उर्लाबारी । मोरङका सातवटा स्थानीय तहका करिब ६८ हजार घरधुरीले एउटै समूहबाट वन पैदावरको सेवा पाएका छन् ।
मोरङ पथरीशनिश्चरेस्थित साझेदारी वन उपभोक्ता समूहले सात वटा स्थानीय तहका ६७ हजार सात सय ९४ घरधुरीलाई वन पैदावार तथा वनजन्य सेवा उपलब्ध गराउँदै आएको हो । समूहको आठौँ वार्षिक साधारणसभाको क्रममा स्थापनाको उद्देश्य नै उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ, रतुवामाई, सुनवर्षी र रंगेली नगरपालिकाबासीलाई वन पैदावार तथा वनजन्य सेवा उपलब्ध गराउने रहेको जनाएको छ ।
समूह २०७३ सालमा स्थापना गरिएको हो । सेक्टर वन कार्यालय मंगलबारेका कार्यालय प्रमुख तथा वन समूहका सदस्य सचिव नवीनराज दाहालका अनुसार आठौँ वार्षिक साधारणसभामा सात पालिकाबाट छनोट भएका तीन सय ६७ जना सभाषद्हरु सहभागी रहने प्रावधान छ ।
समूहका अध्यक्ष दोर्णबहादुर पौडेलले प्रगति प्रतिवेदन पेश गरे । यस्तै वन कार्यालयका कर्मचारी अमृतबहादुर लिम्बूले आर्थिक प्रतिवेदन पेश गरेका थिए । दुवै पेश गरिएको प्रतिवेदन सभाले पारित गरेको थियो । कार्यक्रममा उपस्थित वक्ताहरुले वनको जगेर्नामा सबैको भूमिका आवश्यक रहेको बताएका थिए । पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।