हरेक मानिसलाई आफ्नो अस्तित्व प्यारो लाग्छ । मानिस आफ्नो परिवार, समाज, देश, संस्कृति, जाति, धर्म, परम्परासँग जोडिएर बाँच्छ । मानिसलाई आफ्नो परिवार, समाज, संस्कृति, जाति, धर्म, परम्परा पनि प्यारो लाग्छ । उसको पहिचान यिनै कुराहरूसँग जोडिएको हुन्छ । ऊ चङ्गाजस्तो टाढा टाढा माथि माथि जता जता उडे पनि उसको अस्तित्वको आधार लट्टाईसँग जोडिए जस्तै यिनै कुराहरूमा अडेको हुन्छ । त्यसैले कुनै पनि स्थान, समय, परिवेश, समाज, देश र संस्कृतिको आधारमा नै हामी मानिसहरूको अस्तित्व र पहिचान बन्दछ ।
अक्सर यस्तो देखिन्छ कि मानिसलाई आफ्नो अस्तित्व, पहिचान अनि यसका आधारहरू प्यारा लाग्छन् तर अरूको अस्तित्व, पहिचान र त्यसका आधार समाज, संस्कृति, धर्म, परम्पराको नजरअन्दाज हुने गर्दछ । आफ्नो अस्तित्व र पहिचानका लागि मानिस प्रयत्नशील, कर्मशील र कर्मठ रहनु पर्छ । यसैबाट व्यक्तिको अस्तित्व अगाडि बढ्छ र पहिचान पनि रहन्छ । यसको लागि अरूको अस्तित्व, पहिचान र यसका आधारहरूमा दखल अन्दाजी गर्नु भनेको मूर्खता हो । आफ्नो अस्तित्व र पहिचानको लागि अरूको अस्तित्व र पहिचानलाई नामेट गर्नु, असर पार्नु, धुमिल पार्नु भनेको मानवताबाट गिर्नु हो ।
अरूको अस्तित्व र पहिचानलाई कदर गर्दै आफ्नो पनि अस्तित्व र पहिचान कायम राख्न के कस्ता कुराहरू गर्न सकिएला भनी सबै सजग रहनुपर्छ । विशेष गरेर हामी नेपाली जस्ता अर्थ र शक्तिको हिसाबले विकासोन्मुख र पिछडिएको भौगोलिक क्षेत्रका बासिन्दाहरूले आफ्नो अस्तित्व र पहिचानका लागि सजग रहेर राष्ट्रियता, मर्यादा र इज्जत जोगाउन भरमग्दुर कोशिस गरिराख्नु पर्छ । यसको लागि केही कुराहरू अभिभावक, शिक्षक र ठूला मानिसहरूले विद्यार्थी, बालबालिका र नबुझेकाहरू, नजानेकाहरूलाई बुझाउन, सिकाउन र सम्झाउन जरुरी हुन्छ ।
पहिलो कुरा स्वअस्तित्वको लागि आफ्ना परिवारजन, नातागोता, साथीभाइ, छरछिमेक, बन्धुबान्धवसँगको नाता सम्बन्धलाई समेट्ने आधार अँगाल्नु पर्दछ । यसको मतलव हो– अरूको सरोकार, मतलव, हित र सहयोगको आधारमा जीवन अँगाल्नु । अर्थात्, सामुदायिक, सामूहिक जीवन बाँच्नु । परिवारमा बस्दाखेरि परिवारका सदस्यहरूको ख्याल राख्नु, साथमा छरछिमेकीहरू, आफ्ना बन्धु बान्धवहरूसँगको सम्बन्धलाई महत्त्व दिनु । संस्कृति, परम्परा र संस्कृतिलाई समेट्दै जीवन बिताउनु । यसले हाम्रो अस्तित्व कायम राख्न, पहिचान परिचयलाई अघि बढाउन मद्दत गर्दछ ।
