भद्रपुर । झापा बिर्तामोड नगरपालिका–४ शिवनगर टोलकी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्यामा संलग्न पाँचजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुरमा बिहीबार पत्रकार सम्मेलन गरेर वृद्धा विष्टको हत्या भएको २२ दिनपछि अपराधमा संलग्नलाई सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न बिर्तामोड–४ का २२ वर्षीय गङ्गाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगीरथ राजवंशी र ४३ वर्षीय धनबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आरोपित धनबहादुर चोरीको सामान किन्ने पसलका सञ्चालक हुन् भने घटनाका मुख्य योजनाकार गङ्गाप्रसादसहित चारजना विष्टका छिमेकी भएको जिल्लाका एसपी मिलन केसीले जानकारी दिए । अर्जुनधारा–६ का कामीको हनुमान सुन पसल भन्ने रहेको छ ।
त्यस्तै महेश घटनाका मतियार रहेको, गङ्गाप्रसादकी पत्नी वर्षा चोरेको सामान लुकाउन सहयोगी भएको र भगीरथ चोरीको सामान बेच्न सहयोगी रहेको एसपी केसीले बताए । उनीहरूको साथबाट मृतक विष्टको सुनको चुरा, सिक्री, कानको टप, जन्तर लगायत सुनका सामग्री बरामद गरिएको उनको भनाइ छ । राजवंशीले ट्युबवेलको छेउमा उक्त सुनका सामग्री माटोमा गाडेको अवस्थामा प्रहरीले भेटेको जनाएको छ ।
करिब तीन कठ्ठा जग्गामा कम्पाउन्ड गरेर एकतले घरमा छोरीको छोरा नातिसँग बस्दै आएकी विष्टको वैशाख २६ गते हत्या भएको थियो । विष्ट घरमा एक्लै भएको अवस्थामा उनी मृत भेटिएकी थिइन् । उनको रड तथा खन्तीले हानेर हत्या गरिएको प्रहरीले सोही समय पुष्टि गरेको थियो ।
प्रहरीका अनुसार मृतकको शव भूइँमा रगतमा लत्पतिएको र कोल्टे परेको अवस्थामा भेटिएको थियो । एकल महिला विष्टका जेठा छोराको परिवार अमेरिका र कान्छो छोराको परिवार काठमाडौँमा बस्दै आएको प्रहरीले जनाएको छ ।