विजयपुर । धरान–१४ स्थित विजयपुरका प्रेमप्रसाद पराजुलीका दुवै मिर्गौला १५ महिनाअघिदेखि फेल भएका छन् । उनी अहिले हप्तामा दुई दिन डायलाइसिस गरिरहेका छन् । तर, उनलाई मिर्गौला दिने व्यक्ति भए तापनि कानूनी जटिलताका कारणले मिर्गौला प्रत्यारोपण गर्न पाएका छैनन् ।
कानूनी जटिलताका कारणले मिर्गाैला प्रत्यारोपण गर्न असम्भव भएपश्चात् संविधानले सुनिश्चित गरेको मानव अधिकार हनन् नगर्न आग्रह गरी सिंहदरबारलाई पत्र पठाएका हुन् । उनले मुलुकको विद्यमान कानूनी जटिलताले मानव अधिकार हनन् भएको बताए । मङ्गलबार पत्रकार सम्मेलन गरेर पराजुलीले भने, ‘ट्रान्सप्लान्ट गर्ने सोच थिएन । चिकित्सकले एउटा किड्नीले काम गर्छ भने पनि छोराको अनुरोधलाई मानेँ । तर छोरासहित परिवारका कुनै सदस्यको ट्रान्सप्लान्ट गर्न मिलेन ।’ परिवारका सदस्यबाहेक अन्य व्यक्तिले पनि किड्नी दिन तयार भएको तर, राज्यको विद्यमान कानून बाधक बनेको पराजुलीले बताए । उनले कानूनका कारणले आफ्नो बाँच्न पाउने अधिकार हनन् भएको बताउँदै भने, ‘बाँच्न पाउने अधिकार हनन् नगरियोस् ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रवि लामिछाने तथा मानव अधिकारवादी सङ्घ–संस्थालाई पत्रकार सम्मेलनमार्फत् पत्र पठाएका हुन् । उनले आफ्ना लागि नभए पनि हजारौँ किड्नी पीडितका लागि अभियानकारूपमा अघि बढेको बताए । उनले भने, ‘कानून संशोधन गर्नुप¥यो । धेरै पीडितलाई राहत हुन्छ ।’ उनले नेपालमा कानूनी जटिलताका कारणले भारतलगायतका मुलुकमा गएर ट्रान्सप्लाण्ट गर्दा अत्यधिक महँगो पर्ने गरेको बताए । उनले भने, ‘किड्नी दिने–लिने कार्य भइरहेको छ ।’
‘राज्यका कारणले नागरिक महँगोमा परिरहेका छन् । त्यसैले नेपालमा निश्चित मापदण्ड राखेर आफन्तबाहेकबाट पनि किड्नी लिनदिन पाइयोस् भन्ने अभियान हो’–उनले भने । उनको खुल्ला पत्रमा ‘म र हामी यो याचना गर्दछौं कि भवितव्य, अनिष्ट, सङ्कट र समस्या भन्ने कुरा मान्छेको जीवनमा कुनै सूचना, सङ्केत र जनाउ घण्टी दिँदै आउँदो रहेनछ । यसबाट मुक्ति र छुट्कारा प्राप्त गर्न उत्पन्न परिस्थिति र प्रतिकूल अवस्था मात्र नभई राज्यको विद्यमान कानून पनि बाधक बन्दो रहेछ’–भनिएको छ । राज्यका कानूनबाट किड्नीको समस्या भएका हजारौं नागरिकहरू पीडित बनेको उल्लेख छ । उनकी श्रीमती विमला पराजुली पनि ५ वर्षदेखि बिरामी छन् ।
‘स्पाइनल कर्ड इन्जुरी भएर सुताउनु–उठाउनु पर्ने गरी ओछ्यानमा थला पर्दा र आफ्नो पनि दुवै मिर्गौला खराब भई उपचार गराउनु पर्दाको अवस्था कस्तो होला ? बताइरहनु नपर्ला’– पराजुलीले पत्रमा भनेका छन् । उनले विमला मिर्गौला दान गर्न तयार भए पनि स्वास्थ्यका साथै कानूनी, नैतिक र मानवीय दृष्टिकोणले प्रत्यारोपण गर्न सम्भव नभएको बताए । ‘घटनाक्रम अगाडि बढ्दै जाँदा कानूनले नचिने तापनि समाजमा परिचित मेरो धर्मपुत्रका रूपमा रहेको सन्तानले पनि स्वतःस्फूर्त रूपमा मलाई मिर्गौला प्रदान गर्न तयार भएर बसेका छन् ।
तर, परिवारका सदस्यभन्दा बाहिरका व्यक्तिले कानूनीरूपमा दिन नमिल्ने रहेछ’–पत्रमा भनिएको छ । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी घोषणा–पत्रमा पनि व्यक्तिको बाँच्न पाउने अधिकारलाई सम्बोधन गरेको छ । नेपालकोे संविधानमा पनि नागरिकको मौलिक हकका रूपमा बाँच्न पाउने अधिकारलाई राखिएको छ । तर, संविधानअनुसार कानून नबन्दा आफूजस्ता हजारौं नागरिक पलपल मरेर बाँचिरहनुपरेको छ’–पत्रमा भनिएको छ । पत्रमा ‘परिवारका सदस्यहरूद्वारा मिर्गौला दान गर्न सम्भव नभएको खण्डमा स्वेच्छिक रूपमा यदि कसैले दान गर्न चाहन्छ भने त्यसलाई कानुनले स्वीकार गर्ने व्यवस्था बनाउने वातावरण तयार गरौं’ भनिएको छ । नेपालमा विद्यमान कानूनी जटिलताका कारण अवैधरूपमा छिमेकी राष्ट्र भारतमा गई बिचौलियाको प्रभावमा परी मानव अङ्गको अवैध कालोधन्दा भैरहेको कुरालाई मनन् गर्दै रोकथाम गर्ने प्रयास गर्न पनि अनुरोध गरेका छन् ।
‘विद्यमान कानून परिवर्तन भए हजारौँ मिर्गौला रोगीको सफलतापूर्वक प्रत्यारोपण सम्भव हुने र मेरो पनि सफलतापूर्वक प्रत्यारोपण भएछ भने बाँकी जिन्दगी स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूका लागि सानो स्तरमा भए पनि सुविधाजनक एउटा अस्पताल बनाउने अभियानमा लाग्नुका साथै मजस्तै मिर्गौला पीडितहरूको सेवामा समर्पित हुनेछु’–पराजुलीले पत्रमा उल्लेख गरेका छन् । मुलुकबाहिर गएर मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अभावका कारण समस्या भएकाले आफूले यो अभियान चलाइरहेको बताए ।