आजभोलि शिक्षा, विज्ञापन र विश्वव्यापीकरण जस्ता विभिन्न बहाना र लहरमा ठूला माछाले साना माछालाई निले जस्तै हाम्रा सामुदायिक जीवनहरूलाई तहसनहस बनाउने, यसको मर्मलाई लत्याउने, यसका गुणवृत्तिहरूलाई छिन्नभिन्न बनाउने र हामीलाई हाम्रो सामुदायिक जीवन, रुचि, परम्परा, संयुक्त परिवारबाट एकलकाटे बनाउँदै लगेको परिस्थितिमा हाम्रो अस्तित्व पनि धरापमा पर्दै गएको देखिन्छ । अहिलेको शिक्षा, आजका बहुसङ्ख्या विज्ञापन लगायत् औद्योगिकीकरण, विश्वव्यापीकरण र पुँजीवादी लहरले हाम्रो सामुदायिक जीवनको अस्तित्व पनि धुमिल बन्दै गएको देखिन्छ । यसतर्फ सचेत भएर पारिवारिक, सामाजिक, सांस्कृतिक र राष्ट्रिय चेत सँगसँगै आफ्ना परिवारजन, बन्धु बान्धव, छरछिमेक, साथीभाइसँगसँगै जिउने सामुदायिक जीवन बाँच्न सिक्नुपर्छ ।
स्वअस्तित्वको लागि जसरी सामुदायिक जीवन जरुरी हुन्छ, त्यसरी नै आफ्नो भौगोलिक स्थान र स्थानीय साधन स्रोत, प्रकृतिमा आधारित जीवन त्यति नै जरुरी हुन्छ । स्थानीय हावापानी, माटोजस्ता साधन स्रोत र प्रकृतिमा आधारित जनजीवन नै दिगो रहन्छ । आयातित साधनस्रोत अनुकूल नहुन सक्छ, हामीलाई क्षणिकरूपमा आकर्षक लागे पनि त्यो दीर्घकालका लागि दिगो नहुन सक्छ र हामीलाई त्यसले त्यसमा पराधिन बनाउने सम्भावना हुन्छ । त्यसैले आफ्नै गाउँठाउँ र समाजमा भएका बोटबिरुवा, ढुङ्गा माटो, हावापानी आदिमा आधारित जीवनको लागि स्थानीय कुराहरूसँगै हातेमालो गर्दै जिउन सिक्नुपर्ने हुन्छ, माटोसँग खेल्नुपर्ने हुन्छ, हिलोसँग खेल्नुपर्ने हुन्छ । यसको लागि वृक्षारोपण, वातावरण संरक्षण हुने हिसाबले जिउन सिक्नुपर्दछ ।
यसरी नै हाम्रो स्वअस्तित्व र पहिचान कायम राख्नको लागि हाम्रा ज्ञान, सीप, कला, धारणा र जानकारी समेटिने कुराहरू जस्तै– भाषा, साहित्य, संस्कृति, परम्परा, धर्म आदिको संरक्षण जरुरी हुन्छ। आफ्नो भाषा, साहित्य, संस्कृति, कसैले आएर संरक्षण गरिदिने होइन । आफ्नो भाषा, साहित्य, संस्कृति बिना आफ्नो पहिचान पनि बाँकी रहँदैन । त्यसैले सबैले मातृभाषा बोल्न सिकौं, बोलौं । आफ्नो संस्कृति, साहित्य, कलामा गर्व गरी यसको महत्त्व बुझौँ ।
यसलाई अँगालौं, यसबाट लाभान्वित होऔं । अरूको भाषा, साहित्य, कलाबारे पनि सुसूचित भएर आफ्नो भाषा, कला, साहित्य र संस्कृतिलाई अझ धनी बनाउने कोशिस गरिराख्ने जीवन नै वास्तवमा सोनाम धन्य र पहिचानयुक्त जीवन हुनेछ । सचेत, सजग भई स्फूर्त भएको अभिप्रेरणाले नै मात्र अहिले जस्तो चुनौतीपूर्ण परिस्थितिमा पनि आफ्नो स्वअस्तित्वको लागि कसैगरी यसका आधार गुणवृत्तिहरू अँगालिरहन लगाउनेछ ।
(प्रा.डा. शाक्य बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ हुन् ।)