतले फैसला गरेको करिब चार वर्ष हुनै लाग्दा मजदुरहरूले पैसा नपाएकोले केटिएम सेक्युरिटी कम्पनीलाई प्रतिष्ठानले भुक्तान गुर्नपर्ने रकममध्येबाट कट्टा गरी पैसा उपलब्ध गराइनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ । 

ज्ञापनपत्र ग्रहण गर्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरीले श्रमिकहरूले आन्दोलन गर्न नपर्नेगरी तत्काल विषयहरूको सम्बोधन गरिने बताए । आफू उपकुलपति हुनु अघिका विषय भएकाले आफूलाई श्रमिकहरूको सेवा सुविधाहरू कटौती गरिएको बारेमा जानकारी नभएकाले समस्या लामो समय लम्बिएकाले तत्काल यस विषयमा निर्णय गर्ने गिरीले बताए । 

हेल्थकार्डका विषय कुरा राख्दै उपकुलपति गरिले सबै कर्मचारीहरूलाई विमाको दायरामा लाने प्रतिष्ठानको योजना रहेको उनले जानाए । ‘केटीएम सेक्युरिटिका प्रमुखलाई हामीले पटक पटक बोलाएकाछौं आउनुभएको छैन अब श्रम अदालतको फैसला र कानुनी क्षेत्राधिकार र परामर्श गरेर मजदुरको पैसा रोक्दैनौं र वृद्धि भएको तलब मजदुरहरूले पाउने व्यवस्था पनि तत्काल गर्छौ’ उपकुलपति गिरीले भने । 

पदाधिकारीलाई ज्ञापनपत्र बुझाउन जिफन्टका नेता भीमज्वाला राईसहित सफाइ कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यामकला मग्राती, धरान नगर अध्यक्ष गणेश योङहाङ, जिफन्ट धरान नगर अध्यक्ष शमशेर बर्देवा, सुरक्षा श्रमिक युनियनका अध्यक्ष जनक सुनुवारलगायतको उपस्थिति थियो ।