धरान । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले सुनसरी धरान उपमहानगरपालिका २० विष्णुपादुकास्थित वंशीलामा लाली गुराँसको बिरुवा रोपेको छ । 

विष्णुपाउ सामुदायिक वन तथा हिमालय ध्यान केन्द्रमा ६ सय २६ वटा बिरुवा रोपिएको क्षेत्रीय सभापति सुजेन्द्र गोलेले जानकारी दिए । रातो फुल्ने लाली गुराँसको बिरुवा रोपिएको उनले जानकारी दिए । बिरुवा रोपणसँगै संरक्षणका लागि बिरुवा बार्ने काम पनि भएको उनले जानकारी दिए । 

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बिरुवा रोपी शुभारम्भ गरेका थिए । उनले गुराँस लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै लाली गुराँसको संरक्षण आवश्यक रहेको बताए । स्थानीय पुष्प तामाङले स्थानीयवासीको तर्फबाट डा. कोइरालालाई ज्ञापन पत्र बुझाएका थिए । वंशाली क्षेत्र समुन्द्र सतहदेखि करिब १४०० देखि १६०० मिटर उचाइमा रहेको छ । सभापति गोलेले धरानलाई नयाँ पहिचान दिलाउनका लागि लाली गुराँस रोपिएको बताए ।