सगरमाथा आरोहण गर्नेहरुले सार्वजनिक गरेका विभिन्न तस्बिर र भिडियोहरुमा हिमशृङ्खलाहरुमा हिउँ घट्दै गएको, विगतका चम्किला हिमालहरु काला पत्थरमा परिणत भएको दृष्यहरु देखिन्छन् । त्यसमाथि हिमाल आरोहण गर्नेहरुले प्लाष्टिकजन्य सामानहरु जथाभावी छाडेर हिँड्दा हिमालमा फोहोरको थुप्रो लागेको तस्बिर र भिडियोहरुमा देख्न सकिन्छ । एकातिर जलवायु परिवर्तनले पग्लिरहेका हिमालहरु अर्कातिर प्रदूषणका कारण झनै सङ्कटमा परिरहेका छन् । हिमालमा भइरहेका यस्ता अप्राकृतिक गतिविधिको बेलैमा नियन्त्रण गर्न नसके हामीले हिमालबाट फाइदा लिन सक्दैनौं । आरोहीहरुका गलत गतिविधिले हिमालमा प्रदूषण बढिरहेका कारण कतिपय अभियन्ताहरुले हिमाल आरोहण बन्द गरेर आराम दिनुपर्ने मत पनि राख्दै आएका छन् । यस्ता गतिविधि नरोकिने हो भने हिमाललाई आराम दिनुको विकल्प रहँदैन ।
अहिले विश्वव्यापीरुपमा भइरहेको तापक्रम वृद्धि र जलवायु परिवर्तनको मुद्दाले प्राथमिकता पाइरहेको छ । जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर हिमशृङ्खलाहरुमा देखिन्छ । बर्सेनि हिमालहरु पग्लिने क्रम बढिरहेकाले हिमालहरु जोगाउन पहल थाल्नु आवश्यक भइसकेको छ । हिमाल नरहे हिमनदी, हिमताल र हिमाली जनजीवन रहँदैन । त्यति मात्र होइन, पहाड र तराईमा पनि पानीको ठूलो सङ्कट निम्तिनेछ । त्यसैले हिमाल जोगाउन सबैले आफ्नो क्षेत्रबाट सकेको पहल गर्नु आवश्यक छ । हुन त जलवायु परिवर्तनमा नेपालजस्ता कम औद्योगिक विकास भएका देशहरुको भूमिका अत्यन्त न्यून छ । विश्वका ठूला र औद्योगिक राष्ट्रहरु जलवायु परिवर्तनमा सबैभन्दा बढी जिम्मेवार रहेको मानिन्छ । यद्यपि त्यसबाट हुने नकारात्मक असर भने हामीले नै भोगिरहेका छौं । नेपालजस्ता देशहरुले वन जङ्गल जोगाउन र वातावरण संरक्षणका लागि महत्वपूर्ण योगदान गरिरहेकै छन् । त्यसबापत ठूला औद्योगिक राष्ट्रहरुले उचित क्षतिपूर्ति दिनु आवश्यक छ ।
जलवायु परिवर्तन र अन्य विविध कारणले हिमालमा सङ्कट पर्दा त्यसको असर हिमतालहरुमा पर्न सक्छ । हिमाली क्षेत्रमा रहेका हिमताल फुटेमा धनजनको ठूलो क्षति हुने निश्चित छ । त्यसको असर हिमाली क्षेत्रमा मात्र होइन, पूरै देश र विश्वमै पर्ने हुन्छ । त्यसकारण बेलैमा हिमाल जोगाउन सबैले सहकार्य गर्नु आवश्यक छ । प्रत्येक व्यक्तिले आफ्नो तहबाट, तीन तहका सरकार र सरोकारवाला निकायले आ–आफ्नो तहबाट अभियान चाल्ने हो भने धेरै हदसम्म हिमालमा हुने प्रदूषण र जलवायु परिवर्तनको असर कम गर्न सकिन्छ ।