भद्रपुर । अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गरेको आरोपमा एक भारतीय नागरिकसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीसहित नागरिकता दुरुपयोग गर्ने कार्यमा सहयोग गर्ने कमल–५ का ४० वर्षीय सुमन चापागाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहार मोतिहारी थाना केतवाड–५ घर भई कमल गाउँपालिकामा सिरक, डसना बनाउने काम गर्दै आएका मन्सुरीले मो. फिरदौस अन्सारीको नागरिकताको विवरणसँग मिल्ने विवरण भरी फोटो टाँसी नागरिकता कीर्ते गरी नेपाली नागरिकता बनाएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

सोही नागरिकता प्रयोग गरेर कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. मा खाता खोलेको, उक्त नेपाली नागरिकता प्रयोग गरी झापा कमल वडा नं. ५ मा ११ धुर जग्गा खरिद गरेको, जन्मदर्ता, विवाह दर्तालगायतका कागजातसमेत बनाइसकेको डिएसपी चन्दले बताए ।

मो.फिरदौस अन्सारीको नागरिकता विवरण दुरुपयोग गरेको भन्ने सूचनाको आधारमा मन्सुरीलाई नियन्त्रणमा लिई घरकोठा तथा उनको शरीर खानतलासी गर्दा नागरिकताको विवरणसँग जस्ताको त्यस्तै मिल्ने विवरण भएको नागरिकता फेला परेको उनको भनाइ छ । जेठ २२ गते उनीहरूलाई दमक–६ बेलडाँगी रोडबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।