कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० को छैटौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ।

प्रदेश प्रमुख खापुङलाई नेपालको संविधाको धारा २९४ को उपधारा (३) बमोजिम परीक्षक कार्यालयका नायब महालेखापरीक्षक श्रीकुमार राईले छैटौँ वार्षिक प्रतिवेदन पेस गरेको हो। प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै आगामी दिनमा प्रदेश सभाले प्रतिवेदनमाथि छलफल गर्ने उल्लेख गर्दै मुलुकको आर्थिक स्थिति सुदृढ गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। 

उनले मुलुकमा जति धेरै बेरुजु घटाउन सकिन्छ त्यति नै धेरै आर्थिक समृद्धि कायम हुने विचार व्यक्त गरेका छन्। कार्यालका नायब महालेखापरीक्षक  राईले प्रदेश मन्त्रालय तथा निकाय गरी एक सय ८० कार्यालयको ४७ अर्ब ९३ करोड एक लाख १५ हजार र १८ समिति तथा अन्य संस्थाको रु चार अर्ब ८५ करोड ७० लाख १९ हजार गरी जम्मा ५२ अर्ब ७८ करोड ७१ लाख ३४ हजारको लेखापरीक्षण सम्पन्न गरिएको जानकारी दिएका छन्।

प्रतिवेदनमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार प्रदेशका सरकारी कार्यालय, समिति तथा अन्य संस्थाको आव २०७९/८० मा फछ्र्यौट गर्नुपर्ने बेरुजु  एक अर्ब ३१ करोड ७६ लाख १० हजार रहेको छ। समग्र रुपमा प्रदेश अन्तरगतका कार्यालयको कूल बेरुजु दुई दशमलव ५६ प्रतिशत रहेको तथ्याङ्कमा जनाइएको छ।

प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालयमा ६१ दशमलव ३० प्रतिशत बेरुजु रहेको छ भने सबैभन्दा कम मुख्य न्यायाधिवक्ताको कार्यालयको शून्य दशमलव शून्य एक प्रतिशत रहेको छ। महालेखा  परीक्षकले गत वर्षसम्म प्रदेशका पाँच प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेको भए पनि प्रदेशसभाको सार्वजनिक लेखा समितिमा दफाबार छलफल नभएको देखिएकाले यथाशक्य छिटो छलफल गराइ टुङ्ग्याउनु प्रतिवेदनमा उल्लेख गरिएको छ ।