विराटनगर । विराटनगर – ५ बरगाछीस्थित लाइफगार्ड अस्पतालका सञ्चालकसमेत रहेका युरोलोजिष्ट डा. इकबाल अहमदले बिरामीसँग दोहोरो रकम लिएर ठगी गरेको पाएपछि स्वास्थ्य बिमा बोर्डले ‘स्वास्थ्य बिमा कार्यक्रम’ बन्द गरिदिने भएको छ ।
अप्रेसनको नाममा बिरामीसँग दोहोरो रकम लिएर अस्पतालका चिकित्सक इकबालले ठगी गरेको पाइएपछि स्वास्थ्य बिमा बोर्डले अस्पतालको स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने अन्तिम तयारीमा पुगेको हो ।
स्वास्थ्य बिमाबाट अप्रेसनको भुक्तानी लिएपछि पनि चिकित्सक अहमदले बिरामीसँग अप्रेसन थिएटरभित्र सहयोगी राखेर मनलाग्दी रूपमा रकम असुली गरेर ठगी गरेको समचार ब्लाष्टले प्रकाशित गरेको थियो । उक्त समचार प्रकाशित गरेपछि स्वास्थ्य बिमा बोर्डले चार सदस्यीय छानबिन समिति गठन गरेको छ । बोर्डले गठन गरेको छानबिन समिति मङ्गलबार विराटनगर आइपुगेको छ । समितिले छानबिन सकेर प्रतिवेदन बुझाएलगत्तै लाइफगार्ड अस्पतालको स्वास्थ्य बिमा कार्यक्रम रद्द गर्ने प्रक्रिया अगाडि बढाउने स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले जानकारी दिए ।
‘ठगी भएको समाचार र गुनासोसहितको उजुरी परेपछि हामीले छानबिन समिति गठन गरेर विराटनगर पठाएका छौं । अहिले समितिले अस्पतालमा गएर छानबिन गर्दै आएको छ । यसअघि पनि लाइफगार्डको स्वास्थ्य बिमा कार्यक्रम नाममा गुनासो आएको थियो । बारम्बार अस्पतालको बारेमा गुनासो र अहिले हामीले केही प्रमाणसमेत भेटेपछि लाइफगार्डमा स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने तयारीमा पुगेका छौँ’ उनले भने, ‘गठन भएको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा थप कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ ।’
अहिले गठन भएको छानबिन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउने स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितले बताए । ‘अहिले छानबिन समिति आएर अनुसन्धान गर्दैछ । छानबिनको प्रक्रियामा रहेकाले अहिले मैले केही बोल्न मिल्दैन । प्रतिवेदन बुझाएपछि थप विषय जानकारी गराउनेछौँ’ उनले भने, ‘छानबिनको क्रममा कतिपय सूचना गोप्य राख्नुपर्ने पनि हुन्छ । त्यसैले मैले योभन्दा बढी केही बोलिनँ ।’
लाइफगार्डमा तीन वर्ष अगाडिदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो । यस अस्पताललमा दैनिक १ सय जनाले स्वास्थ्य बिमा कार्यक्रममार्फत् सेवा लिने गरेका छन् । एक सय जनाले स्वास्थ्य बिमामार्फत् उपचार गर्दा २ देखि पाँच जनाको दैनिक शल्यक्रिया हुने गरेको अस्पतालको अभिलेखमा देखिन्छ ।
स्वास्थ्य बिमा कार्यक्रम सुरु भएपछि स्वास्थ्य बिमाबाट अप्रेसनको भुक्तानी लिएपछि पनि चिकित्सक अहमदले बिरामीसँग अप्रेसन थिएटरभित्र सहयोगी राखेर १५ हजारदेखि ४० हजार रुपैयाँसम्म लिने गरेको बिरामीले गुनासो गरेका थिए । बिरामीलाई अप्रेसन थिएटरमा पसाएपछि बिरामीका आफन्तलाई चिकित्सक इकबालको टिमले कुनै पनि अप्रेसनको नाममा ४० हजारबाट डिल गर्न सुरु गरेर बिरामीको आर्थिक अवस्था हेर्दै १५ हजारसम्म लिएको बिरामी भेटिएका छन् ।
डा. इकबालले पथरीशनिश्चरे–२ की २९ वर्षीया निहा साम्बाको किड्नीमा रहेको पत्थरीको अप्रेसन गर्दा ठगी गरेका थिए । बिरामी साम्बाको शल्यक्रिया गरेबापत स्वास्थ्य बिमामार्फत् भएको २८ हजार २ सय ८४ रुपैयाँ भुक्तानी हस्पिटलले लिएको छ । स्वास्थ्य बिमाबाट २८ हजार बढी लिएपछि पनि चिकित्सक इकबालले निहाका श्रीमान् सचितसँग १५ हजार रुपैयाँ लिएका थिए ।
त्यसैगरी पथरीशनिश्चरे–२ की ४० वर्षीया धनेश्वरी लिम्बूको पनि किड्नीमा भएको पत्थरीको शल्यक्रिया गर्दा स्वास्थ्य बिमामार्फत् भुक्तानी लिएपछि पनि उनीसँग थप ३० हजार रुपैयाँ लिएको बताएका छन् ।