बेलायती सेनामा कार्यरत रही हाल जागिरे जीवनबाट टाढा रहेका नरेश काङमाङ राई युद्धकविका रूपमा परिचित छन् । उनको केही समयअघि प्रकाशित कविता सङ्ग्रह तेप्लायु निकै चर्चामा रहेको पुस्तक हो । त्यसका अलवा पनि थुप्रै पुस्तकहरू प्रकाशित गरिसकेका छन् । त्यति मात्रै हैन, ४ लाख २ हजार रूपैयाँभन्दा माथिको पहिचान पुरस्कार स्थापना गरी नेपाली साहित्यको उन्नयनमा अहोरात्र खटिएका छन् । भोजपुर टेम्के मैयुङ गाउँपालिका–४ निवासी नरेशको साहित्यिक नाम भने काङमाङ नरेश राई हो । हालै उनको गोर्खाको इतिहास, अनुभव र अनुभूति समेटिएको ‘पानी पतिया’ नामक पुस्तक सार्वजनिक भएको छ । यही पुस्तकको सेरोफेरोमा रहेर उनै काङ्माङ नरेश राईसँग ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले गरेको संवार्ता :
पानी पतिया लेख्ने सोच कसरी आयो ?
म धरान पढ्दाखेरि नै ‘गोर्खा सैनिक आवाज’ भन्ने पत्रिका निस्किन्थ्यो । त्यो पढ्थे म । पढ्दाखेरि गोर्खा आन्दोलनको बारेमा जानकार थिएँ । भर्ती भएर गइसकेपछि दयाकृष्ण राई दाइ जो गेसोसँग आवद्ध हुनुहुन्थ्यो । उहाँले सैनिक आवाज पत्रिका सन् २००४ तिर ब्रुनाईमा पठाइदिई रहनुहुन्थ्यो । त्यसमा कविताहरू छाप्थेँ । पछि पछि चाहिँ अन्यमा पनि छापेँ । पल्टनघरमै हुँदा पढिने । त्यहाँ विभेदको विषयहरू आउने । एक खाल्को जगजग भएर आउँथ्यो । गोर्खाहरू मान्छेहरू हुन् कि होइनन् । बनाएका स्लोगनहरूमा त मान्छेहरू पनि होइन जस्तो लाग्थ्यो । त्यही हुटहुटी जागेर नै लेख्न थालेको हो ।
तपाईं युद्ध कविता लेख्ने मान्छे, इतिहासमूलक निबन्ध लेख्न कत्तिको गाह्रो भयो ?
कविता, कथा, उपन्यास लेख्दा आफैले क्यारेक्टर निर्माण गर्दा पनि भयो । सिम्बोलिक कुरा आफै राख्दा पनि भयो । इतिहास लेख्दा त गाह्रो हुँदो रहेछ । खोजेको सामग्रीहरू नपाएर मैले झण्डै यसलाई बिचमै ड्रप पनि गेरेको थिएँ । रिसर्चहरू गरेको पेपर भेटिने तर सोध्दिने मास्टर डिग्री कि पिएचडीका लागि हो भनेर । त्यो बेला म त स्कलर होइन । त्यसपछि त त्यो साइट नै ठ्याक्कै बन्द भइदिने । रिसर्च, जर्नल, इतिहास लेखन चाहिँ सामूहिक काम पनि र’छ । गुरूङ सुशान्त, राजकुमार दिक्पाल, प्रकाश गुरागाईंलगायत साथीहरूले रिफ्रेन्सका लागि सहयोग गर्नुभयो । त्यसपछि चाहिँ लेख्न सकेँ भनुनँँ ।
ड्रप आउट कुन समयमा पुगेपछि गर्न खोज्नुभयो ?
