शिरवन्दी सिउरिएर
सद्भावमा निहुरिएर
सुन्दरतामा चम्किएर
प्रगतिमा लम्किएर
सबको माया प्रेमको मन्दिर
हाम्रो प्यारो पथरी शनिश्चरे .................
रचना: पत्रकार तथा साहित्यकर्मी भूपेन्द्र तिम्सिना र संगीत: देव गुरुङको रहेको नगर गीत अहिले नगर क्षेत्रमा हरेक कार्यक्रममा गुन्जिने गर्दछ । गीत गुन्जिदा नगरबासीहरूको हर्षले छाती फुलिने गर्दछ । २०७४ सालमा तत्कालीन मेयर दिलिपकुमार राई र उपमेयर यामुना विष्ट बास्तोलाको पालमामा नगर गीतको भिडियोसँगै अडियोको गीत गुन्जिन थाल्यो ।
त्यति मात्र होइन तत्कालीन मेयर दिलिपकुमार राई र उपमेयर यामुना विष्ट बास्तोलाकै पालमामा २०७५ सालमा नगरको लोगो पनि निर्माण गरी प्रयोगमा ल्याएका थिए । पूर्व क्षेत्रकै पहिलो आफ्नै लोगो प्रयोग गर्ने पालिका भनेर परिचित नै छ । लोगो पथरी शनिश्चरे निवासी कलाकार सरोजा खड्गीले निर्माण गरेकी हुन् । त्यतिमात्र होइन यस क्षेत्रमा अहिले कलाकार जीवन बरालको नेतृत्वमा नाट्य क्षेत्र पनि उतिकै अघि बढिरहेको छ ।
पथरीशनिश्चरे नगर क्षेत्रमा गीत, कविता, चुड्कीला, गजल, चित्रकला र वास्तुकलामा मात्र सीमित रहेन । त्यसको प्रभाव ‘नगर गीत’ सँगै र नगरको आफ्नो ‘लोगो’ पनि निर्माण गरेर कला र साहित्यको प्रवर्धन गरेका छन् । यसको श्रेय कलाकारलाई भन्दा पनि स्थानीय सरकारलाई जान्छ । भाषा, कला र साहित्य प्रवर्धन गर्न नगरले उतिकै माया गरेको छ । २०७४ सालदेखि चार लाख हुँदै अहिले छ लाखसम्म रकम विनियोजन गर्दै आएको छ ।
सो रकमबाट कला साहित्य प्रवर्धन समितिले कलाकारहरूको विभिन्न क्षमता अभिवृद्धिको लागि कार्यक्रम र सम्मान गर्दै आएको छ । अति हुनुमा सर्जकहरूको कला, साहित्यको लामो इतिहासको कारण अहिले नगरमा कला, साहित्यले राम्रो जरा गाडेको छ ।
साविक पथरी, शनिश्चरे र हसन्दह गाउँ विकास समिति मिलेर बनेको कृषिमा आधारित नगरपालिका सिर्जनाको क्षेत्रमा पनि मलिलो छ । अर्थात् भाषा, कला, साहित्य र संस्कृतिमा कमी छैनन् । यहाँ निगुरो र सिमसाग पाइने ठाउँको चिनारी रूपमा परिचित छन् ।
पञ्चायती व्यवस्था विरुद्धको संघर्षमा सर्जकहरू अग्रसर बनेको अवस्थाबाट यस क्षेत्रको सिर्जनशील गतिविधिले जरा गाड्न थालेको थियो । त्यो बेला वीरध्वज शिवा, खेम नेपाली, महेश बुढाथोकी, नवीन सुवेदीहरू गाउँबस्तीमा जनता ब्यूँझाउने गीत गाउँदै हिँड्थे । त्यसबेला जनगायक जेवी टुहुरे, लव प्रधान, कुन्दन राईहरू पथरीशनिश्चरे क्षेत्रमा आएर सिर्जनाको गतिविधि गर्थे । तत्कालीन शनिश्चरेमा जनक बस्नेतको अगुवाइमा गञ्जमान राईसहितबाट जागरणका रूपमा गीत, नृत्य र नाटिका हुने गरेका थिए । त्यसखाले गतिविधिले गायन र नृत्यमा यो क्षेत्र अगाडि आएको इतिहास पाइन्छ ।
