धरान/तीसको दशकबाट सुरु भएको पिण्डेश्वर मन्दिरमा लाग्ने बोलबममा यसपटक ज्येष्ठ नागरिक र बालबालिका लिएर आउने अभिभावकहरूलाई विशेष लाइनको व्यवस्था गरेको छ ।
ज्येष्ठ नागरिकहरू लामो समय लाइनमा बस्न नसक्ने भएकाले पनि उनीहरूलाई विशेष सुविधाका लागि फरक लाइनको व्यवस्था गरिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार बनेपालीले बताए । ‘ज्येष्ठ नागरिक र बालबच्चाहरूसहित आउने अभिभावकलाई अर्कै ढोकाबाट छिराउने व्यवस्था गरेका छौँ’ उनले भने, ‘यो पटक केही फरक गर्ने प्रयास गरिँदै छ । तर कत्तिको व्यवस्थित गर्न सकिन्छ हेरौँ ।’ उनका अनुसार ज्येष्ठ नागरिकलाई सम्हाल्नका लागि एकजनालाई मात्रै विशेष लाइनमा बस्न सक्ने व्यवस्था गर्ने तयारी थालिएको छ । सोहीअनुसार सुरक्षा निकायहरूसँग छलफल भइसकेको छ ।
‘ज्येष्ठ नागरिकलाई सुविधा दिँदा उहाँहरूसँग आएका अरूले पनि सुविधा लिन खोज्छन् त्यस्तोलाई प्रवृत्तिलाई रोक्न एकजनासम्मलाई साथीको रूपमा पठाउने कि भन्ने विषयमा सुरक्षा निकायसँग छलफल भएको छ’ उनले भने । साउन महिनाभरि पिण्डेश्वर मन्दिरमा जल चढाउन झण्डै दुईदेखि अढाई लाखको हाराहारीमा आउने गरेका छन् । तर गत वर्षभने शुक्र अस्तका बेला जल चढाउनु हुँदैन भन्दै सामाजिक सञ्जाल टिकटकलगायतमा फैलिएपछि करिब ६० हजारको हाराहारीमा मात्रै भक्तजन आएको अध्यक्ष बनेपालीले जानकारी दिए । ‘विगत वर्षहरूमा दुई अढाई लाख भक्तजन आउने गरेको ट्रेन्ड छ’ उनले भने, ‘गत वर्ष ५०–६० हजार मात्रै आएको हाम्रो अनुमान छ ।’
यहाँ २०३९ सालदेखि साउन महिनाभरि जल चढाउने परम्पराको विकास भएको हो । त्यसभन्दा अगि जल चढाउने परम्पराको विकास नभएको जानकारहरू बताउँछन् । पर्यटन व्यवसायी वासुदेव बरालकृत हालै प्रकाशनमा आएको रुद्राक्षारण्य परिचय पुस्तकको २१ पेजमा यस्तो लेखिएको छ, ‘नेपालमा सबैभन्दा पहिलो बोलबम मेला आयोजना यही पिण्डेश्वर बाबाधामबाट भएको हो । भनिन्छ समुन्द्र मन्थनपश्चा्त देवताहरुले सप्तकोशीको जल ल्याएर यहाँ अर्पण गरेका थिए । त्यही बेलादेखि यहाँ शिवजीलाई जल अर्पणको परम्परा चलिआएको हो ।’
तर पुस्तकमा आधिकारिक मिति भने उल्लेख गरिएको छैन । साउन महिना शिवजीको प्रिय महिना र साउनको सोमबार शिव आराधनाका लागि उत्तम दिन मानिने गरिएको छ । हालै प्रकाशनमा ल्याइएको रुद्राक्षारण्य परिचय नामक पुस्तकको सोही पेजमा यस्तो लेखिएको छ, ‘श्रावण शिवजीको प्रिय महिना र श्रावणको सोमबार शिव आराधनाका लागि उत्तम दिन । श्रावणभरि शिवभक्तहरू चतराधामबाट खाली खुट्टा पैदल सप्तकौशिकी गङ्गाको जल बोकेर पिण्डेश्वर मन्दिर आउँछ र चढाउँछन् ।’
यहाँ पूर्वोत्तर भारतको सिक्किम, दार्जिलिङदेखि नेपालको सुदूरपश्चिम प्रदेशको कैलालीलगायतका जिल्लाबाट पनि भक्तजनहरू हुने गरेका छन् । यस्तै मधेश प्रदेशका विभिन्न जिल्लाबाट पनि भक्तजनहरू आउने गरेका छन् । यता कोशी प्रदेशको तराईका जिल्ला सुनसरी, मोरङ, झापा र उदयपुरबाट भक्तजनहरू आउने गरेका छन् । यसपटक भक्तजनलाई व्यवस्थित गर्नका लागि लाइन लगाउने व्यवस्था गरेको छ । ‘कोही पनि बीचबाट प्रवेश नगरून् भनी लाइनको व्यवस्था गरेका हौँ’ अध्यक्ष बनेपालीले भने । यहाँ जल अर्पण गरे भाकल तथा मनोकामना पूरा हुने विश्वास गरिँदै आएको छ । तर, सोचेअनुरूप प्रचार प्रसार हुन नसक्दा भारतीय भक्तजनहरूलाई ल्याउन नसकिएको अध्यक्ष बनेपानीको बुझाइ छ । ‘१० प्रतिशत भारतीय नागरिकहरूलाई ल्याउने सके हामीले धान्नै सक्दैनौँ’ उनले भने ।
बोलबमका कारण पिण्डेश्वर आसपासको पसलहरूको कारोबार राम्रै हुने गरेको छ । एउटा पसल बराबर तीनदेखि चार लाख रुपैयाँसम्म कमाउने गरेको अध्यक्ष बनेपालीको भनाइ छ । तर, अर्थविद कृष्णकुमार अग्रवालका अनुसार बोमबमकै कारण धरानमा उल्लेख्य कारोबार हुँदैन । ‘खासै आर्थिक कारोबार भएजस्तो लाग्दैन । चिया, खाजा खाने, चमेना गृह चल्ने कुरा अलग्गै हो । धरानको व्यापारलाई प्रभाव पार्ने खालको कारोबार हुँदैन’ उनले फोनसम्पर्कमा भने । उनका अनुसार भाकल पूरा भएको अवस्थामा दीर्घकालीन असर चाहिँ गर्छ । त्यसले गर्दा धरानको कारोबारलाई प्रभाव पार्न सक्ने उनको अनुमान छ । ‘यहाँ आउने भक्तजनलाई रोक्ने वातावरण नै बनाउन सकेका छैनौँ । जसले गर्दा व्यवसायिक फाइदा लिन सकेका छैनौँ’ उनले भने ।