भद्रपुर । झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित भएका छन् । सामाजिक सुरक्षा कर बापत एक प्रतिशत कट्टी भइरहेकोमा महालेखा परीक्षकले १५ प्रतिशत कर लिने परिपत्र जारी गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।

महालेखा परीक्षकको अन्तिम लेखा परीक्षणले बाँकी १४ प्रतिशत दर्ता सहयोगीबाट नै असुलउपर गर्नू भनेपछि आन्दोलनमा उत्रिन बाध्य भएको दर्ता सहयोगी अनिल गौतमले बताए । २०८०  साउनदेखि पारिश्रमिकसमेत नदिएको उनले बताए । बिमा दर्ता गराएबापत १० प्रतिशत प्रोत्साहन रकममा १५ प्रतिशत कर कट्टी उचित नभएको भन्दै बिमा कार्यालयमा विरोध जनाएको उनले बताए । माग सम्बोधन नभएसम्म आन्दोलन जारी राखिने उनको भनाइ छ ।

रगत पसिना बगाएर काम गरिरहेको अवस्थामा सरकारले पारिश्रमिक रोकेर करको दायरा वृद्धि गरेकोमा आन्दोलन गरिएको दर्तासहयोगी रुमिला राईले बताइन् । २०७४ देखि बिमामा आबद्ध भए पनि हाल आएर १४ प्रतिशत रकम असुल गर्ने सरकारको नीति सच्याइनु पर्ने उनको भनाइ छ ।

झापाका विभिन्न पालिकाबाट आएका उनीहरूले बुधबार कालोपट्टी बाँधेर कार्यालयमा धर्ना दिँदै नाराबाजी गरेका थिए । कार्यालयमा ताला लगाउने जमर्को गरेपछि  प्रहरीले अवरोध गर्दै पक्राउ गरेर लैजाने आदेश भएको प्रहरीले बताएपछि उनीहरूले ताला लगाउन भने सकेनन् । दर्ता सहयोगीले कार्यालय प्रमुख लक्ष्मी कँडेललगायत कर्मचारीमार्फत् माग पत्र बुझाएका थिए ।

महालेखा परीक्षकले गत वर्षदेखि १५ प्रतिशत कर कट्टी दर्ता सहयोगीबाट असुल गर्नू भन्दै बेरुजु देखाएपछि समस्या आएको कार्यालय प्रमुख लक्ष्मी कँडेलले बताइन् । प्रत्येक तीन महिनामा हिसाब आउने भएकोले यो वर्षको तीन महिनामा ६८ लाख ८३ हजार ९ सय ४० रुपैयाँमा १५ प्रतिशत कर कट्टी गरी ५८ लाख ६२ हजार ८ सय ४९ रुपैयाँ भुक्तानी गर्न परिपत्र आएको उनले बताइन् ।

यो विषयमा स्वास्थ्य बोर्डले अर्थ मन्त्रालय, राजस्व विभागलाई पहल गरे पनि बेरुजु रकम दर्ता सहयोगीबाट नै असुल गर्ने परिपत्र आएको उनको भनाइ छ । जिल्लामा १ सय ७६ जना दर्ता सहयोगी रहेका छन् भने ७ लाख १३ हजार बिमामा आबद्ध रहेको कार्यालयले जनाएको छ ।