धरान/नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी सङ्घ केन्द्रीय समितिको १३ औँ स्थापना दिवस शुक्रबार मनाएको छ । 

धरान–४ स्थित आफ्नै कार्यालयमा स्थापना दिवस मनाएको महासचिव कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रममा नयाँ सदस्यहरूलाई स्वागत गरिएको थियो भने विभिन्न वडा एकाइ समितिमा जिम्मेवारी पाएकालाई सम्मान–पत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा केक काटेर स्थापना दिवस मनाइएको हो ।

IMG20240705141058

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व सभामुख प्रदीपकुमार भण्डारीले संस्थालाई यहाँसम्म ल्याउन भूमिका खेल्नेहरूलाई धन्यवाद ज्ञापन गरे । उनले भने, ‘संस्थालाई यहाँसम्म ल्याउने सङ्घर्ष र मेहनत गर्नुभएको छ । उहाँहरूलाई स्मरण गर्न चाहन्छु ।’

उनले आफू पनि एउटै छाता सङ्गठनमा रहेकोमा खुसी व्यक्त गर्दै संस्थाको वृत्तिविकासमा प्रतिबद्ध रहेर काम गर्ने बताए । उनले संस्थालाई दलीय भावनाबाट मुक्त भएर सबै लाग्न आग्रह गरे । कार्यक्रममा पूर्वशिक्षक मातृकाप्रसाद भट्टराईले कर्मचारीहरूको पहिलो सङ्गठन २०३६ सालमा चितवनमा गठन भएको स्मरण गरे । तर यो संस्था सबै सेवानिवृत्तहरूलाई जोडेर निर्माण गरेकोमा खुसी लागेको बताए ।

उनले संस्थालाई दलीय रङ बाहिर राखेर काम गर्नुपर्ने बताए । कार्यक्रममा पूर्व प्रधानाध्यापक गोकुलप्रसाद श्रेष्ठ, धरान २० का निवर्तमान अध्यक्ष मणिराम राईलगायतको उपस्थिति रहेको थियो । स्थापना दिवसमा नाचगान पनि गरिएको थियो ।