विजयपुर । नेपालको संविधानअनुसार मुलुक पुनर्संरचना भएपश्चात् स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू भयो । ऐनले स्थानीय तहलाई स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण गर्ने अधिकार दियो । तर, धरान उपमहानगरपालिकाले ऐन लागू भएको सात वर्षसम्म स्थानीय पाठ्यक्रम दुईवटा कक्षामा मात्र लागू गरेको छ ।
धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाका अनुसार कक्षा १ र कक्षा ६ मा स्थानीय पाठ्यक्रममा आधारित पुस्तक अध्यापन सुरु भएको छ । त्यो पनि यही शैक्षिक सत्रबाट अध्यापन सुरु गरिएको हो । खतिवडाले भने, ‘कक्षा १ का किताब छापेको छैन । डिजिटलन फायलबाट पढाइ भइरहेको छ । कक्षा ६ को किताब भने छापिएको छ ।’
स्थानीय सरकार सञ्चालन ऐनअनुसार कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी अध्यापन गराउनुपर्ने हो । तर, स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार कार्यान्वयनमा धरान उपमहानगर सुस्त देखिएको छ । सात वर्षसम्म पनि पाठ्यक्रम निर्माण नहुनु भनेको एकदमै ढिलाइ भएको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् ।
महेन्द्र बहुमुखी क्याम्पस धरानमा कार्यरत शिक्षा सङ्कायका उप–प्राध्यापक बालचन्द्र कट्टेल भन्छन्, ‘पाठ्यक्रम निर्माणमा स्थानीय सरकार अन्यौल छ ।’ विद्यालय शिक्षाकोे राष्ट्रिय पाठ्क्रम प्रारूप २०७६ ले स्थानीय तहको नेतृत्व र सहभागिताका आधारमा स्थानीय तहमै प्राविधिक तथा आर्थिक स्रोत परिचालन गरी मातृभाषा तथा स्थानीय ज्ञान, सीप र प्रविधिमा आधारित विषयवस्तुको चयन, व्यवस्थापन र कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ ।
स्थानीय पाठ्यक्रम कस्तो बनाउने, कुन कुन बनाउने ? कस्ता शैक्षिक सामग्री प्रयोग गर्ने ? शिक्षण विधि कस्तो हुने ? भन्ने विषयमा स्थानीय तहका नेतृत्व अन्यौलमा रहेको उनको बुझाइ छ । अन्यौलताका कारणले पनि पाठ्यक्रम निर्माण गरी लागू गर्न ढिलाइ भएको शिक्षाका जानकारहरूको बुझाइ छ । उप–प्राध्यापक कट्टेल भन्छन्, ‘धेरै नै ढिलाइ भइसक्यो ।’
उनका अनुसार स्थानीय पाठ्यक्रमका ठाउँमा अन्य पाठ्यक्रम लागू गर्ने अधिकार छैन । उनी भन्छन्, ‘परिवर्तित पाठ्यक्रमसँगै स्थानीय पाठ्यक्रम पनि चरणबद्धरूपमा लागू गर्नुपथ्र्यो ।’ तर, धेरै स्थानीय तहमा स्थानीय पाठ्यक्रम पढाइ नभई अन्य पाठ्यक्रम नै पढाइ भइरहेको बताउँदै उप–प्राध्यापक कट्टेल भन्छन्, ‘अन्य विषय कानूनीरूपमा अवैध हुन्छ ।’ धरान उपमहानगरका पाठ्यक्रम विकास समितिका संयोजकसमेत रहेका बुद्धिजीवी डा. राजेन्द्र शर्मा नै पनि पाठ्यक्रम लागू गर्न ढिलाइ भएको बताउँछन् । उनी भन्छन्, ‘स्थानीय पाठ्क्रम लागू गर्न निकै ढिलाइ भइसक्यो ।’
स्थानीय विषयवस्तुबाट हाल पनि बालबालिका बञ्चित भइरहेका छन् । उप–प्राध्यापक कट्टेल स्थानीय सरकारले शिक्षासम्बन्धी दायित्व बहन गर्न नसकेको बताउँछन् । धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख खतिवडाका अनुसार कक्षा ८ सम्मकै पाठ्यक्रम बनेको छ । पाठ्यपुस्तक भने तयार भएका छैनन् ।