गीतसंगीत:
पुराना लोकगायक वीरध्वज शिवाहुँदै महेश बुढाथोकी, शक्तिवल राई, विक्रम राई, अमीर राई, रविन कन्दङ्वा, पुष्प बराल, दिपराज नियोङहाङ, देव गुरुङ, नन्दु गुरुङ, अर्जुन सेन्चुरी, समीर विक, गौरव दर्पण, विकेश साउदेन, विनोद राई, निर्मला विश्वकर्मा, जगत राई, विजुला विश्वकर्मा, सुधाश्रेया दवाडी, दीपक बराइली, सम्झना राई, गंगाप्रसाद घिमिरेहरू निरन्तर सक्रिय छन् । विनोद राई त तेस्रो नेपाली ताराको सातौँ स्थानसम्म आफूलाई उकाल्न सफल भएका गायक हुन् । राज लोहारहरू गीत संगीतमा राम्रो सम्भावना बोकेर उदाएका छन् । पुराना सारंगी वादक गायक नेत्र दवाडीको छुट्टै पहिचान छ । राम थापा नगरका पहिलो लोकदोहोरी गायक हुन् । पथरीका पूर्व प्रधानपञ्च कर्णबहादुर राईले पनि पञ्चायतकालमै ४ वटा गीत रेडियो नेपालमा रेकर्ड गराएका थिए ।
वीरध्वज शिवा नगरमा एल्बम निकाल्ने पहिलो गायक हुन् । उनले ०४५ सालमा ‘मै परें जालैमा’ लोकाधुनिक एल्बम सार्वजनिक गरे । त्यसअघि सो एल्बममा समेत समेटिएको ‘जाग उठ हे वीर तन्नेरी हो’ रेडियो नेपालमा रेकर्ड भएको थियो । अमीर राईको ‘सप्रेम’, रविन कन्दङ्वाको ‘दिलहिरा’ देव गुरुङको ‘जमर्काे’, शक्तिवल राईको ‘फूलै सिमल’, सन्तोष ओगेघा राईको ‘मेमोरी’ विनोद राईको ‘पारा’, नन्दु गुरुङको ‘जमाना’, समीर विश्वकर्माको मोनालिसा, गौरव दर्पणको पूर्वै रमाइलो एल्बम आएको छ । मोनासिलाले इमेज अवार्ड जितेको थियो । टोनी तामाङ, मञ्जित राई, खड्ग राई र सुवास खड्काहरूले ‘सोल्टीनी कान्छी’ एल्बम ल्याएका थिए ।
अन्तर विद्यालय सिङ्गिङ स्टारमार्फत ०६७ ‘पहिलो पाइला’ बाल गीति संग्रह आयो । ओजस्वी कला केन्द्रका सोम याम्फू, लालिमा श्रेष्ठमार्फत सोपान, कसम हजूरको एल्बम निस्कियो । विकेश साउदेनको एकल संगीतमा सुमन राई, नगेश काफ्लेहरूको गजल समेटेर निर्माण भएको नगरको पहिलो गजल एल्बम ‘जीजीविषा’ हो । अन्य दर्जनौं एल्बम आएका छन् । गायिका अञ्जु गौतम पनि यहीँको गीत संगीतको सिकाइबाट देशभर चिनिन पुगेकी छन् । अर्जुन सेन्चुरी, कुलदीप घले, मञ्जित मगर, सुवास मगर, सावन मगरले ‘युग ब्यान्ड’ बनाएका थिए । शनिश्चरेमा नेमलेस ब्यान्ड थियो । यलम्वर चोकका युवाहरूले सांगीतिक समूह बनाएर सक्रियता झल्काएका छन् ।
