हरेक बजेटमा फलाम खानीको विषय मौन
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ को सेल्मे फलाम खानी सञ्चालनमा राज्य मौन छ ।
कोशी प्रदेश सररकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको लागि यही असार १ गते बजेट भाषण गरे पनि ‘सेल्मे फलाम खानी’का विषयलाई समेटेनन् । ९ नम्बरका वडाध्यक्ष नभराज माङपाहाङका अनुसार करिब एक सय ५० वर्षअघिबाट स्थानीय स्तरमा फलाम खानी सञ्चालनमा रहेको थियो । स्थानीय जानकारको भनाइ उद्धृत गर्दै उद्योगकै रुपमा विकास भएको उनको दाबी छ । २०१३ सालसम्म सञ्चालनमा रहेको स्थानीय जानकार बताउँछन् ।
आजको अवस्थामा फलाम खानी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ । यहाँबाट उत्खनन गरिएको फलाम राम्रो रहेकाले अहिले पनि गाउँघरमा यहाँको फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानीय कालीगढ हर्कराज विश्वकर्मा बताउँछन् । पुर्खाले यहीँ नै फलाम उत्खनन गरेर आवश्यक सामग्री निर्माण गर्ने गरेको उनको भनाइ छ । उनका अनुसार अहिले पनि उद्योग सञ्चालन गरिएको स्थान आसासमा फलामको किट पाउने सकिन्छ ।
यसलाई ऐतिहासिक फलाम खानीको रुपमा रहेको स्थानीयको दाबी छ । ‘सेल्मे फलाम खानी जिल्लाको उत्कृष्ट फलाम खानी रहेको बाउबाजेबाट मैले सुनेको हँु’ हर्कराजले भने, ‘हाम्रा बाउबाजे पितापुर्खाले यहीँको फलामबाट निर्माण गरेका सामग्री अहिले पनि गाउँघरमा भेटिन्छन्, यहाँको फलाम उत्खननमा राज्यले ध्यान दिन आवश्यक छ, अहिले हामीले बाहिरबाट फलाम ल्याएर काम गर्नुपर्ने अवस्था छ ।’
सेल्मे क्षेत्रका करिब नौ घरपरिवारले अहिले पनि व्यावसायिक रुपमा कालिगढ पेसा अँगालिरहेको अर्का कालिगढ तीर्थकुमार विश्वकर्मा बताउँछन् । राज्यले यहीँ नै फलाम खानी सञ्चालनमा पहल गरी दिए सहजता हुने उनको भनाइ छ ।
‘बाजेबराजुले यहीँको फलामबाट आरन उद्योग सञ्चालन गर्नुहुन्थ्यो’ उनले भने, ‘हाम्रो पालोमा आउँदा खानी बन्द भएको अवस्था छ, यहीँको स्रोत साधनको प्रयोग गर्न पाए राज्यको पैसा बाहिर जानबाट रोकिने थियो, अहिले हामीले बाहिरको देशबाट आएको फलामको प्रयोग गर्नुपर्ने अवस्था छ, यसमा राज्य पनि गम्भीर बन्न आवश्यक छ ।’
राज्यले ध्यान नदिँदा फलाम खानीलाई प्रयोगमा ल्याउन नसकेको स्थानीय बताउँछन् । यहाँको देवी खोला, छोक्ला, सेल्मेलगायत स्थानमा फलामको धाउ पाइने वडाध्यक्ष माङपाहाङ बताउँछन् । सेल्मे क्षेत्रमा फलामको राम्रो सम्भावना रहेकाले राज्यले यसको उत्खननमा जोड दिनुपर्ने उनको पनि भनाइ छ ।
‘स्थानीय जानकारका अनुसार यहाँ करिब एक सय ५० वर्ष अघिबाट खानीलाई आफ्नै किसिमले सञ्चालनमा ल्याएको बुझिन्छ’ वडाध्यक्ष माङपाहाङले भने, ‘अहिले पनि यहाँका आसपासमा खानी उत्खनन बेलाका किटलगायत फलामको धाउ निकालिएका स्थानहरु छन् ।’
२०१३ सालमा आई खानी बन्द गर्नुपर्ने कारण चाहिँ खुल्न सकेको छैन ।
राससको सहयोगमा