सशस्त्र प्रहरी बलको ४ नम्बर गण हेडक्वाटर सुनसरीले ठुलो परिमाणमा गाँजा र ब्राउण्ड सुगर सहित विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ ।
आईतबार दिउसो सुनसरीको बबियाबाट १ सय १५.७ केजी गाँजा सहित २ जना पक्राउ परेका छन् । गणका सशस्त्र प्रहरी सहायक निरिक्षक काशीराम चौधरीको कमाण्डमा खटिएको संयुक्त टोलीले साँगुरीगढी गाउपालिका १ बुढीमोरङ बस्ने ३२ वर्षीय रामकुमार राई र सोही ठाउँका २२ वर्षीय बुद्ध लिम्बुलाई पक्राउ गरेको हो ।
इनरुवा नगरपालिका -९ स्थित बबिया चोकबाट प्रदेश नं १-०२-००२ च ६८८३ नम्बरको टाटा गाडीमा लोड गरी सुनसरीको नाका इलाकातर्फ लाँदै गर्दा गाडी सहित गाँजा र २ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि साउन ११ गते पनि सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका-६ बाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका थिए । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकही मातहतको एफ.ओ.पि.ईस्राईल कामतबाट शसस्त्र प्रहरी भुपेन्द्र नेम्वाङ्गको कमाण्डमा खटिएको टोलीले धरान उपमहानगरपालिका-१३ बस्ने ४२ बर्षीय जीवन राई र सुनसरी भोक्राहा बस्ने २७ बर्षीय महफुज आलमलाई पक्राउ गरेको थियो ।
राईको साथबाट अन्दाजी ९.४ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र आलमको साथबाट कालो प्लाष्टिकले बेरेको प्लाष्टिक सहित अन्दाजी १३ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ, १६ट्याबलेट स्पास्मो ८ ट्याबलेट निट्रोभेट लागू औषध बरामद गरि आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय सुनसरी बुझाइएको नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।
त्यस्तै साउन ८ गते सशस्त्र प्रहरीले १२ केजी गाँजा, मोटरसाईकल र साईकल बरामद गरेको थियो ।
सो दिन सुनसरी देबानगजं गाँउपालिका ५ पालटोल सीमा ईलाकामा शसस्त्र प्रहरी.बल, नेपाल बि.ओ.पि साहेबगंजबाट सशस्त्र प्रहरी निरिक्षक कृष्ण थापाको कमाण्डमा खटिएको ४ जनाको मो.सा गस्तीको टोलीले नेपालबाट भारततर्फ जादैँ गरेको बिआर ५० वाइ ३४९७ नम्बरको भारतिय मोटर साइकललाई चेकजाँच गर्दा प्रतिबन्धीत ६केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।