मलाई चाहिँ त्यो कतिखेर भयो भने गोर्खालीको विषय लेखिएको काँतर हुनुभन्दा मर्नु ठिक हो भन्ने जस्ता उक्तिहरू नभेटिने भएपछि चाहिँ हेरेसमेन्ट भयो । कसले भनेको, कहिले भनेको ? भन्ने पूर्णरूपमा तथ्य नपाइने । त्यसपछि यो बुकलाई चाहिँ बन्द गर्छु भन्नेमा पुगेँ । मैले करिब करिब २५ हजार वर्ड लेखिसकेपछि बन्द गर्छु भन्ने मनमा आयो ।
पानी पतियाको अर्थलाई आम पाठकले कसरी बुझ्ने ?
राणाकालीन समयमा ‘ब्ल्याक सी’ काटेर जो जान्थे । ब्राह्मण जाँदा सामान्य विधि गर्दा भइहाल्ने । ब्राह्मणभन्दा मुनिका जाति चाहिँ देश फर्किँदा खेरि गाईको गोबर, मुत, दूध, दही र घिउले नुहाउन लगाएर पण्डितलाई केही रकम राखेर चोख्याइन्थ्यो । लाहुरेहरूलाई सन् १९६३ सम्म चोख्याउँदै नै आइयो । पानी पतिया भनेको चाहिँ पुनः जात फर्काउनु भन्ने हो ।
तपाईंले पुस्तकमा आदिवासी जनजातिलाई भर्तीमा लाँदा धर्म चाहिँ हिन्दू भनेर लेख्नुपर्ने बाध्यता थियो भनेर लेख्नुभएको छ ? ब्रिटिसहरू हिन्दूप्रति आशक्ति हो कि उनीहरूको जर्बजस्ती माइन्ड स्ट्रोमिङ गरिएको हो ?
रिसर्च गर्दै हेर्दै जाँदा खेरि पहिला चाहिँ गोर्खा सोल्जरलाई सबै मुन्डन गरी टुप्पी नै राख्ने चलन थिएछ । म सन् २००० मा भर्ती भएको हो । आजभन्दा २४ वर्ष अगाडि त्यतिखेरसम्म हिन्दू नै लेखाएर भर्ती भएको हो । सांस्कतिक र धार्मिक रूपमा म त किरात हो । कसम खुवाउँदा हिन्दूजन्य ठूला देवीदेवताको नाममा कसम खानुपथ्र्यो । योचाहिँ भोगेको पाटो भो ।
सन् १९४७ को सन्धिअगिसम्म लिखित दस्तावेज पहिला देखिँदैन तर १९४७ नोभेम्बर ९ मा गरिएको सन्धिमा चाहिँ गोर्खा सेनाहरू हिन्दूका विरूद्ध लड्न पाइने छैन । प्रत्येक गोर्खा रेजिमेन्टमा एउटा मन्दिर हुनेछ र पण्डित पठाइने छ भनेर लेखिएको छ । यति शब्दले नै धेरै चिजको व्याख्या गर्छ भन्ने लाग्छ । एउटा छुटाउनै नहुने कुरा चाहिँ गाईको रक्षकलाई गोर्खा भनिँदो रहेछ । मैले अनुसन्धान गर्दै जाँदा त्यो चिज पनि पाए । छोटकरीमा भन्दा विशेष गरी यो पुस्तकमा यी कुरा नै लेखिएको छ ।
भर्तीको हकमा चाहिँ चन्द्रशम्शेरहरूका तुलनामा जङ्गबहादुर त्यति फेक्जिबल थिएनन् भन्ने यो पुस्तकमा देखिन्छ । उनी चाहिँ अन्यभन्दा राष्ट्रवादी देखिएका हुन् ?