वर्तमान अवस्थामा स्थानीय विषय वा संस्कृत कक्षा १ देखि ३ सम्म ४ पाठ्यभार, कक्षा ४ र ५ मा ४ पाठ्यभार र कक्षा ६–८ मा मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय ५ पाठ्यभार र १०० पूर्णाङ्क रहेको छ ।
कक्षा ६ को पुस्तक त्रुटिपूर्णः सच्याउन माग
धरान उपमहानगरपालिकाकाले लामो समयपश्चात् स्थानीय पाठ्यक्रमअनुसार लागू गरेको कक्षा ६ को पुस्तक त्रुटिपूर्ण देखिएको छ ।
स्थानीय विषय पठन–पाठनका लागि प्रकाशित कक्षा ६ को ‘हाम्रो धरान’ पाठ्यपुस्तकमा विजयपुरको इतिहास गलत लेखिएको भन्दै लिम्बू विद्यार्थी मञ्चले विरोध जनाएको छ । पुस्तक सच्याउन माग गर्दै नगर प्रमुख हर्कराज राईलाई मञ्चले ज्ञापन–पत्र बुझाएको छ । धरानका सामुदायिक तथा संस्थागत विद्यालयमा यसै शैक्षिक सत्रबाट लागू भएको पुस्तक त्रुटिपूर्ण भएको मञ्चको ठहर छ ।
कक्षा–६ का लागि प्रकाशित उक्त पुस्तकको आधारमा स्थानीय विषय पूर्णाङ्क १ सय छ । ‘पुस्तकको पृष्ठ १२८ को विजयपुरगढी शीर्षकमा विजयपुरका संस्थापक ‘पाल्पाका सेनवंशी राजा विजयनारायणले राज्य विस्तारको क्रममा विजयपुरगढीको स्थापना गरेको मानिन्छ’–ज्ञापन–पत्रमा भनिएको छ । ‘पुस्तकको पृष्ठ ७६ को बूढासुब्बा शीर्षकमा किरातेश्वर मन्दिरलगायत कपोलकल्पित कुराहरू उल्लेख गरेकोमा खेद प्रकट गर्दछौँ ।’
धेरै इतिहास हुँदाहुँदै पनि लेखकहरूले गृहकार्य नगरी विजयपुरगढी शीर्षकमा हचुवाका भरमा लेख्नु र हजारौँ विद्यार्थीहरूलाई गुमराहमा राख्ने जानकारी दिनु खेदजनक भएको उल्लेख गर्दै ज्ञापन–पत्रमा विजयपुर दरबार, विजयपुर दरबार परिसर र विजयपुर राज्य बेग्लाबेग्लै कुराहरू भएको बताइएको छ ।
लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय महासचिव प्रदीप नेयोङ लिम्बूले उक्त पुस्तकको त्रुटिपूर्ण पाठ्यांश तत्काल सच्याएर मात्र पठन–पाठन गर्न गराउन माग गरे । नगर प्रमुख राईले लामो प्रयासपश्चात् प्रकाशित पाठ्यपुस्तकमा त्रुटि देखिनुमा तयार गर्ने लेखन समूह जिम्मेवार हुनुपर्ने बताए । उनले लेखन समूहका सदस्यसँग छलफल गरी सच्याउने प्रक्रिया सुरु गरेको बताए । तर, लेखन समूहका एक सदस्यले भने उपलब्ध स्रोत साधनको आधारमा पर्याप्त मात्रामा खोज अनुसन्धान गरी पुस्तक तयार पारेको बताउँदै भने, ‘अन्तिम पुस्तक सम्पादन गर्ने अधिकार उपमहानगरसँगै छ ।’ शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले पुस्तक त्रुटिपूर्ण भएको विषय टुङ्गो नलागेसम्म अध्यापनमा रोक लगाएको बताए ।
पुस्तक लेखन समूहमा किरातेश्वर मा.वि.का प्रधानाध्यापक डा. योगेन्द्र पालुङ्वा, ल्यावोरेटरी मा.वि.का प्रधानाध्यापक शङ्कर भण्डारी, शिक्षा निकेतन मा.वि.मा कार्यरत शिक्षक चन्द्रकला ओझा, अमर प्रा.वि.का मङ्गलसिंह तामाङ, शिक्षा निकेतन मा.वि.का भीम खवास र सहिद मा.वि.का टङ्क भट्टराई रहेका थिए ।
ज्ञापन–पत्र बुझाउनेमा विद्यार्थी मञ्चका सुनसरी जिल्ला समितिका पदाधिकारीहरू, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङ्बाङ, नगर अध्यक्ष तीर्थ मादेम्बा, केन्द्रीय सल्लाहकार हर्ष सुब्बा, जिल्ला उपाध्यक्ष स्वर्णिमहाङ फोम्बो, जिल्ला सचिव शिव इश्वो, नगर सह–सचिव विप्लव लिम्बूलगायत थिए ।