धरान । धरान रिडर्स ग्रुपका संस्थापक सदस्य अनुप योञ्जन तामाङलाई ‘रिडर्स ग्रुप’ का सदस्यहरूले सोमबार गुम्बामा दीप प्रज्ज्वलन गरी श्रद्धासुमन अर्पण गरेका छन् । 

सुनसरीको धरानमा पर्ने छोटी मोरङस्थित थाउजेन्ड बिग बुद्धमा पुगेर सदस्यहरूले दीप प्रज्ज्वलन गर्दै उनका जीवन र चरित्रको विषयमा चर्चा गरिएको छ । धरानमा रिडर्स ग्रुपको स्थापना २०७० सालमा भएको हो । साहित्यानुरागी रहेका शिक्षासेवी योञ्जनले पठन संस्कृतिलाई बढाउने उद्देश्यले रिडर्स ग्रुपको स्थापना गरेका थिए । 

समूहका अधिकांश सदस्यहरूले संस्थापक सदस्य योञ्जनसँगको सम्बन्ध ‘रिडर्स स्थापना’ पछि नै विकास भएको बताए । रिडर्सको पछिल्लो सदस्य बनेका कवि पराजित पोमुले भने, “उहाँलाई पछिल्लो चार–पाँच वटा एपिसोडमा चिनेको हुँ, उहाँ शालीन र अध्ययनशील भएको मैले थाहा पाएको हुँ ।”

सदस्यसमेत रहेका महेन्द्र क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले भने, “उहाँ म्यानेजमेन्ट र क्रिएटिभ काम गर्न रुचाउने मान्छे हुनुहुन्थ्यो । कुनै काम गर्दा पर्फेक्ट गरौँ कुनै कुरा ल्याक नछोडौँ भन्ने खालको हुनुहुन्थ्यो । कुनै पनि काम गर्दा नयाँ तरिकाले गर्न रुचाउनुहुन्थ्यो । त्यो चाहिँ हाम्रा लागि पनि एउटा सिकाइ हो कि भन्ने लाग्छ ।”

dharan_readers (2)

धरान रिडर्सका संस्थापक सदस्य अनुप योञ्जनको जीवन र चरित्रबारे चर्चा गर्दै रिडर्सका सदस्य । 

रिडर्सले हरेक महिनाको पहिलो शनिबार साहित्यिक कार्यक्रम गर्दै आएको थियो । विनाशकारी भूकम्प र कोरोना महामारीका बेला भने यो कार्यक्रम रोकिएको थियो । कोरोना पूर्णरूपमा साम्य भएपछि भने फेरि रिडर्सले निरन्तरता पाएको थियो । कवि तथा रिडर्सका सदस्य सुदीप पाख्रिनले भने, “उहाँलाई धेरै अगाडिदेखि नै चिन्थे तर हाम्रो घनिष्टता बढेको चाहिँ रिडर्सबाटै हो । एउटा कुशल अभिभावकलाई गुमायौँ ।”

रिडर्सले उनको कामको योगदानको कदर गर्दै कुनै स्मारिका प्रकासन गर्न सके राम्रो हुने अर्का सदस्य मधुसुदन घिमिरेले बताए । उनले आफूले योञ्जनलाई रिडर्ससँगै स्काउटबाट पनि चिन्ने मौका पाएको बताए । “उहाँको व्यक्तित्व हेर्दा जस्तोसुकै ठाउँमा एडजस्ट नहुनुहोला जस्तो लाग्ने तर स्काउटको धेरै कार्यक्रमहरू गर्दा एडजस्ट गर्न सक्ने हुनुहुँदोरहेछ ।”

अर्का सदस्य हेमन्त भण्डारीले यसै प्रसङ्गलाई थप पुष्ट्याइँ गर्दै भने, “श्रीलङ्काको ज्याम्बोरीमा जाँदा ४० डिग्रीको गर्मीमा पनि उहाँले मजाले पचाउनुभयो । मलाई चाहिँ सरले सक्नुहुन्न होला जस्तो लागेको थियोँ ।” उनले समन्वयवादी व्यक्तित्वसमेत भएको बताए । धरानको स्काउटमा पछिल्लो समय देखिएको समस्यालाई पनि मिलाएर लाने भूमिका उनकै रहेको उनले बताए । 

अर्का सदस्य सुशील राईले भने, “स्काउटकै क्रममा भेटेको हुँ । उहाँ एउटा असल लिडर पनि हो । कुनै पनि कुरालाई यसो गरौँ भनेपछि नाइ नभन्ने उहाँमा राम्रो बानी थियो । आफैँ एक्टिभ भइहाल्नुहुन्थ्यो ।” अर्का सदस्य चेवन राईले तार्किक क्षमता पनि रहेको आफूले पाएको बताए । “महायान, हीनयानको विषयमा कुरा गर्दा उहाँले मसँग तर्क पनि गर्नुभयो । त्यो बेला चाहिँ ए उहाँ त तर्क पनि गर्नुहुने रहेछ ।”

रिडर्सका सदस्य वृद्धि गर्नका लागि फरक कार्यक्रमहरू ल्याउने योजना रहेको सदस्यहरूले बताएका छन् । मासिक रूपमा केही कार्यक्रमसँगै सदस्यहरू पनि वृद्धि गरी अगाडि बढ्ने योजनामा लाग्नुपर्ने सदस्य विद्रोहीले बताए ।