धरान । २०६४ सालमा स्थापित धरान–२ को लोकलक्ष्मी स्मृति प्रतिष्ठानले ‘स्वर्गीय प्रोफेसर इन्द्रप्रसाद श्रेष्ठ र विमला श्रेष्ठ धरान सेवा सम्मान’बाट धरानका दुई व्यक्तित्वलाई सम्मानित गरेको छ । 

धरान–१५ स्थित धरान किचनमा आयोजित कार्यक्रममा २०७९ सालको धरान सेवा सम्मानबाट धरानका पूर्व नगर उपप्रमुख स्वर्गीय कृष्णनारायण पलिखेलाई मरोणोपरान्त सम्मानबाट सम्मानित गरिएको छ । सम्मानको राशि ५१ हजार रुपैयाँसहित सम्मान–पत्र र दोसल्ला रहेको थियो । उक्त सम्मान पलिखेको परिवारले ग्रहण गरेको प्रतिष्ठानका अध्यक्ष रन्जीव श्रेष्ठले जानकारी दिए । 

त्यस्तै २०८० सालको धरान सेवा सम्मानबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सन्जीवकुमार शर्मालाई सम्मानित गरिएको छ । उनलाई पनि नगद ५१ हजार रुपैयाँसहित सम्मान पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको छ । सम्मानित व्यक्तित्व शर्माले आफूले प्राप्त गरेको नगद तथा सम्मानलाई ‘केएचडीसी’ लाई अर्पित गर्ने बताए । यस्तै उनले आफूलाई योग्य सम्झिई सम्मानित गरेकोमा प्रतिष्ठान परिवारलाई धन्यवाद ज्ञापन गरे । 

सम्मान पत्र र नगद प्रतिष्ठानका अध्यक्ष रन्जीव श्रेष्ठ र सचिव राजीव श्रेष्ठलगायतले हस्तान्तरण गरे । अध्यक्ष श्रेष्ठका अनुसार २०७९ सालमा नै ‘बुबाआमा’को नाममा धरान सेवा सम्मान दिने घोषणा गरिएको थियो । “तर, २०७९ सालमा पारिवारिक समस्याका कारण वितरण गर्न असमर्थ थियौँ, त्यसैले यस वर्ष एकैपटक दुईजनालाई सम्मानित गरिएको हो । आगामी वर्षबाट एक–एक जनालाई सम्मानित गर्नेछौँ ।”

उनका अनुसार धरानलाई निस्वार्थ रूपमा योगदान दिने हरेक क्षेत्रका व्यक्तित्वहरूलाई सम्मानित गर्ने प्रतिष्ठानको लक्ष्य रहेको छ । प्रतिष्ठानले यसअघि भने शिक्षाक्षेत्रमा लगानी गर्दै आएको थियो । त्यसलाई पनि निरन्तरता नै दिँदै आएको छ । शिक्षामा पनि विशेष गरी गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति लगायतका कार्यक्रम गर्दै आएको छ । 

कोभिड–१९ को समयमा भने १०० दिनसम्म सडक बालबालिकाहरूलाई एक छाक खाना खुवाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले बुबाको अन्तिम इच्छा नै धरानलाई सेवा गर्नेहरूलाई सम्मान गर्ने रहेकाले पनि बुबाको इच्छालाई पूरा गर्ने घोषणा गरेअनुसार सम्मान गरिएको बताए ।