विजयपुर । नेपाली काङ्ग्रेसनिकट पत्रकारको संस्था प्रेस युनियन सुनसरीले नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको कार्यालयमा तालाबन्दी गरेको छ ।

बुधबार युनियन सुनसरीले महासङ्घको सदस्यता शुद्धीकरणमा असन्तुष्ट बन्दै तालाबन्दी गरेको हो । प्रेस युनियनका सुनसरी जिल्ला सचिव बाबुराम कार्कीको नेतृत्वमा गएको समूहले धरान–१३ अमरहाटस्थित कार्यालयमा तालाबन्दी गरेको छ । महासङ्घको चुनाव गर्न जारी सदस्यता नामावलीमा रातारात गैरपत्रकारको नाम थपिएको, कार्यरत पत्रकारको नाम हटाइएको आरोप युनियनको छ ।

सचिव कार्कीका अनुसार शुद्धीकरणका लागि परेका उजुरी अध्ययन भई जेठ २८ गते टुङ्गो लगाइएको अन्तिम नामावलीमा रातारात हेरफेर गर्दै जिल्ला र प्रदेशबाट सिफारिस नै नभएका नाम थप्ने काम भएको छ । उनले भने, ‘त्यसको विरोधमा तालाबन्दी गरिएको हो ।’

पत्रकार महासङ्घको विधानअनुसार सुनसरी जिल्ला शाखाले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै प्रक्रिया विधान मिचेर जारी गरिएको सूची प्रेस युनियन सुनसरी शाखाले नमान्ने सचिव कार्कीले बताए । यु

नियन सुनसरीका कोषाध्यक्ष मात्रिकाप्रसाद नेपालले जिल्ला शाखाले सिफारिस गरी पठाएअनुसार सुधार नभएसम्म सङ्गठनले विरोध जारी राख्ने बताए । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखामा तालाबन्दी गरेको जानकारी गराउँदै तालाबन्दीबाट उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति हुने युनियनले जनाएको छ ।