धरान । धरान खानेपानी व्यवस्थापन बोर्डले चालू आर्थिक वर्षबाट खानेपानी महसुललगायत वृद्धिको विषयमा गरिएको पछिल्लो फ्याक्ट चेकमा ‘धरानका १० राजनीतिक दलले गरेको दाबी’ सत्य सावित भएको छ । 

१० राजनीतिक दलले शुक्रबार बोर्डलाई बुझाएको संयुक्त ज्ञापन–पत्रमा ११ प्रतिशतदेखि नौ हजार नौ सय प्रतिशतसम्म शुल्क वृद्धि गरेको दाबी गरेका थिए । ब्लाष्टले यसअगि केही युनिटलाई आधार मानी फ्याक्ट चेक गर्दा राजनीतिक दलहरूले सार्वजनिक गरेको ज्ञापन–पत्रको प्रतिशत र ब्लाष्टको फ्याक्ट चेकको प्रतिशतमा फरक आएको थियो । बोर्डले पाइपको साइजअनुसार नयाँ धारा जडानदेखि सिफारिसमा, मालसामान मर्मत तथा चेन्जमा, धारा नामसारीमा र धाराको होल चेन्जमा पुनः फ्याक्ट चेक गर्दा अन्ततः राजनीतिक दलले निकालेको प्रतिशत सत्य सावित भएको हो । 

२०७४ मा कायम भएको खानेपानीअन्तर्गतका विभिन्न शुल्क र हाल कायम भएको नयाँ शुल्कमा ४० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरेको पाइएको छ । चालू आर्थिक वर्षदेखि स्वघोषित अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को एकल निर्णयमा उक्त वृद्धि गरिएको हो । राजनीतिक दलका अनुसार नयाँ धारा जडानमा पाँच हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरिएको छ । हाफ इन्चको पाइपमा नयाँ धारा जडान गर्दा १५ हजार रुपैयाँ रहेकोमा हाल आएर २० हजार रुपैयाँ वृद्धि गरिएको छ ।

यसलाई प्रतिशतमा ढाल्दा ३३ दशमलव ३३ प्रतिशत हुन आउँछ । नयाँ धाराकै हकमा पौने इन्चको पाइपमा १० हजार रुपैयाँबाट वृद्धि गरी २५ हजार रुपैयाँ पु¥याइएको छ । वृद्धि गरिएको प्रतिशत हेर्ने हो भने एक सय ५० प्रतिशत देखिन्छ । यस्तै एक इन्चको पाइपमा १५ हजारबाट वृद्धि गरी ५० हजार रुपैयाँ पु¥याइएको छ । यो भनेको दुई सय ३३ दशमलव ३३ प्रतिशत वृद्धि हो । डेढ इन्चको पाइपमा २० हजार रुपैयाँबाट एकैपटक ७५ हजार रुपैयाँ वृद्धि गरिएको छ । प्रतिशतका आधारमा २७५ प्रतिशत हुन आउँछ ।

यस्तै दुई इन्चको पाइपमा २५ हजार रुपैयाँबाट वृद्धि गरी एक लाख रुपैयाँ पु¥याइएको छ । यो भनेको तीन सय प्रतिशत हो । यसभन्दा माथिको तीन इन्च र चार इन्चमा भने पुरानैलाई यथावत राखिएको छ । “यस्तो अवैज्ञानिक तरिकाले शुल्क कसरी वृद्धि गरियो भन्ने राजनीतिक दलको प्रश्न हो” नेकपा (माओवादी केन्द्र) का धरान नगर इन्चार्ज चोत्लुङले भने, “जनतालाई यसको जवाफ दिनुपर्छ कि पर्दैन ?”

उनका अनुसार मृतकबाट नामसारीको हकमा २४ सयदेखि नौ हजार नौ सय प्रतिशत वृद्धि गरिएको छ भने स्वामित्वको हकमा एकसय ५० प्रतिशतदेखि नौ सय प्रतिशतसम्म वृद्धि गरिएको छ । राजनीतिक दलले दाबी गरेको प्रतिशतलाई ब्लाष्टले फेरि फ्याक्ट चेक गर्दा सतप्रतिशत मेल खाएको छ । मृतकको हकमा नामसारी गर्दा जुनसुकै साइज भए पनि दुई सय रुपैयाँ मात्रै लाग्दै आएको थियो । यता स्वामित्वको हकमा भने हाफ इन्चदेखि ४ इन्चसम्मको पाइपमा समान दुई हजार रुपैयाँ लिँदै आएको थियो । 

धरान–१६ का स्थानीय विजय घिमिरेले यसबारे ब्लाष्टकर्मीलाई भनेका थिए, “वडाबाट सिफारिस लिई नामसारी गर्न जाँदा दुई हजारबाट बढेर पाँच हजार भएको छ भनेपछि म नामसारी नगरी फर्किएँ ।” उनले नामसारीमा शुल्क वृद्धिको विषयमा सामाजिक सञ्जालमा भिडियो सामग्री बनाएर पोस्ट पनि गरेका थिए । स्वामित्वको हकमा सिफारिस लिँदा जुनसुकै पाइपको साइज भए पनि यसअघि दुई हजार मात्रै लिँदै आएको थियो । 