देव गुरुङ, गणेश वाछना, गोपाल काफ्ले र रोस्मन राईले ‘हाम्रो पथरी राम्रो पथरी’ डकुमेन्ट्री निर्माण गरेका थिए । जय राई, अवोध पन्धाकहरूले सृजना कलाकेन्द्रमार्फत दोकदोहोरी प्रतियोगिता गरेका थिए । सोम याम्फूहरूले ओजस्वी कलाकेन्द्र सञ्चालन गरेर कला क्षेत्रको विकासमा योगदान पुर्याए । नृत्य सिकाउनमा पथरी डान्स सेन्टरमार्फत राम विश्वकर्मा, अविनाश विश्वकर्मा, द डान्स ग्यालरीमार्फत अभिषेक मगर सक्रिय छन् । शनिश्चरेमा नटराज कलाकेन्द्र छ ।
जातीय कला साहित्य र संस्कृतिमा पनि नगर सक्रिय छ । विष्णु गुरुङ, अगम गुरुङको नेतृत्वको ‘तमु रोधी सांस्कृतिक परिवार’ सांस्कृतिक रूपमा क्रियाशील संस्था थियो । भूवनेश्वर पोखरेल, रेनुका काफ्लेहरू बालन र संगीनीको मौलिकता जोगाउन लागिपरेका छन् । यही नगरमा बसोवास गरेका नेपाली मूलका भुटानीहरू पनि सिर्जनामा क्रियाशिल छन् ।
साहित्य:
गीतसंगीतसँगै साहित्यिक गतिविधिको इतिहास केलाउँदा तत्कालीन पथरी १ मा गठित क्षितिज एकता मञ्च ०५० को दशकमा कला, साहित्य र सामाजिक गतिविधिमा सक्रिय थियो । देउमान सम्वाहाङ्फे, धनकुमार तामाङ, प्रदीपकुमार राईहरूको सक्रियतामा मञ्चको आफ्नै भवन थियो । त्यसबाट विमला तुम्वेखा, भूपेन्द्र तिम्सिना, रोहित पराई, सुमन राई, भरत भट्टराईहरूको सम्पादनमा हवाइ पत्रिका ‘क्षितिज’ समेत प्रकाशित भयो ।
०५१ सालमा सोमनाथ निरौला, जीवन शर्मा (पुरुषोत्तम मिश्र), सीएम कन्दङ्वा, चन्द्र सुब्बाहरूको अगुवाइमा पथरीमा साहित्यिक गतिविधि अघि बढ्यो । साँझ साँझमा भेला भएर रचना सुन्ने सुनाउने कामको योजनामा ०५१ मा खडा भएको ‘उद्घोष साँझ’ मा भर्खर लेख्न थालेका बिमला तुम्खेवा, भूपेन्द्र तिम्सिना, चन्द्र खनाल, मेनुका राई, रोहित पराई, सुमन राई, कोषराज श्रेष्ठ, भरत भट्टराई, कृष्ण पौडेल, बसन्ता बराल, धनपति तिम्सिना, अम्विका तिम्सिनासहित सहभागी हुने गर्थे ।
उद्घोषले धेरैवटा कार्यक्रम गरेर पूर्वका सर्जकहरूको ध्यान केन्द्रित गर्न सफल भएको थियो । स्व. डा. नरेन्द्र चापागाईं, स्व.अनिरुद्र तिम्सिनाहरू विराटनगरदेखि यस क्षेत्रको सिर्जना प्रोत्साहनका लागि आउँथे । पथरी, देवीगञ्ज र वीरेन्द्रनगर आइतबारेमा कार्यक्रमका गतिविधि भए । कृष्णप्रसाद अधिकारी, देवीप्रसाद घिमिरेहरू लेखनमा अघि बढेका थिए । उद्घोषको ‘साँझ’लाई हटाएर रोहित पराईको अगुवाइमा २०६८ मा ‘उद्घोष साहित्य समाज’ बनाइए पनि त्यति सक्रिय भनें हुन सकेन । यसबेला दिवंगत भइसकेका ईश्वर आँसु मगरको अगुवाइमा बनेको ‘यात्रा प्रतिष्ठान’ र रोहित पराईको अगुवाइमा बनेको गाउँघर साहित्यिक समूह पनि त्यस्तै भयो ।
