विजयपुर । धरान–१२ मा प्रधान कार्यालय भएको वराह ग्रुप अफ कम्पनीको सम्पत्ति काठमाडौं–१६ को स्तुति रिल्टेस प्रा.लि.ले सकार्ने भएको छ । वराहका दुईवटा भवन सकारिसकेको र अन्यको पनि सकार्ने कम्पनीले जनाएको छ ।
स्तुति रिटेल्सले वराह कम्पनी तथा वराह बचत तथा ऋण सहकारी संस्थाको दायित्व वहन नगर्ने जनाएको छ । रिटेल्स प्रा.लि.ले वराह कम्पनी तथा सहकारीको दायित्व वहन नगर्दा सहकारी निक्षेपकर्ताको रकम फिर्ता हुने झनै अनिश्चित बनेर गएको छ । बिहीबार वराह व्यवसाय समन्वय तथा अनुगमन समिति र स्तुति रिटेल्स प्रा.लि.बीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सहमति पत्रमा स्तुति रिटेल्सको तर्फबाट प्रबन्ध सञ्चालक विष्णुकुमार तिमिल्सिना तथा सञ्चालक ज्ञानेन्द्रबहादुर श्रेष्ठ र समन्वय समितिको तर्पmबाट अध्यक्ष श्यामप्रसाद ढकाल, विष्णुकुमार राई, रामकुमार लिम्बू, अमरबहादुर लिम्बू, सर्वजित राईलगायतका दर्जन बढीले हस्ताक्षर गरेका छन् । १६ बुँदे सहमतिमा सहकारी निक्षेपकर्ताको रकम फिर्ता गर्ने विषयमा केही सहमति छैन ।
स्तुति रिटेल्सका प्रबन्ध सञ्चालक विष्णुकुमार तिमल्सिनाका अनुसार हालसम्म दुईवटा भिजन स्तुति रिटेल्सले सकारेको छ । उनले धरान–१२ महेन्द्र पथ र धरान–८ धनकुटे रोडको भवन १ अर्ब ३५ करोड रुपैयाँमा सकारेको बताए । उनका अनुसार वराहले दुईवटा भवन धितो राखेर बैङ्कबाट १ अर्ब ५ करोड रुपैयाँ ऋण लिएको थियो । वराह सहकारी पीडित तथा कम्पनीका समेत पीडितले राहत पाउँछन् त ? भन्ने ब्लाष्टकर्मीको जिज्ञासामा स्तुतिका प्रबन्ध सञ्चालक तिमल्सिनाले भने, ‘शेयर सदस्य बन्ने परे । बनेनन् भने परेनन् ।’
शेयर सदस्य बन्नका लागि ५ हजार रुपैयाँ अनिवार्यरूपमा तिर्नुपर्ने व्यवस्था छ । वराह कम्पनी तथा सहकारीका १८ हजारभन्दा बढी पीडित छन् । यसरी हेर्दा स्तुति रिटेल्सले झण्डै एक अर्ब रुपैयाँभन्दा बढी रकम सङ्कलन गर्ने देखिन्छ । रकम सङ्कलन गरे पनि बचतकर्ताको रकम निक्षेप फिर्ता गर्ने बलियो आधार भने देखिँदैन । सहकारी पीडित प्रदीप बास्तोलाले वराहको कुनै पनि सम्पत्ति फुकुवा नगर्नू भनेर उच्च अदालत विराटनगरले आदेश दिएको बताए । उनले भने, ‘स्तुति रिटेल्सले ५ हजार उठाउँदैछ । त्यसमा पनि बचत रकम फिर्ता हुने ग्यारेण्टी छैन ।’
उनले प्राइम बैङ्कलाई समेत छानबिनको दायरामा ल्याई वराहको दायित्व फिर्ता गर्नुपर्ने अभियानमा रहेको बताए । ‘बैङ्कले लिलाम पनि मिलेमतोमा नै गरेको छ । स्तुति कम्पनीको १४ अर्ब दायित्व फिर्ता गर्ने ग्यारेण्टी के छ ?’ सहकारी पीडित बास्तोलाले भने, ‘पीडितलाई अल्मल्याउने काम मात्र हो । निक्षेप रकम फिर्ता हुने निश्चितता छैन ।’ सञ्चालक तिमल्सिनाले वराह सहकारी तथा कम्पनीसँग कुनै सम्बन्ध नहुने स्पष्ट पारे । उनले सबै सदस्य बन्नुपर्ने बताए । उनले भने, ‘नाफाबाट पीडितलाई दिने हो । घरबाट दिने होइन ।’
उनले वराहको सम्पत्ति बैङ्कबाट झिकेर जनतालाई दिने दाबीसमेत गरे । उनले भने, ‘हाम्रो खर्च कटाएर बाँकी रहेको रकम पीडितको बास्केट फण्डमा दिने हो ।’ पीडितलाई ३३ प्रतिशत मुनाफा दिने सहमति छ ।
