विराटनगर । यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकुद प्रतियोगितामा विजेता भएका खेलाडीलाई मोरङ जिल्ला एथलेटिक्स सङ्घ र कोबास कलेजले सम्मान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा सहभागी भई विजेता भएका खेलाडीलाई सङ्घ र कलेजले शुक्रबार सम्मान गरेको हो ।

यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट सटपुट पुरुषतर्फ छिरिङ शेर्पा, लङजम्प महिलातर्फ निकिता लिम्बू, महिलातर्फ १ सय मिटर रिले दौडतर्फ दोस्रो हुने क्रमशः सिर्जना विश्वकर्मा, सुष्मा निरौला, विनिशा रिजाल, निकिता लिम्बूलगायतका खेलाडीलाई संघले सम्मान गरेको छ ।

उक्त सम्मान कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव पर्शुराम बस्नेत, जिल्ला खेलकुद सङ्घका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङ, मोरङ जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष दिनेश कर्ण, उपाध्यक्ष सुनिल श्रेष्ठ, मोरङ जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष दिनेश कर्णलगायतले नगद, मायाको चिनो, टि–सर्ट, खादा लगाएर सम्मान गरेका थिइ ।

विजेता खेलाडीलाई कोबास कलेजले खेल सामग्री, छात्रवृत्ति र पुरस्कारको व्यवस्था गरेको थियो । सटपुटमा विजेता हुने खेलाडीहरुलाई पाँच हजार, तीन हजार, दुई हजार र सहभागी सबैलाई २ हजार रुपैयाँ कोबास कलेजले दिने प्रिन्सिपल सुनिल श्रेष्ठले बताए । सहभागी भएका प्रत्येक खेलाडीहरूलाई छात्रवृत्ति पनि दिने उनले बताए ।