केही हवाइ र भित्ते पत्रिकाहरू पनि प्रकाशित भए । गणेश वाछनाले हवाइ पत्रिका ‘अनुपम’ द्वैमासिक, नगेश काफ्ले र राम तामाङ ओझेलहरूको ‘बाछिटा’, खेम श्रेष्ठ, निर्मल निरौला, अवोध पन्धाक, सूर्यविक्रम याख्खाहरूको ‘सुनौलो पालुवा’, फिपराज वेघाहरूको ‘सहारा’ द्वैमासिक साहित्यिक पत्रिका प्रकाशन भएर साहित्यको उचाइमा इँटा थप्ने काम गरे । हवाइ पत्रिकाको संगठनले नगरमा पहिलो पटक चौतारी काब्य क्यालेन्डर ०६१ प्रकाशन गरेको थियो । कोषराज श्रेष्ठ, रोहित पराई, निर्मल निरौला मितज्यूको सक्रियतामा प्रकाशित क्यालेन्डरको सम्पादन गणेश वाछनाले गरेका थिए । नवनिहारिका प्रकाशनको ‘नवनिहारिका’ साहित्यिक पत्रिकाले यहाँको सिर्जना प्रकाशनको क्षेत्रमा महत्त्वपूर्ण इतिहास बनाएको छ ।
अशोक साम्पाङ राइे (विद्रोही कान्छा), गणेश वाछना राईसहितको सक्रियतामा साप्ताहिक रचना वाचनको कार्यक्रम ‘कवि कुना’ खडा गरेर ०६९ भदौ ६ गतेदेखि प्रत्येक शनिबार बेलुका सिर्जना भलाकुसारी १ वर्षसम्म अघि बढ्यो ।
पथरीतर्फको साहित्यको माहोल सिर्जना भइरहेको बेला शनिश्चरे चोक र आसपासका साहित्यानुरागीहरूले ०५४ मा ‘एकता पुस्तकालय’ स्थापना गरे । ऋषि पौडेल, घनेन्द्र ओझा, कृष्णप्रसाद निरौला, बद्री ओझा, भद्रमान विश्वकर्माहरू त्यसमा सक्रिय थिए । त्यसपछि चेतन जंगली पौडेल घनेन्द्र ओझाहरूले सृजना हाँके । त्यहाँका लेखप्रसाद निरौलाले साहित्यमा पिएचडी गरेर सिर्जनाको क्षेत्रमा आफ्नो उचाइ बढाए । जिरिखिम्तीका युवाहरूले ‘सूर्याेदय’ नामक भित्ते पत्रिका प्रकाशित गरेका थिए । लामाटोलमा पनि धनपति तिम्सिना, अम्विका तिम्सिनाहरूले भित्ते पत्रिका प्रकाशन गरेर साहित्यको ऊर्जा बढाउँथे । मोहन सुब्बाले पनि हवाइ पत्रिका प्रकाशित गर्थे । हसन्दहमा उमानाथ अधिकारी, पुरुषोत्तम मिश्रहरूले माहोल सिर्जना गर्थे । प्रगति युवा क्लब, सामाजिक युवा क्लब, कञ्चनजंघा युवा क्लबसहितका क्लब सक्रिय थिए ।
पुस्तक प्रकाशन:
यस क्षेत्रमा सबैभन्दा बढी पुस्तक प्रकाशन गरेर चिनारी बनाउनेमा गजलकार घनेन्द्र ओझा पर्छन् । उनले गजल, गजल सिद्धान्तसहितका नौवटा कृति प्रकाशित छन् । स्व. प्रेमप्रकाश उप्रेती पीडितले आधा दर्जन बढी पुस्तक प्रकाशन गरेका थिए । सीएम कन्दङ्वाका पाँचवटा कृति प्रकाशित छन् । पुस्तक प्रकाशनको सन्दर्भमा नगरमा गजल संग्रह प्रकाशित गर्नेमा अञ्जु अञ्जली पहिलो सर्जक हुन् । विमला तुम्खेवा, भूपेन्द्र तिम्सिना, घनेन्द्र ओझा, जय राई, कृष्णप्रसाद अधिकारी, दीपेन्द्र दाहाल, रमेश सायनसहितले पुस्तक प्रकाशित गरेका छन् ।
