धरान।पन्ध्र हजारको लगानीबाट थालेको व्यवसायले महिनाको १५ लाख रुपैयाँ कमाइ हुन थालेपछि धरान उपमहानगरपालिका–१४ की रामकुमारी श्रेष्ठलाई ‘सपना’ जस्तो लागेको छ ।
२६ वर्षअघि १५ हजार रुपैयाँ लगानी गरी फलफूल बेच्न थालेकी श्रेष्ठ दैनिक ४० देखि ५० हजार रुपैयाँसम्म कमाइ गर्ने बताउँछिन् । तर, यी २६ वर्षमा उनले अनेकन हण्डर र ठक्कर खाइन्। घामपानी, धुलोमैलो केही नभनी सडकको पेटीबाट सुरु गरेको व्यापारले अहिले चाहिँ सुख दिन थालेको अनुभूति उनको छ।
‘भानुचोकको सडकछेउमा छाताको भरमा फलफूल बेच्दा अनेकन सङ्कट सामना गरेँ’ उनी भन्छिन्, ‘घामपानी, हावाहुरी, धुलोमैलो केही भनिनँ। एकोहोरो लागिरहेँ ।’२०५५ सालमा फलफूल बेच्दा आजको जस्तो फलफूल बिक्ने माहौल थिएन । ‘त्यसबेला मानिसहरूलाई फलफूल खानुपर्छ भनेर ज्ञान पनि नभएर होला खासै फलफूलको व्यापार हुन्नथ्यो। अलि सम्पन्न परिवार र पैसा हुनेले मात्रै खान्थे’–उनी विगत स्मरण गर्छिन्।
धरान उपमहानगरपालिका–३ मा सब्जीबजार खुलेपछि भानुचौकको सडक पेटी छाडेको उनी सुनाउँछिन्। ‘२०५९ सालमा यता सारेको हो’ उनी भन्छिन्, ‘यता सारेपछि विस्तारै व्यापारले गति लिन थाल्यो ।’ सुरुवाती दिनमा फलफूल बेचेर भाडा तिर्न पनि नपुग्ने अवस्था थियो ।
मानिसहरूमा फलफूल खानुपर्छ भन्ने चेतना विकास भएसँगै फलफूल व्यापारले गति लिन थालेको उनी बताउँछिन् । त्यही फलफूल बेचेरै उनले सातजनाको परिवार मात्रै धानिनन्। छोराछोरीलाई उच्च शिक्षा दिनसम्म सफल भइन्।
उनलाई श्रीमान् होमबहादुरले पनि साथ दिएका छन्। होमबहादुर कृषिउपज बजारस्थलमा फलफूलको थोक (होलसेल) पसल चलाउँछन्। यता उनी चाहिँ खुद्रा पसल चलाउँछिन्। विगतमा भने श्रीमान्ले फलफूल ल्याउन सघाउँथे।
पछि मात्रै थोक पसल खोलेको उनी सुनाउँछिन् । अहिले भने छोरा सुमन र छोरी कृष्टीले पनि सघाउँछन्।
उनीहरूले पसलमा सामान झार्न, अर्डर दिन र हिसाबकिताब राख्न सहयोग गर्छन्। उनको परिवारै फलफूल व्यवसायमा अडिएको छ ।
‘जे कुरा पनि सुरुका दिनमा साह्रै गाह्रो हुँदो रहेछ। तर, गर्दै जाँदा त्यसैबाट राम्रो हुने रहेछ। निरन्तरता र मिहिनेत चाहिने रै’छ’ –उनी भन्छिन्। उनी नेपालमै कृषि तथा फलफूलमा अपार सम्भावना भएको देख्छिन्। उनको अनुभवमा फलफूलको बजार राम्रो छ ।
सिजनअनुसारको फलफूल मात्रै बिक्री गर्नसके पनि राम्रै आम्दानी हुने उनी बताउँछिन्। विशेषगरी फलफूलको व्यापार चाडपर्वको समयमा हुने गर्छ। साउनदेखि मङ्सिरसम्म फलफूलको अत्यधिक माग हुने गरेको छ। त्यही बेला नेपालीहरूको विभिन्न चाडबाड आउने गरेका कारण पनि फलफूलको माग ह्वात्तै बढ्ने गरेको छ।
बाह्रै महिना चाहिँ स्याउ, केरा र अङ्गुरको बढी माग हुने गरेको छ । यी दुई फलफूल चाहिँ बाह्रै महिना पनि पाउने गरेको छ। उनी भन्छिन्, ‘गर्मी सयममा फलफूलको व्यापार अलि कम हुन्छ। माघदेखि जेठसम्म सिजनअनुसारको फलफूल मात्रै बिक्छ ।’
गर्मीमा खरबुजा, आँप, लिची, आरुबखडा बढी बिक्री हुने गरेको छ। असारदेखि किबी, ड्रागन फ्रुट, अम्बक बिक्री हुने गरेको छ । केरा चाहिँ नजिकैका सहर तथा गाउँहरूबाट आउने गरेको छ।
उनका अनुसार पानबारी, चतरा, याङ्शिला, सत्तिसाले, मोरङ, सुनसरीबाट केरा आउने गरेको छ । त्यस्तै स्याउ चाहिँ चीन र भारतको कास्मिरबाट आउने गरेको छ भने एक सिजनमा चाहिँ नेपालको स्याङ्जा जिल्लाबाट पनि आउने गरेको छ।