अहिले भने दुई सयको ठाउँमा हाफ इन्चमा पाँच हजार, पौने इन्चमा आठ हजार, एक इन्चमा १० हजार, डेढ इन्चमा १५ हजार र दुई इन्चमा २० हजार पु¥याइएको छ । अन्यमा यथावत छ । यसलाई प्रतिशतमा ढाल्दा क्रमशः दुई हजार चार सय, तीन हजार नौ सय, चार हजार नौ सय, सात हजार चार सय र नौ हजार नौ सय हुन आउँछ । तर, मृतकको हकमा भने राजनीतिक दलहरूले ज्ञापन–पत्र बुझाएपश्चात् हतारोमा ‘टाइप मिस्टेक’ भन्दै ५० प्रतिशत छुट हुने उल्लेख छ ।

बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले निर्णय भए पनि ‘टाइप मिस्टेक’ भएको बताए । यस आधारमा पनि एक हजार दुई सय, एक हजार नौ सय ५०, दुई हजार चार सय ५०, तीन हजार सात सय, र चार हजार नौ सय ५० प्रतिशत वृद्धि भएको देखिन्छ । “नामसारी गर्दा पनि पैसा बढी तिर्नुपर्ने तर्कसम्मत कुनै आधार छैन भन्ने कुरा हो । यो बढाउने कुरा चाहिँ आधारहीन भयो !”–चोत्लुङले भने । नामसारी स्वामित्वको हकमा भने दुई हजार रुपैयाँबाट बढाएर हाफ इन्चदेखि दुई इन्चसम्म ३ हजारदेखि १८ हजार रुपैयाँ वृद्धि गरिएको छ । यसलाई पनि फ्याक्ट चेक गर्दा एक सय ५० प्रतिशतदेखि नौ सय प्रतिशतसम्म वृद्धि गरिएको छ । 

पानीको ‘होल चेन्ज’ (पोइन्ट परिवर्तन) मा हाफ इन्चदेखि दुई इन्चसम्म विगतमा दुई हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म लिँदै आएको थियो । चालू आर्थिक वर्षमा वृद्धि गरिएको रेट भने ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म रहेको छ । हाफ इन्चमा पाँच हजार, पौने इन्चमा आठ हजार, एक इन्चमा १० हजार, साढे एक इन्चमा १५ हजार र दुई इन्चमा २० हजार रुपैयाँ मूल्य वृद्धि गरिएको छ । यसलाई प्रतिशतमा ढाल्दा एक सय ५० प्रतिशतदेखि २८० प्रतिशत हुन आउँछ ।

यस्तै मर्मत तथा चेकमा विगतमा जुनसुकै पाइप साइज भए पनि पाँच सय रुपैयाँ लिँदै आएकोमा अहिले पाइपको साइजअनुसार एक हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म बनाइएको छ । हाफ इन्चमा एक हजार, पौने इन्चमा दुई हजार, एक इन्च र डेढ इन्चमा पाँच हजार साथै दुई इन्चमा १० हजार रुपैयाँ वृद्धि गरिएको छ । विगतको मूल्य र हालको मूल्यलाई प्रतिशतमा ढाल्दा एक सयदेखि एक हजार नौ सय प्रतिशतसम्म मूल्य बढाएको देखिन्छ । नेपाली काङ्ग्रेसका धरान नगर सभापति श्याम पोखरेलले “नीतिगत भ्रष्टाचार” भएको दाबी गरेका छन् । “नीतिगत भ्रष्टाचार भयो भन्ने हाम्रो कुरा हो”–ब्लाष्टकर्मीसँगको भेटमा उनले भने । 

यस्तै खानेपानी महसुलमा पनि ११ दशमलव ११ प्रतिशतदेखि सतप्रतिशत मूल्य वृद्धि गरेको देखिन्छ । निवेदनको हकमा १० रुपैयाँबाट वृद्धि गरी एकै पटक ५० रुपैयाँ पु¥याएको छ । प्रतिशतका आधारमा चार सय प्रतिशत मूल्य वृद्धि गरेको पाइएको छ । शुल्क वृद्धिको विषयमा कार्यकारी निर्देशक पोखरेलले २०७४ पछि नबढेकाले प्रत्येक वर्ष वृद्धि हुने दरका हिसाबमा बढाइएको दाबी गरे । “२०७४ सालदेखि नबढेको हुनाले बढाइएको हो । मैले कसरी वैज्ञानिक, अवैज्ञानिक भन्ने हो र ? ०७४ सालदेखि हिसाब गर्दा त्यति नै आउँछ” उनले फोनसम्पर्कमा भने ।

एकैचोटि हेर्दाखेरि मात्रै धेरै देखिएको उनको भनाइ छ । “फाइनान्सको साथीहरूले ल्याएको प्रस्तावहरू त्यहीअनुसारको छ । हजुरहरूले औँल्याइदिनुभएको छ म त्यो कुरा बोर्डमा राख्छु”–उनले भने ।