नगरमा भूपेन्द्र तिम्सिना, रोहित पराई, सुमन राई, गणेश वाछना, अशोक साम्पाङ (विद्रोही कान्छा), भवानीप्रसाद दुलाल, शम्भूराज घिमिरे, दिपक दियालो, राजेन्द्र विवश, गणेश आँशु, निश्चल सुवेदीहरू कविता र गजलमा सक्रिय छन् । साहित्यकार पत्रकार रामप्रसाद खरेलको साहित्यिक कखरा यहीँबाट सुरु भएको हो । पं धरणिधर न्यौपाने यस क्षेत्रका सबैभन्दा पुराना विद्वान् तथा साहित्य सर्जक हुन् । उनले छन्दोबद्ध कविता कृति प्रकाशित गरेका छन् ।
साहित्य, कला र संस्कृतिको समिश्रित अभियान अघि बढाउने काममा एभरेस्ट आर्ट फ्यूजन सक्रिय छ । ०६६ सालमा चित्रकार सरोजा खड्गीको अगुवाइमा गठित कला र साहित्यको समिश्रण बोकेको संस्था एभरेस्ट आर्ट फ्यूजनले प्रत्येक महिनाको पहिलो शुक्रबार ‘सिर्जना चौतारी’ नामक कार्यक्रम ०७४ फागुन ४ गतेबाट अगाडि बढायो । त्यसको समेत प्रभावले ०७५ भदौ २६ गते नगरपालिका अन्तर्गतको उपसमितिका रूपमा अगुवा गायक वीरध्वज शिवाको अगुवाइमा ‘कला साहित्य प्रवर्धन समिति’ गठन भयो ।
त्यस अन्तर्गत साहित्य, गीतसंगीत, नाट्य र चित्रकला मूर्तिकला गरी ४ विभागसमेत गठन भएर सक्रिय छ । यही समितिमार्फत ०७६ जेठ १८ र १९ गते ‘प्रथम पथरी शनिश्चरे बृहत् कला उत्सव’ आयोजना भयो । वडा नम्वर ८ सोमबारको प्रभात सामुदायिक युवा क्लब यसबेला सिर्जना क्षेत्रमा पनि लागिपरेको छ । वर्तमान समयमा पथरीशनिश्चरे १० निवासी दिपेन्द्रराज तिम्सिनाले खोजमूलक १० वटा किताब प्रकाशन गरेका छन् ।
नाट्य:
संस्थागत नाट्य गतिविधिमा धेरै नाटक गर्ने र हालसम्म पनि निरन्तर सक्रिय रहनेमा तत्कालीन शनिश्चरेमा खडा भएको कञ्चनजंघा नाट्य समूह र त्यसका कलाकारहरू आउँछन् । तत्कालीन पथरी र शनिश्चरेका नाटककार मिलेर ०५७ मा नाट्य समूह खडा भयो । त्यस अघि भूपेन्द्र तिम्सिना, सुमन राई, युवराज तामाङहरूले नाटक गर्थे । दिननाथ पोखरेल ‘अभय’ अध्यक्ष रहेको कञ्चनजंघाले त ०६० सालमा शान्तिको आव्हान गर्दै मेचीदेखि महाकालीका १४ स्थानमा नाटक ‘शान्ति’ प्रदर्शन गरेर प्रशंसा बटुलेको थियो ।
उसले नेपालका ३ सय बढी स्थानमा विशेषगरी सडक नाटक प्रस्तुत गरिसकेको छ । त्यसमा स्व. मनोज घिमिरे र गंगाबहादुर कटुवालको महत्त्वपूर्ण देन छ । भूपेन्द्र तिम्सिना, अभय पोखरेल, कमलराज भुजेल, ज्योति अधिकारी, भीष्म न्यौपाने, कमला घिमिरे, सुमन राई, मात्रिका पौडेल, दीपक खतिवडा, कल्पना थापा, बविता नियोङहाङ, भूमिप्रसाद पाठक, हरेन्द्र खत्री, दीपेन्द्र दहाल, लीला कुलुङ, मेनुका कुलुङ, सरोज तिम्सिना, प्रदीप आचार्य, लक्षणा राईहरू नाट्य क्षेत्रमा सक्रिय छन् ।
माउन्ट एभरेस्ट इन्टरटेनमेन्टले पहिलो पटक ०७६ वैशाखमा ‘पहिलो मिस पथरीशनिश्चरे’ सम्पन्न गरेको छ । जसबाट रिजु भट्टराई विजेता बनिन् । नगरमा मोडलिङ क्षेत्रमा पनि सर्जकहरू उदाएका छन् । उद्घोषण कलामा चिनिएका भूवन सुवेदी पनि यही नगरका युवा ऊर्जा हुन् ।