सहमतिमा वराह ग्रुप अफ कम्पनी प्रा.लि. अन्तर्गतका वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. (धरान ५ कि.नं. ३४० को क्षेत्रफल ०–०–८, ऐ.ऐ., वडा नं. ५, कि.नं.३४१ र ३९६ को क्षे.फ.०–०–१६.५), श्रीपा सुपर स्टोर प्रा.लि., धरान ७(ख) कि. नं. १२३२, २५४०, २३८३, ९६३, १२२९, १२३०, २५४४ को क्षे.फ.०–६.७५–० र व्यावसायिक भवन १ लाख १७ हजार १ सय ५ वर्गफिट सकार्ने उल्लेख छ । वराहका व्यावसायिक प्रतिष्ठान तथा सञ्चालकका प्राइम कमर्सियल बैङ्कमा रहेका सम्पत्तिहरू सकार गरिदिने सहमति भएको छ । स्तुति रिटेल्स प्रा.लि.को व्यवसाय सुरु गर्नु ५ महिनाअघि १ करोड रुपैयाँको वराहका बचतकर्ताका लागि उद्दार कोष तयार गर्ने सहमति छ ।
स्तुति रिटेल्सले व्यवसाय सुरु गरेको ३ महिनापछि व्यवसायबाट प्राप्त खुद नाफाको ३३ प्रतिशत (३ भागको एक भाग) वराहका लगानी तथा बचतकर्ताले बचत गरेको आधारमा भुक्तानीको प्रयोजनको लागि बास्केट फण्डमा जम्मा गर्ने सहमति छ । कोषको रकम वराहका पीडित बचतकर्ताको उप–समिति गठन गरी निर्देशिका तयार गरी वितरण गरिने सहमति छ । ५ हजार रुपैयाँसम्म शेयर खरिद गर्न नसक्ने पीडितका लागि समन्वय समितिको उप–समितिको निरीक्षणमा उद्दार कोषबाट ५ हजारसम्मको शेयर खरिद गरी प्रमाण–पत्र दिइनेछ ।
उक्त रकम लगानीकर्ता तथा बचतकर्ताको वराहको खाताको रकमबाट काटिने छ । सहमतिमा वराहको प्राइम बैङ्कमा धितो राखेको श्रीपा भवन र वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. लगायत अन्य कम्पनी, व्यक्तिगत नाममा रहेका सम्पत्तिहरू र कोशी प्रदेशलगायत धरानमा रहेका जग्गाहरू र सो जग्गाहरूमा बनेका भवनहरू र अन्य बैङ्क तथा वित्तीय संस्थाहरूमा धितो राखेको सम्पत्ति पनि स्तुति रिटेल्सले सकार्ने उल्लेख छ । सहमतिमा कम्पनीमा कर्मचारी नियुक्त गर्दा कार्यकारी प्रमुखबाहेक वराहका पीडितलाई राख्ने उल्लेख छ ।
स्तुति रिटेल्सको लगानी उचित मूल्यमा वराहका पीडित शेयर सदस्यले खरिद गर्न चाहेमा ५ देखि ७ वर्षभित्र दिने पनि उल्लेख छ । वराहका सम्पूर्ण सरोकारवालाले स्तुतिबाट आवश्यक तथा दैनिक उपभोग्य सामग्रीहरू खरिद गर्नु पर्नेछ ।
वराह कम्पनी खारेजी प्रक्रिया रोक्का
वराह ग्रुफ अफ कम्पनी प्रा.लि.को खारेजी प्रक्रिया रोक्का गर्न कम्पनी रजिष्ट्रार कार्यालयमा निवेदन दर्ता भएको छ ।
वराह सहकारी पीडित प्रदीप बास्तोला र पुकार शाक्यले कम्पनी खारेजीको प्रक्रिया रोक्का गर्न २०८० चैतमा निवेदन दर्ता गरेका हुन् । निवेदक बास्तोलाले भने, ‘वराह सहकारीको सबै रकम कम्पनीमा हालेको छ । कम्पनी खारेज भएपछि सहकारी पीडितको रकम फिर्ता हुँदैन भनेर रोक्का गरेका हौँ ।’
वराह ग्रुप अफ कम्पनी अन्तर्गत वराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले धरान–८ स्थित कार्यालय खोली शेयर सदस्य र बचतकर्ताको बचत रकम हिनामिना गरेको निवेदनमा उल्लेख छ । ‘सहकारी ऐनविपरीत वराह सहकारीले ग्रुप अफ कम्पनीमा लगानी गरी बचत रकम फिर्ता नगरेको निवेदनमा उल्लेख छ । धरान उपमहानगरपालिकामा बचतकर्ताहरूका तर्फबाट निवेदन दिई सहकारी कारबाही प्रक्रियामा रहेको र वराह सहकारीका सञ्चालकहरू नै वराह ग्रुपका सञ्चालक भएकाले खारेजी नगर्न माग गरेका हुन् । वराह ग्रुपका सञ्चालकबाट कम्पनी खारेजीको प्रस्ताव आएमा खारेजीको प्रक्रिया समस्या समाधान नभएसम्मको लागि रोक्का गरिदिन अनुरोध गरिएको छ । उनीहरूका अनुसार अहिले खारेजी प्रक्रिया रोक्का भइसकेको छ ।
