विराटनगर/मोरङको विराटनगर महानगरपालिका–१३ स्थित श्रीबाल माध्यमिक विद्यालयकोे चार कोठे भवन निमार्णमा ६ लाख रुपैयाँ आर्थिक चलखेल भएको पाइएको छ । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण भएको चार कोठे भवन निर्माणमा विद्यालय व्यवस्थापन समिति र उपभोक्ता समितिले ६ लाख रुपैयाँ बढी हिसाब किताब गोलमाल गर्ने प्रयास गरेका हुन् । उक्त विद्यालयको भवन निर्माणको लागि महानगरले ४५ लाख २९२ रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

वजेट विनियोजनपश्चात् ११ पुस २०७९ मा सम्झौता भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र महतोको अध्यक्षमा निर्माण समिति गठन गरेर १४ पुसबाट काम सुरु भयो । २० असार २०८० मा निर्माण कार्य सम्पन्न गरिनुपर्ने भवन ४ चैतमा सम्पन्न भएको थियो । ५ चैतमा विराटनगर महानगरपालिकाको प्राविधिकसहितको नापी हुँदा उक्त विद्यालयको चार कोठे भवन निर्माणको कुल खर्च ४४ लाख ९३ हजार ४२ रुपैयाँ ५२ पैसा देखाएको छ । जुन इस्टिमेटभन्दा ७ हजार २ सय ४९ रुपैयाँ ४८ घटी हो । तर, निर्माण समितिले भने ५१ लाख रुपैयाँ खर्च भएको भन्दै विद्यालयमा बिल पेश गरेको पाइएको छ । जुन सम्झौता रकमभन्दा ५ लाख ९९ हजार ७ सय ८ रुपैयाँ बढी रकम हो । 

उपभोक्ता समितिको अध्यक्षमा रामचन्द्र महतोसहित सचिवमा विहारी महतो, कोषाध्यक्षमा बन्दनाकुमारी कुर्मी र सदस्यहरूमा घनश्याम मुखिया, चाँदमुनी महतो, कुन्ति यादव र विजयप्रसाद महतो छन् । समितिका अध्यक्ष रामचन्द्र महतो र प्रधानध्यापक अभिनन्दन यादवले सम्झौताभन्दा बढी बिल बनाएर आर्थिक चलखेल गर्न खोजेको आरोप लागेको छ । तर, प्रअ यादवले भने प्राविधिकको फाइनल बिल अनुसार ४४ लाख २९ हजार ८८२ भुक्तानी गरेको बताए ।

जसमा विराटनगरस्थित शिव हार्डवेयरलाई २९ लाख, गणेश सप्लायर्सलाई बालुवागिट्टीको ५ लाख ५५७, अनुपाल मण्डल, बैजनाथ चौधरी, सकलदेव महतो र सुरेश महतो नाममा विभिन्न मितिमा १० लाख २९ हजार ३२५ रुपैयाँ भुक्तानी गरेको छ । “मैले स्टिेमेट अनुसार प्राविधिकले फाइनल गरेको बिल अनुसार भुक्तानी गरेको छु” उनले भने, “कहीँकतै बढी बिल पेश गरेको छैन । उपभोक्ता समितिले काम गरेको छ । निर्माणमा मेरो भूमिका नै छैन ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका उपभोक्ता समितिका अध्यक्ष महतोले भने निर्माण सामग्री ५१ लाख रुपैयाँको खरिद गरेकोले अझै ६ लाख रुपैयाँ हार्डवयेर पसललाई दिन बाँकी रहेको बताए । उनले ६ लाख रुपैयाँ महानगरपालिकाले भुक्तानी दिनुपर्ने भन्दै अहिले निर्माण सम्पन्न भएको प्रतिवेदनमा हस्ताक्षर नगरी बसेका छन् । 

अध्यक्ष महतोले उधारोमा काम गर्न प्रअ यादवले भनेपछि सामान उपलब्ध गराएको बताए । “बजेट ४५ लाखको रहेको छ । अहिले आएर हिसाब गर्दा निर्माण सामग्रीमा ५१ लाख खर्च भएको छ” उनले भने, “खरिद गरेर ल्याएको सामानको पैसा त दिनुपर्यो नि ।” मौखिक सहमतिमा प्रअ यादवले सबै निर्माण सामग्री उपलब्ध गराएर निर्माण समितिमार्फत काम सम्पन्न गराएको उनको भनाइ छ । 

समयमै काम नसक्दा ६ लाखको भुक्तानी रोकियो 

माविको चार कोठे भवनको प्लास्टर र झ्याल ढोका बनाउनको आएको ६ लाख रुपैयाँ बजेट समयमै काम सम्पन्न नहुँदा भुक्तानी रोकिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को लागि राष्ट्रपति शैक्षिक सुधार अनुदान कार्यक्रमअन्तर्गत आएको बजेट तोकिएको सम्झौतामा निर्माण पूरा नहुँदा भुक्तानी रोकिएको हो । 

विराटनगर महानगरपालिकासँग २०८० जेठमा सम्झौता भएपछि २५ जेठदेखि निर्माण कार्य सुरु भयो । २३ असार २०८० मा निर्माण कार्य सम्पन्न भयो तर महानगरपालिकाको २० असारमा निर्माण सम्पन्न गरेर बिल पेस गर्न उपभोक्ता समितिलाई बनेको थियो । समयमै निर्माण सम्पन्न गरेर बिल नबुझाएको कारणले भुक्तानी नभएको विराटनगर महानगरपालिकाको शैक्षिक महाशाखाका प्रमुख कृष्ण भट्टराईले बताए । चालू आर्थिक वर्षमा प्राविधिकले निरीक्षण गरेपछि भुक्तानी हुने उनले बताए । प्राविधिकले पनि काम सम्पन्न भएको प्रतिवेदन दिइसकेकाले चालू आर्थिक वर्षमा प्रक्रिया पु¥याएर भुक्तानी दिने उनले बताए ।