विजयपुर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले जातीय विभेद दलितको मात्र समस्या नभई राज्यको समस्या भएको बताएका छन् ।
मङ्गलबार १९ औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा मोरङको विराटनगरमा आयोजित ‘सामाजिक न्याय र दलित अधिकारका लागि हातेमालो संवाद तथा परामर्श’ कार्यक्रममा प्रमुख खापुङले जातीय विभेद सबै पक्षको समस्या भएको बताएका हुन् ।
प्रदेश प्रमुख खापुङले भने, ‘दलितको नाममा विभेद भएको छ । जातीय भेदभाव दलितको मात्रै होइन । गैरदलितको पनि हो । समाजको समस्या हो भनेर राज्यले बुझ्नुपर्छ ।’ उनले जातीय भेदभावजन्य समस्या समाप्त हुनुपर्ने बताउँदै भने, ‘दलितको समस्यामा अब गैरदलितले पनि बोल्नुपर्छ ।’ जातीय भेदभावको समस्या कानूनीरूपमा अन्त्य भएको बताउँदै भने, ‘व्यावहारिक रूपमा जातीय विभेद अन्त्य भएको छैन ।’ प्रदेश प्रमुख खापुङले भने, ‘हामी सबैको समस्या हो । जातीय भेदभाव अन्त्य गर्न तपाईं हामी लाग्नुपर्छ ।’
रेडफ नेपाल तथा हातेमालो संवाद तथा परामर्श कार्यक्रममा अध्यक्ष उमेश विश्वकर्माले जातीय विभेदका तीनवटा समूह रहेको बताए । उनले भने, ‘मन्दिरमा पूजा हुँदैन भन्ने पाको पुस्ता । अर्को दलितसँग जातीय भेदभाव अन्त्य गर्नुपर्छ भन्ने गैरदलितसँग अहिले भेदभाव अन्त्य गर्ने बेला भएको छैन भन्ने र तेस्रो प्रगतिशील समूह छ ।’ उनले प्रगतिशील समूह सानो रहेको बताए । उनले भने, ‘मुलुकमा समृद्धि ल्याउनका लागि समानता आवश्यक छ । जातीय भेदभाव राखेर समुन्नत समाज बन्दैन ।’
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित नभई मान्छे बन्न चाहेको बताए । जातीय विभेद विद्यालयका कक्षाबाट प्रश्रय दिइरहेको उनले बताए । उनले शिक्षकको मानसिकतामा नै जात व्यवस्था रहेको बताए । दलित आयोगले दलित समुदायको न्यायिक निरूपणमा सहजीकरण गरिरहेको बताए । उनले भने, ‘आयोगले अनुसन्धान पनि गर्न सक्छ तर जनशक्ति नभएकाले प्रहरीलाई लेखेर पठाउँछौँ ।’
दलित अधिकारकर्मी प्रदीप परियारले जातीय भेदभावमा दक्षिण एसियाबाट नै अन्य क्षेत्रमा फैलिएको बताए । संविधानसभा सदस्य जितु गौतमले आरक्षणको विषयमा गलत भाष्य निर्माण गरिएको बताए । उनले भने, ‘सबैभन्दा बढी आरक्षण क्षेत्री, ब्राह्मणले पाइरहेका छन् । महिलाले ३३ प्रतिशत पाइरहेका छन् । ९ प्रतिशत आरक्षण पाउने दलितले सबै आरक्षण पाएको प्रचार गरिएको छ, यो गलत हो ।’ कार्यक्रमको सहजीकरण डा. चन्द्र तिम्सिनाले गरेका थिए ।