विजयपुर । धरानमा भोलि (शुक्रबार) विश्व सङ्गीत दिवस मनाइने भएको छ ।
धरान सङ्गीत प्रतिष्ठानले विविध कार्यक्रम गरी दिवस मनाउने पत्रकार सम्मेलन गरी जनाएको छ । संसारभर जुन २१ म संगीत दिवस मनाइँदै आएको छ । धरान–८ वराह कम्प्लेक्समा संगीत दिवस मनाइने प्रतिष्ठानका अध्यक्ष रमेश राईले बताए । उनले भने, ‘धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०७९÷८० को बजेटमा सङ्गीत दिवसको बजेट रातो किताबमै समेटिने प्रतिबद्धता जनाए पनि रकम नछुट्याउनु भएकोले यसपालि इन्डोर कार्यक्रम गर्ने तयारी भएको छ ।’
सन् १९८२ देखि मनाउन थालिएको विश्व संगीत दिवस नेपालमा २०५४ देखि काठमाडौँमा मनाइँदै आएको छ । धरानमा २०७० सालबाट वरिष्ठ गायक एवम् संगीतकार दीप श्रेष्ठको अभिभावकत्वमा विश्व संगीत दिवस मनाइएको थियो ।
प्रतिष्ठानका सल्लाहकार वरिष्ठ गायक दीप श्रेष्ठले भने, ‘काठमाडौँमा ठुलो कार्यक्रम हुने भए पनि धरानको माटो प्यारो भएकोले विश्व संगीत दिवस मनाउन धरान आएको हुँ ।’ दिवसमा संगीत गुरु सन्दीप प्रधान र विनोद प्रियदर्शीलाई सम्मान गरिने अध्यक्ष राईले बताए ।