धरान । झापाको शिवसताक्षी नगरपालिका वडानम्बर १ मा कार्यरत वडा सचिवलाई सेवाग्राहीले बुधबार हातपात गरेका छन् ।
आफ्नो आफन्तको जन्मदर्तामा थर सच्याउन पुगेका सेवाग्राही सोमनाथ बजगाईं र घनश्याम बजगाईंले वडा सचिव नन्दीकेशर भट्टराईलाई हातपात गरेका हुन् । सेवाग्राही दाजुभाइले थर सच्याउने सामान्य कुरा भएको भन्दै आफूमाथि हातपात गरेको वडासचिव भट्टराईले बताए । उनले आफूमाथि वडा कार्यालयको चमेना गृहमा कुटपिट गरेको जानकारी दिएको सतासी साप्ताहिकका सम्पादक सेलिङ केसीले ब्लाष्टलाई बताए । आरोपित दाजुभाइलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय झिलझिलेले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
वडा सचिव भट्टराईले नाम सच्याउने पूर्ण अधिकार आफूसित नभएको र व्यावहारिक रूपमा सर्जमिन गरेर मात्रै थर सच्याइदिने भनेपछि ‘सरकारको तलब खाएपछि जनताको काम आजै गर्नुपर्छ’ भन्दै जङ्गिएको र चमेना गृहमा पुगेपछि कुटपिट गरेको बताए । पीडित भट्टराईले आफू दबाव र धम्कीको भरमा काम गर्न नसक्ने भन्दा चिया खान गएको अवस्थामा दुवै मिलेर कुटेको बताए । कुटपिटबाट घाइते सचिव भट्टराईको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
आवेदकले नौ वर्षअगाडि बनाएको जन्मदर्तामा बाबुको थरबाट जन्मदर्ता बनेको थियो । उक्त जन्मदर्ता तत्कालीन धरमपुर गाविस सचिव पूर्णशम्शेर कुँवरले बनाइदिएका थिए । आवेदक बजगाईंले नानीको जन्मदर्तामा आमाको थर पनि समावेश गर्न माग गर्दै निवेदन दिएका थिए । बजगाईंकी श्रीमती कुइँकेल हुन् । जन्मदर्तामा कुइँकेल थर समावेशका लागि बजगाईंले वडाध्यक्ष लक्ष्मी चेम्जोङसमक्ष निवेदन दिएका थिए ।
उक्त निवेदनमा वडाध्यक्ष चेम्जोङले नियमानुसार जन्मदर्ता सच्याउन सचिव भट्टराईलाई तोक लगाएका थिए । जन्मदर्ता सच्याउन दर्ता भएको मितिले एक वर्षभित्र सच्याउन पाइने कानूनी प्रावधान छ । तर, नौ वर्षअघिको कागजपत्र सच्याउन भने सर्जमिन गर्नुपर्ने स्पष्ट व्यवस्था छ । वडाध्यक्षले लगाएको तोकमा सचिवले नटेर्ने भन्दै बजगाईं दाजुभाइले सचिव भट्टराईमाथि मुक्का प्रहार गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार आरोपितहरूलाई अभद्र व्यवहारमा किटानी जाहेरी आएकाले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको बताए । प्रहरीले झापा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जनाएको छ ।
वडा सचिवमाथि भएको भौतिक आक्रमणको विरोधमा शिवसताक्षी नगरपालिकाका कर्मचारीहरूले प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘जनताको सबैभन्दा नजिकको कार्यालयमा अहोरात्र काम गर्ने राष्ट्रसेवक कर्मचारीमाथि भएको यस प्रकारको नियोजित तथा कानूनलाई हातमा लिई कानूनलाई नै चुनौती दिँदै कार्यालय परिसरमै भौतिक आक्रमण गर्ने दोषीउपर कडा भन्दा कडा कारबाहीको माग गर्दछौं । साथै सहज गरी जनताको काम गर्ने वातावरण सिर्जना गरिदिनु हुन नगरपालिका, स्थानीय प्रशासनसमेतका सम्बद्ध निकायहरूमा जोडदार माग गर्दछौं ।’
वडा सचिवमाथि कुटपिट हुँदा वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ साथमै रहेको र छुट्याउन खोज्दा झन् आक्रामक भई सर्टसमेत च्यातिदिएको, घाँटीमा न्याँकेको र मुक्काले प्रहार गरेको जनाइएको छ । यस विषयमा वडाध्यक्ष चेम्जोङले घटना आफू हुँदाहुँदै भएकाले त्यस्ता गलत गतिविधि गर्ने व्यक्तिलाई कारबाही हुनुपर्ने बताए ।