रिसर्च गर्दा त्यो देखिन्छ । उनी बेलायत भ्रमणबाट फर्किएपछि मुलुकी ऐन लेखियो । जङ्गबहादुरमा एउटा कुरा चाहिँ देखिन्छ । आफ्ना नागरिकलाई अरूको ठाउँ पठाउनु हुन्न है भनेर उर्दीहरू जारी गरेको देखिन्छ । उनको विषयमा लेखिएको बायोग्राफी चाहिँ पढेको छैन । गोर्खा भर्तीको विषयमा त्रिसुली काटेर नजानू । गोर्खा भर्तीमा गयो भने चाहिँ परिवारसम्मलाई दण्डसजाय हुन्छ भनेर लेखेको पाइन्छ । त्यसआधारमा आफ्ना नागरिकहरू विदेशी सेनामा पठाउनु हुन्न भन्ने मनोविज्ञानमा बाँचेको थियो कि भन्ने देखिन्छ ।
यो किताब लेखिसक्न कति वर्ष लाग्यो ?
धेरै पहिलादेखि गोर्खाको विषयमा लेखिएका आर्टिकलहरू, गोर्खाको विषयमा भेटिएको इतिहासहरू जम्मा गर्दै गर्दै राखेको थिएँ । यसलाई फिनिसिङ गर्न चाहिँ जम्मा दुई वर्ष लाग्यो ।
अबको मार्ग तथा बाटो के हुन सक्छ । गोर्खाको विषयमा अझै नयाँ कुरा खोजुँ भन्ने लागेको छैन ?
गोर्खाहरूको विषयमा म आफू स्कलर नभएका कारणले सायद मेरो क्षमताले भ्याएसम्म काम गरेँ भन्ने लाग्छ । अध्ययन गर्दै जाँदा केही नयाँ नयाँ चिज भेटियो भने फेरि पनि लेख्नुपर्छ । विशेष गरेर म चाहिँ राईहरूको मुन्दुमको विषयमा खोज अनुसन्धान गर्ने मान्छे भएको कारणले अबको पुस्तक चाहिँ विशेष गरेर महिला क्यारेक्टरको जस्तोः नामदिलिङ्मा, छुइआमा, कुइआमा भन्ने जस्ता क्यारेक्टर छ मुन्दुममा । उनीहरूको विषयमा कथा लेख्न सकिन्छ कि भन्नेमा म पुगेको छु । दुई तीन वर्ष चाहिँ अनुसन्धान नै गर्ने भन्ने छ । पुस्तक नझिक्ने भन्ने छ ।
छोटो छोटो युद्ध कविताहरू लेखेर त्यसलाई अङ्ग्रेजी भाषामा पहिला प्रकासन गर्ने भन्ने सोच छ । समयले कति साथ दिन्छ । कति लेख्न सकिन्छ । धेरै लेखेर ठूलो भइन्छ भन्ने लाग्दैन । थोरै लेखेर सानो भइन्छ भन्ने पनि लाग्दैन । अभ्यास गर्दै आइयो । अब दुई चार वर्ष चाहिँ अध्ययन नै व्यस्त भएर त्यसपछि चाहिँ अगि भनेका कृति निकाल्ने कि भन्ने सोचाइ छ ।
आम नेपाली पाठकले पानी पतिया किन पढ्नुपर्छ ?
विशेष गरेर देशको अर्थतन्त्रको विषयमा बुझ्न । बेलायती सेनामा भर्ती भइसकेपछि गोर्खाजहरूको सम्बन्धको कारण नेपाल र बेलायतको सम्बन्ध कसरी कायम ग¥यो भन्ने बुझ्न सकिने ठाउँ छ एउटा । दोस्रो, नेपाल सरकारले पनि बेलायत सरकारलाई युद्धको समयमा आर्थिक सहयोग गरेको कुराहरू छन् । आर्थिक पाटाका कुराहरू छन् । सांस्कृतिक विषयका कुराहरू छन् । धार्मिक विषयका कुराहरू छन् । विशेष गरेर गोर्खा सैनिकलाई लाहुरे भन्ने दृष्टिकोणले हेरिन्छ । विदेशी सेनामा काम गरे पनि देशका लागि के के योगदान दिए । २००७ सालको क्रान्तिदेखि रेडियो स्थापनामा के के योगदान दिए भन्ने यो पुस्तकमा पढ्न पाइन्छ ।