विराटनगर । भोजपुरको रामप्रसादराई गाउँपालिका–८ की २९ वर्षीया रक्तअल्पता भएकी गर्भवती महिला कविता राईको मोरङ सहकारी अस्पतालमा निःशुल्क उपचार भएको छ । आर्थिक अवस्था नाजुक भएकी राईको उपचार मोरङ सहकारीमा निःशुल्क भएको हो ।
गर्भवती राईसँग पैसा नभएपछि विराटनगरस्थित कोशी अस्पतालमा देखाएर घर फर्किदै थिइन् । उनी सुनसरीको वराहक्षेत्रबाट जेटबोट चढेर घर जाने तयारीमा रहेकी थिइन् । त्यही समयमा स्थानीय सञ्चारकर्मीले आर्थिक अवस्था अभावको कारणले उपचार नपाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । सो भिडियो भाइरल भयो । पैसा नभएर उपचार नपाएको भिडियो मोरङ सहकारीका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साहले जानकारी पाएपछि उनको उपचार निःशुल्क गरिदिने बताए ।
त्यसपछि स्थानीयको सहयोगमा कविता २४ जेठमा मोरङ सहकारी अस्पताल आइन् । उनको स्वास्थ्य परीक्षण गर्दा ७ महिना पूरा भएको ३२ हप्ताको गर्भ थियो । ‘गर्भको बच्चा ३२ हप्ता मात्रै पूरा गरेको र आमाको जटिलता कम गर्न बच्चा निकाल्नुपर्ने थियो । हामीले अस्पताल आएको भोलिपल्ट २५ जेठमा शल्यक्रिया गरी बच्चा निकाल्यौं । जटिल अवस्थामा उपचार गर्दागर्दै पनि आमा र बच्चा दुवैलाई बचाउन सकियो’–उपचारमा संलग्न चिकित्सक डा. साहले भने ।
गर्भवती कविताको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सक साहले बताए । उच्च रक्तचापले उनको शरीर सुन्निएको, मिर्गौला तथा कलेजोमा पनि असर गरि सकेको, कुपोषण र रक्तअल्पता भएको थियो । ‘रक्तअल्पता भएको कारणले शल्यक्रियापछि हामीले तीन पिन्ट रगत चढाएर बिरामीको सफल उपचार गर्न सकेका छौँ’ उनले भने, ‘आमा र नवजात शिशुको अवस्था अहिले राम्रो भएको छ । त्यसैले बुधबार बिरामीलाई डिस्चार्ज गरिएको छ ।’ मोरङ सहकारीका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीपकुमार झाले ३२ हप्तामा जन्मिएको नवजात शिशुको तौल १६ सय ग्राम रहेको बताए ।
‘महिना नपुगेको र तौल कम भएको नवजात शिशुमा विभिन्न जटिलताहरू देखापर्ने गर्दछ । यस्तो शिशुले तापक्रम ‘मेन्टेन’ गर्न सक्दैन । त्यसैले हामीले एनआइसियूमा राखेर उपचार गरेका थियौँ’ डा. झाले भने, ‘यसरी उपचार गरेपछि अहिले नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।’
अस्पतालका सञ्चालक मिलन पौडेलले आर्थिक अवस्था नाजुक भएको परिवारको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर निःशुल्क उपचार गरेको बताए । ‘पैसा अभावको कारणले कसैले पनि मृत्युवरण गर्नु नपरोस् भन्ने हाम्रो मान्यता रहेको छ । त्यही भएर हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर निःशुल्क उपचार गरी आमा र बच्चालाई बचाउन सफल भएका छौँ ।’
उपचारपछि कविताले नयाँ जीवन पाएको बताइन् । ‘बाँच्छुजस्तो लागेको थिएन । असह्य पीडा भएको थियो । उपचारपछि अहिले मजासँग हिँडडुल गर्न सक्ने भएकी छु’ डिस्चार्ज भएपछि उनले भनिन्, ‘उपचारमा संलग्न चिकित्सकको टिम र अस्पतालप्रति कृतज्ञ रहेको छु ।’ कविताका श्रीमान् भोजराज राईले पनि श्रीमतीलाई नयाँ जीवन दिन उपचारमा संलग्न चिकित्सक र हस्पिटल परिवारलाई धन्यवाद दिए ।