सहकारी अनुगमन निर्देशिका नै छैन
धरान उपमहानगरपालिकाले हालसम्म पनि सहकारी अनुगमन मापदण्ड नै बनाउन सकेको छैन । मापदण्डविना अनुगमन कसरी गरिहेको छ ? सहकारी अनुगमन नै हुँदैन ? प्रश्न उठेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा ‘सहकारी ऐन, २०७५ मात्र जारी भएको तर नियमावली, निर्देशिका, अनुगमनसम्बन्धी मापदण्ड जारी नभएको’ उल्लेख छ । उपमहानगरभित्र ८७ वटा सहकारी संस्था छन् ।
अझै भएनन् समस्याग्रस्त घोषणा
सात अर्बभन्दा बढी बचतकर्ताको रकम अपचलन गर्ने वराह सहकारी एक वर्षसम्म पनि समस्याग्रस्त घोषणा गरेको छैन । धरानका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यको कारणले समस्याग्रस्त घोषणा नभएको हो । समस्याग्रस्त घोषणा नहुँदा कारबाही प्रक्रिया पनि अघि बढ्न सकेको छैन । महालेखा परीक्षकको प्रतिवेदनमा ‘१८ हजारभन्दा बढी बचतकर्ताको ७ अर्बभन्दा बढी बचत रकम फिर्ता नदिने वराह सहकारी संस्थालाई सहकारी ऐन बमोजिम समस्याग्रस्त संस्था घोषणा गरी कानूनी कारबाही अगाडि बढाउनु पर्नेमा विगत १ वर्षदेखि केही नगरेको’ उल्लेख छ ।
वराह सहकारी सञ्चालकले सहकारी कानून तथा सिद्धान्तविपरीत लगानी गरेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार वराह ज्वेलरी इण्डष्ट्रिज, वराह डिपार्टमेण्ट स्टोर, वराह चिल्ड्रेन वल्र्ड, वराह फेमिली किचेन, वराह कृषिउपज तथा पशुपालन, ह्याप्पी गो लक्की, वराह मोटर्स, श्रीपा सुपर मार्केट, इन्द्र वराह ट्राभल्स एण्ड टुर्स प्रा. लि. र वराह भेडेटार मल्टीपर्पोज कम्पनी प्रा. लि.मा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, सहकारीले घरजग्गा खरिद गर्दा सहकारी ऐन नियमविपरीत खरिद गरेको छ । तरलता १५ प्रतिशत नराखी लगानी गरेको, कुल पुँजी कोषको १० प्रतिशतभन्दा बढी एक व्यक्तिलाई ऋण लगानी गरेको, प्राथमिक पुँजी कोषको १५ गुणाभन्दा बढी बचत सङ्कलन गरेको थियो ।
संस्थाका ४९ प्रतिशतभन्दा बढी सञ्चालक सदस्यले एकै पटक ऋण लिएको, बढी प्रतिशतमा ऋण लगानी गर्ने गरेको, स्प्रेडदर ६ प्रतिशतभन्दा बढी कायम गर्ने गरेको, संस्थाका सञ्चालकले ऋणको अनुमोदन गर्ने नगरेको र शेयर सदस्य नबनाई कारोबार गर्ने गरेकाले वराह सहकारी समस्याग्रस्त भएको हो । यस्तै ३ करोड बढी रकम ठगी गर्ने श्रेया बचत तथा ऋण सहकारी संस्थालाई पनि समस्याग्रस्त घोषणा गरिएको छैन । ‘श्रेया सहकारीका सञ्चालकलाई ठगीमा कारबाही अघि बढाइएको भए तापनि संस्थालाई समस्याग्रस्त घोषणा नगरेको’ प्रतिवेदनमा उल्लेख छ ।
ऐनविपरीत शुल्क लिने सहकारीलाई भएन कारबाही
धरान उपमहानगरपालिकाले ऐनविपरीत शुल्क असुल गर्ने सहकारीलाई पनि कारबाही गरेको छैन । सहकारी ऐन, २०७५ को दफा ३९(३) मा बचत तथा सहकारीले सेवा शुल्क र नवीकरण शुल्क लिन नपाउने व्यवस्था छ । तर ‘शुल्क लिइरहेको अनुगमन प्रतिवेदनमा उल्लेख गरे पनि सहकारीलाई कारबाही नगरेको’ प्रतिवेदनमा छ ।