चलचित्र:
यस क्षेत्रबाट सबैभन्दा पहिले चलचित्रमा अभिनय गर्ने अभिनेत्री सालु सुब्बा हुन् । अनि चलचित्र निर्देशनमा निरन्तर लागिरहनेमा बद्री आचार्य पर्छन् । ०५४ ताका गोपाल राईको निर्देशनमा छोटो चलचित्र ‘दोषी को ?’ बनेको थियो । ईश्वर आँसु मगरले हरि रसाइलीहरूको साथमा ‘तालाबन्द’ सुरु गरे पनि त्यो पूर्ण हुन सकेन । चलचित्र ‘देउमाईको किनारमा’ पथरी क्षेत्रका प्रतिभाहरूले समेत अभिनय गरेका थिए । चलचित्र ‘पुरानो बुलेट’ सन्तोष राईको सहनिर्देशनमा नगरवासीकै लगानी कर्ताहरूले निर्माण गरेको थियो ।
जेएन तिम्सिना, अनिश खतिवडाहरू चलचित्रमा लागिपरेका छन् । नगरकै ५ जना निर्माताले पहिलो पटक ‘पुरानो बुलेट’ नामक चलचित्र निर्माण गरी देशविदेश प्रदर्शन गरिरहेका छन् । चलचित्रमा मनोज विक, अनुप योञ्जनहरू उदाएका छन् । युवराज ओझा, मुहासिंह मगर, गोपाल काफ्ले, दिनेश कटुवालहरू चलचित्र तथा वृत्तचित्र सम्पादनमा छन् । जीपी जोडी हाँस्यव्यङ्ग्य क्षेत्रमा सक्रिय छ ।
चित्रकला मूर्तिकला:
चित्रकला र मूर्तिकलातर्फ भरत राई, प्रेम राईहरूले दिवान कला केन्द्रमार्फत कलाको व्यवसायिकता सुरु गरेका हुन् । प्रेम राईले त धरानको बूढासुब्बा गोल्डकपको लोगो बनाएका हुन् । लारिङ आर्ट सेन्टरको पनि पेन्टिङमा योगदान छ । त्यसपछि सरोजा खड्गीहरूको सक्रियतामा देशमै चिनिने अवसर मिल्यो । धनबहादुर लिम्बू, भरत तामाङ, बुद्धिमान धिमाल, डीवी राई, हुँदै चित्रकलाको समेत यहाँ विकास भएको छ । मूर्तिकलामा टीकाराम राई, कृष्ण गजमेर, दिलमान बेघाहरूको सक्रियता छ । सरोजाले ‘विष्णु मीना ललितकता पुरस्कार’ नै खडा गरेकी छन् ।
हालका नेपालकै ख्यातिप्राप्त हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको कलाकारिताको बीजारोपण यही नगरबाट भएको हो । काफल गेडी कुटुक्कैबाट नेपाली लोकगीतको उचाइ बनाएका महेश बुढाथोकी, अर्का गायक वीरध्वज शिवा, नाटकबाट उचाइ बनाएका जीवन बराल, मिलन नेपाली, विरेशबाबु शाही, गजल अभियन्ता घनेन्द्र ओझा, उद्घोषणसहितको तालिमकलामा उचाइ बनाएकी जेसीजकी मञ्जरी घिमिरे यही नगरका गहना हुन् । चित्रकलामा राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त नगरको पहिलो प्राज्ञ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी सदस्य सरोजा खड्गी, कवि विमला तुम्खेवा, रमेश सायन, पूर्वै रमाइलो गीतका गायक गौरव दर्पणले देश विदेशभरि नगरको उज्यालो छरेका छन् ।