झापा बाढीको प्रकोपबाट हुने क्षति कम गर्न, प्रकोपपछि उद्धार, प्राथमिक उपचार र राहत वितरणसम्बन्धी सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास गरिएको छ। जिल्ला विपद् व्यवस्थापनको संयुक्त टोलीद्वारा आज मेचीनगरको निचाझोडा सिमसार क्षेत्रमा विपद् पूर्वको अभ्यासबारे बृहत् प्रदर्शन गरेको हो।
संयुक्त प्रदर्शनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला रेडक्रस सोसाइटी, विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक, जनप्रतिनिधिलगायतको सहभागिता थियो। नेपाली सेनाको अरिदमन गण चारआलिको समन्वयमा सो प्रदर्शन गरिएको हो।
वर्खायाममा बाढी तथा डुबानको सम्भावना रहेकाले उक्त विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी स्वरुप संयुक्त अभ्यास प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी एंव जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक बन्धुप्रसाद बाँस्तोलाले बताउनुभयो । उहाँले झापाका सबै स्थानीय तहहरुलाई विपद् व्यवस्थापनको तयारीमा जुटन् आह्वान गरेको छ ।
विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि तालिम प्राप्त दक्ष जनशक्तिले बाढीको विपद्का बेला गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन्। उक्त प्रदर्शनमा बाढीको प्रकोपको बेला हुने गरेको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने तत्कालीन उपायहरुबारे प्रदर्शन मार्फत सहभागिलाई जानकारी गराइएको थियो। जिल्लाका १५ स्थानीय तहमध्ये छ वटा बाढीको उच्च जोखिममा, पाँच वटा मध्यम जोखिममा छन भने चार स्थानीय तहमात्र बाढीको कम जोखिममा छन्।