धरान । समालोचक डा. राम्जी तिम्सिनाको फोनको अन्तिम लोकेसन क्षेत्र वराहक्षेत्रमा ‘व्यापक खोजी’ जारी छ ।
सुनसरीको वराहक्षेत्रमा जल समाधि लिँदै छु भन्ने प्रकृतिको चिर्कटो छाडेर बुधबार बिहानैबाट बेपत्ता भएका उनको फोनको अन्तिम लोकेसन वराहक्षेत्र मन्दिर क्षेत्र रहेको छ । उनको फोन बेपत्ता भएयतादेखि नै नियमित लागिरहेको छ । वराहक्षेत्र मन्दिर क्षेत्रमा अहिले उनको परिवार तथा आफन्तले पनि व्यापक खोजी गरिरहेको छ । त्यस्तै प्रहरी पनि खोजी कार्यमा लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपीन रेग्मीले जानकारी दिए ।
‘हाम्रोतर्फबाट पनि खोजी भइरहेको छ । परिवारको तर्फबाट पनि व्यापक खोजी भइरहेको छ । लोकेसन फाइन्डिङ भएको ठाउँमा खोजिरहेका छौँ’ उनले फोनसम्पर्कमा भने ।
उनका शुभचिन्तकहरूले उनी बेपत्ता भएकोमा चिन्ता व्यक्त गरेका छन् । शुक्रबार धरान तथा इटहरीका अधिकांशको फेसबुकमा ‘चाँडै सकुशल फर्किनुहोस्’ भन्ने आशयका विचार अभिव्यक्त गरिएका छन् । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राम्जी सर, तपाईं चाँडै सकुशल फर्किनुहोस् । नेपाली साहित्यमा तपाईंले अझै धेरै गर्न बाँकी छ ।’
तिम्सिनामा पनि धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमै अध्यापनरत छन् । उनी अङ्ग्रेजी विभागमा पढाउँछन् । केही वर्षअघि मात्रै उनले डायस्पोरा साहित्यमा विद्यावारिधि गरेका थिए । समालोचनाका क्षेत्रमा प्रखर वक्ताका रूपमा रहेका उनले आफूलाई फरक धारमा उभ्याएका थिए ।
उनलाई जान्ने जानकारहरूका अनुसार भने घरपरिवारमा बेमेल रहेको थियो । लामो समयदेखि नै बेमेल रहेका कारण उनी समस्यामा रहेको जानकारहरू बताउँछन् । भाषाविद् प्रा.डा. टङ्क न्यौपानेले पारिवारिक रूपमा त्यति धेरै राम्रो नभएको भन्ने विगतदेखि नै सुन्नमा आएको बताए । उनले जल समाधि लिनुपर्ने अवस्था के कारणले आएको हो भन्ने चाहिँ अहिलेसम्म खुल्न सकेको छैन ।
यो समाचार तयार पार्दासम्म (रातको ८ः११ बजे) पनि उनी बेपत्ता नै रहेका छन् । उनी बेपत्ता भएको तीन दिन पुग्न लागेको छ ।