बाघ खोला । चतरावासीको दु:ख । यो एउटा बर्खा फेरि चतरावासीले दु:ख खेप्नै पर्ने भएको छ । बाघखोलामा निर्माण भइरहेको पुलको एउटा स्पानको मात्र काम सम्पन्न भएको छ । आजदेखि निर्माण कम्पनीले काम स्थगित गरेको छ ।
कामदारहरुले सेटिङ खोल्नेबाहेक अन्य काम अगाडि बढाउने छैनन् ।
सम्भावित बर्खालाई मध्येनजर गरेर एउटा स्पान ढलाइ सम्पन्न गरेपश्चात भदौ १५ सम्मका लागि कम्पनीले काम रोकेको छ । ६ महिना अघि निर्माण थालिएको पक्की पुलको काम बीचमा एक महिना रोकियो थियो ।
६० मिटर लम्बाइ, ९ मिटर चौडाइ रहेको यो पुलमा ३ वटा पिलर छन् । २ स्पानको यो पुल प्रिस्टेज वायर पुल हो । काम रोकिएर थालनी भएको ४१ दिनमा एउटा स्पानको बिम र स्लापको काम सम्पन्न भएको छ ।
कामदार मनोज झाका अनुसार भदौ १५ बाट काम सुरु भए दसैंअघि नै पुलको काम सम्पन्न हुनेछ । सूर्य एण्ड सन्स निर्माण कम्पनी प्रतिनिधि दिपक श्रेष्ठले पुल आगामी कार्तिक महिनासम्ममा निर्माण कार्य सम्पन्न हुने बताउँदै आएका छन् ।
धरान- चतरा सडक खण्डमा पर्ने ४ वटा पुल रेल्वे खोला, ठकुरी खोला, बगुवा खोला र बाघखोला पुल निर्माणको ठेक्का सूर्य एण्ड सन्स निर्माण कम्पनीले पाएको थियो ।
बर्खामा बाघखोलामा बर्सेनि हुने दुर्घटनाका कारण स्थानीय आजित हुँदै आएका छन् । स्वास्थ्य, शिक्षालगायत कृषि उपज बजार खरिद बिक्रीका लागि सुनसरीको चतरादेखि उदयपुरका पूर्वी भेग र भोजपुर, खोटाङका दक्षिणी भेगका वासिन्दा धरान बजारमा आश्रित हुँदै आएका छन् ।
मोटरेबल पक्की पुल निर्माण भएपछि यी भेगका वासिन्दा र यातायात आवागमनमा सहजता हुने बराहक्षेत्र-१ का वडाध्यक्ष किसन थापा बताउँछन् ।