प्रतिनिधिसभाको आजको बैठकमा विद्यार्थी बोकेको स्कुल बस कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विषय उठेको छ।

आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै स्कुल बसको गति सीमित बनाउने नीति बनाई नियमन गर्न सुझाव दिए। 

 उनले भन्नुभयो, “बसका चालकले तोकिएको गतिभन्दा बढीमा सञ्चालन गरिरहेका हुन्छन्। सोही कारणले सरकारले स्कुल बस सञ्चालनसम्बन्धी आवश्यक नीति बनाई कडाई साथ कार्यान्वयन गर्नुपर्ने हुन्छ।

” कास्की जिल्ला पोखरा महानगरपालिका–२१ मटिखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको बस आज बिहान दुर्घटनामा परेको थियो।

 दुर्घटनामा छ वर्षीय प्रिन्स विक र ३३ वर्षीया आरती विकको मृत्यु भएको छ। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सांसद अमनलाल मोदीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै वर्तमान सरकारले सुशासनको अभियानलाई निरन्तरता दिन्छ कि दिँदैन भनेर प्रश्न गरेे।

 सांसद रवि लामिछानेले सरकारले अन्य पार्टी र पार्टीका नेतालाई कमजोर देखाउनेतर्फ भन्दा पनि सुशासन, जनतालाई राहत दिने, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।

सांसद नेपालीले बिपी कोराइलाले ‘उत्पादन र उद्यमशीलतामा जोड दिनुपर्छ’ भन्ने भनाइलाई स्मरण गर्दै नेपालमा प्रजातन्त्र, गणतन्त्र आएपनि तीनै तहका सरकारले सही ढङ्गबाट काम गर्न नसकेको बताए।

गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय यातायातसम्बन्धी ऐन, कानून तथा नियमावली जारी गरेपनि सो ऐन, कानुन तथा नियमावली यातायात व्यवसायी विरुद्ध भएको उनको भनाइ छ।

 “कानुनका कयौँ बुँदा यातायात व्यवसायी विरुद्धमा छन्, यातायात महासङ्घ, स्थानीय समितिसँग छलफल नै नगरी ऐन ल्याइएको देखिन्छ,” उनले भने। सांसद रोशन कार्कीले महिला हिंसाको उजुरी परेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानका बारेमा आवश्यक छानबिन गरी निर्णय गर्नुपर्ने बताए।